स्मृतिमा नारन सर


नारन सर हामी बीच हुनुहुन्न । उंहाका अनेक स्मृतिहरु भने सदैव रहीरहने छन । २००६ सालमा मुलवाटा मुनी जन्मिएका नारन सर, विर्घा र त्यस क्षेत्रको शैक्षिक उन्नयनको जिउदो साक्षी हुनुहुन्थ्यो । जनता मावीको पहिलो एसएलसी प्रडक्ट नारन सर कालान्तरमा त्यही विद्यालयको प्राधानाध्यापक हुनुभयो । जागीरे जीवनको उत्तरार्धमा त्यस क्षेत्रको श्रोत व्यक्ति समेत वन्नुभयो ।
२०४६ साल अघिको प्रतिवन्धीत कालमा नेपाली कांग्रेसको नेतृत्व समेत लिनुभएका नारन सर खरो भाषण गर्नमा माहिर हुनुहुन्थ्यो । वाक कलामा अत्यन्तै निपुण नारनसरका विद्यार्थीहरु अहिले सार्वजनीक जीवनका उच्च ओहदा र जीवनका सफल खुट्कीलामा यात्रारत छन ।
२०७५ वैशाख १२ गते स्वर्गे हुनुभएका नारन सरको जीवनका ६९ औ उकाली ओरोलीहरु चर्चामै रहेर वितेका थिए । सानो विषयलाईपनि कलात्मक ढंगले प्रस्तुतगरी सवैलाई हसाउने नारनसरको हास्य चेतनाले हामी टोलवासीलाई अझ वढि रमाइलो गराउथ्यो । मेरा जनतामावी कालका शिक्षक नारन सरसंग क्लासमा भन्दा ट्युसन पढ्दाका रमाइला स्मृतिहरु मानस पटलमा आइरहेका छन ।
मलेई आवैको मन्दिरमा गुन्द्रीमा गुचुमुच्च परेर वसेका हामी एसएलसी दिने विद्यार्थीबीच पिंध सुकेको गिलासमा वाक्लो दुधको चिया सुरप सुरप पारेर नारन सरले पढाउनुहुन्थ्यो । धेरैको ध्यान पढाइमा भएपनि म जस्तो पढाइमा कम रुची भएको विद्यार्थीको ध्यान भने सरको चिया कति भयो भनेर जुल्क्याउनमै हुन्थ्यो । पुष माघको जाडोमा विहान ६ वजेदेखिको ट्युसन क्लास ।
अहिलेजस्तो न्याना लुगा प्रसस्त नभएको वेला अनि नारन सरको तातो चिया । हामी धेरै घुटुघुटु थुक निल्दै पढ्थ्यौ । अक्जुलरी भर्व कन्ठ पार्न लगाउने नारन सरले हामी विद्यार्थीले कन्ठ भन्न नसकेपछि कान्छा छोरा राजुलाई वोलाएर फरर्र्रर भन्न लगाउनु हुन्थ्यो ।
ट्युसन लगातार पढेपनि सकेसम्म ट्युसन फी नतिर्ने दाउमा हुन्थ्यौ हामी । नारन सरलाई फीस तिर्न छ भन्दै घरवाट आइसी नोट लिएर जाने हामी धेरै जसो आइसी अर्चलेमा रहेको चिफलडांडा भिमको पसलवाट पाइनापल विस्कुट किन्नमा खर्च गथ्र्यौ । पढाइमा अल्छी नगर है केटा हो भन्ने नारन सरले मलाई हात लगाएको भने याद छैन । नारन सरको गाली हामी रमाइलै मानेर सुन्थ्यौ । कहिल्यै सिररियस्ली लियनौ र त जहिले अंग्रेजी विषयमा फेल हुदै क्लास चढ्दै जान्थेउ ।
फागुन २२ गते अर्चलेमा हुने जुनीयर रेडक्रस सर्कलको लोकगीत प्रतियोगीतामा जहिले उद्घोषकको भुमिका निर्वाह गर्ने नारन सर अन्य सभा समारोहमा पनि जहिले वक्ताको रुपमा देखिनुहुन्थ्यो । विद्यालय संचालनका क्रममा अनेक वाद विवाद भएपनि सामाजीक जीवनमा कहिल्यै त्यसको छनक नदिने नारन सरका कारण मैलेपनि प्रवेशीका परिक्षामा सहभागी हुने मौका पाएको थिए । मेरो सर्टिफिकेटमा भएको जन्म मिति नारन सरले नै राखीदिनु भएको थियो ।
कक्षा १० मा भर्नुपर्ने रजिष्टेसन फर्म भर्न घर्ती रमेश, पंहादी गोपाल र म छुट्यौ । अरु सवैको फर्म भरीयो । हामी मात्र वांकी भयौ । रमेशले ह्या पढेर को ठुलो भाछर नभरम यार भन्न लाग्यो । म पनि अलमल परे । यस्तैमा पंहादी डिल्ली सरले म गोपालको छुटेको फर्म भर्न स्यागंजा जादैछु तिम्रो पनि भर्ने भए २ प्रति फोटो र ७२ रुपैया लिएर छ्ट्टिो आउ भनेर घर पठाउनु भयो ।
भाग्यले आमालाई घरमै भेटे र ७२ रुपैया समेत ल्याएर डिल्लीसरलाई वुझाए । सरले स्यागंजामा पुगेर नारनसरलाई मेरो फोटो र पैसा दिनुभएछ । नारन सरले फर्म भर्न छुटाउन भएन अनुमानकै भरमा सही फर्म भर्दिनु भएछ । यसरी फोन समेत सम्पर्कको माध्यम नभएको त्यो जमानामा सोध्ने कुरा भएन अनुमानकै भरमा मेरो जन्म मिति हालीदिनु भएछ नारन सरले । यसरी छुटेको फर्म भर्ने मौका पाएकाले मैले प्रवेशीका उतिर्ण गरे र कालान्तरमा निजामती सेवामा वसेर काम गर्ने मौका पाए । त्यतिवेला फर्म भर्न छुटेको भए यतिवेला म मेरा धेरै मित्रहरुसंगै वैदेशिक रोजगारीमा हुन्थे होला जस्तो लाग्छ ।
म र मजस्तै अरुका विभिन्न स्मृति जोडिएका नारन सर चेतनाको, परिवर्तनको र शैक्षीक उन्नयनको विर्घाको हस्ती हुनुहुन्थ्यो । धेरै वर्ष अगाडीको पुत्र वियोग, केही वर्ष अगाडीको पत्नी वियोगपछि एकान्तिक वन्दै जानुभएका नारन सर काठमाण्डौमा छोराहरुले कर गर्दापनि विर्घामै वस्न रुचाउनुहुन्थ्यो । २ हप्ता अगाडीमात्रै सहोदर दाई गुमाएका नारन सर यति छिट्टै स्वर्गे हुनुभयो । नारन सरको परिवारमा दयाराम र राजेन्द्र गरी २ सुपुत्र छन । विर्घाको शैक्षीक उन्नयनका उज्याला नक्षत्र नारनसरको असामयीक स्वर्गारोहणवाट विर्घा र त्यस क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । परिवारमा समवेदना र नारन सरको आत्मालाई चीर शान्ति प्राप्त होस कामना सहित । अलविदा नारन सर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *