कामी गांउ देखि झरेको वर्खे भल मैले एक मुठी घुटुक्क निले । छाती पिरो भयो । जति मुड्की वजारेपनि शरिर पानीमै डुब्यो । जसो तसो पोखराको कुनामा रहेको खनियाको जरो फेला पर्यो र म वाहिर आए । एकातिर “बा” को डर अर्को तिर मनिसर्नी चिच्याउने डर । वर्खे भलको पौडीले शरिरभरी लुतो । सिकारु पौडिवाज पानी नखाएको दिन हुदैनथ्यो । पेट त्यसै त्यसै फुलेर आउने । डिठ्ठा अर्थात हाम्रै पोखरी भएपनि मैले पानीमा उत्रिन सिकेको कथा कम्ता संघर्षपूर्ण थिएन ।
खर्सिगंगैरावाट पितु, रानाको साने र दुर्गा, मगर बेके, शुरेश र म हामी डिठ्ठाको पोखराका सर्वकालिक सदस्य थियौ । राकस्दी खोलाको वांधवाट वर्खाका केही दिनमात्र आउने तुरतुरे धारो वाहेक कामी गांउ देखि नांगेडाडो हुदै झरेको भल नै पोखराको पानीको प्रमुख श्रोत थियो । त्यसै त भल त्यसमाथि हामी सिकारुले होडलेको पोखराकोे पानी सर्वागं रातो थियो । घामलाग्दा पोखराका डिलमा नागै पल्टिनु र यसो शरीर तातेपछि छप्लागं पोखरामा हाम फाल्नु । कहिलेकाही “बा” लौरो लिएर आउनु भयो भने लुगा नलगाई दौडिनु यस्तै दिन चर्यामा जान्थे हाम्रा साउन र भदौ महिना ।
दाईहरुलाई अलि अलि उत्रिन आइसकेको थियो । जति गर्दापनि उत्रिन नसकेपछि कहिले टाउको समेत डुवाएर छप्के हान्ने । कहिले भयागुतेको प्रयास गर्ने गर्दा पनि म उत्रिन सकिन । केटाहरु कुलाका वांध र ढोब्लामा जान लागिसके आफूलाई उत्रिन सम्म आउदैन । तिव्र तनावमा दिन वितिराखेका थिए । घरमै दोकान भएकाले मोहनसरका शेषकान्तको सधै फुर्ती हुनथ्यो । आफ्नै पोखरो भएकाले मेरो फुर्ती पनि साउन र भदौमा चलिरहन्थ्यो ।
कट्टी स्कुलका हामी चिचिला केटाकेटी कहिलेकांही सरहरुका आंखा छल्न पायौ भने हाफ टाइमा नभनी पौडिन मौला आइपुग्थ्यौ । राकस्दी तिरवात उक्लीएपछि “बा” ले पनि चाल नपाउने छिटोपनि हुने भएकाले त्यो वाटो हाम्रा लागि प्रिय थियो । हतार हतार सबै कपडा फुकालेर पौडिने र हातमा सबै कपडा वोकेर राकस्दी जाने । एक चरण धारामा नुहाएर पोखराको रातो भलपानी पखालेर चिसै लुगा लगाउने गर्थ्यौ हामी ।
कट्टी स्कुलवाट शेषकान्त, म लगायत एउटा टोली एक अपरान्ह सरहरुका आंखा छलेर पौडिन आयौ हामी पोखरामा । शेषकान्तलाई पौडिने बहानामा दोस्ती जमाउन पाए पसलका मिठाई खान पाइने भएकाले मेरै जोडवलमा उनी पनि आए पौडिन । म वरु दुई चार पल्ट पोखरामा हाम फालेको एक दुई घुट्की पानी खाएपनि किनारसम्म आउन जानेको थिए । शेषकान्त पहिलोपल्ट पोखरीमा फाल हालेकाले पानी मात्र खाएनन झन्डै झन्डै पोखरीमै डुवेनन । हामी सबै लागेकाले वल्ल वल्ल शेषकान्तलाई वाहिर निकाल्यौ । त्यसपछि शेषकान्त कहिल्यै पोखरीमा देखिएनन ।
हाम्रो पौडिने लत यति लागिसकेको थियो की कहिले कांही पोखराको पानी खोल्ने दिनमा हामी कुलाका वांधसम्म पौडिन पुग्थ्यौ । कहिले कांही त्यतिले नपुगेर हामी काली गन्डकीसम्म पुग्थ्यौ पौडिन । विस्तारै उमेर वढ्दै गएपछि हाम्रा पौडिने तरिका र कक्षा समेत वढ्दै गए । साथीहरु छुट्दै गएपनि जसो तसो म कक्षा ६ अध्ययनका लागि जनता मावी अर्चले पुगे । अर्चले पुगेपछि उमेरमा र कक्षामा माथिल्ला भएपनि घ्यागंसिंग खरक मदन, चिफल्डाडा भुपदाई, मरेग्दा शिव भान्जाको पौडिने टिममा मपनि सामेल भए । उमेर र क्षमताले भन्दापनि पढाइमा अल्छी र पौडिमा फुर्तीलो भएकोले म यो टिममा सामेल भएको थिए ।
अव हाम्रो टिमको दिनचर्या फेरियो । कहिले अखिल र नेविसंघका नाममा हुने कार्यक्रम र लडाई भिडाईमा भन्दा हाम्रा रुची पौडिमा थिए । “सिता सदन” र “जनक सदन”मा भन्दा हामी अरुवा जाने र कालिगण्डकी वारपार गर्ने ध्याउन्नमा लागि सकेका थियौ । जसो तसो चार पिरियड क्लासमा वसेपनि एक वजेपछि हामी जाडोयाममा वाहेक क्लासमा वसेनौ । जाडोमा दामोदर कुन्डवाट आउने काली नदीको पानी हिंउ वरावार चिसो हुने भएकाले पौडिन नसकेपनि फागुन देखि असोजसम्म हाम्रो दिनभरीको बास काली किनारमा हुन लाग्यो ।
स्कुलका पढाइले गति लिदै थियो । यता मेरो छप्के सफा हुदै गयो । कहिले उत्तानो परेर त कहिले डुवुल्की मारेर सजिलै पारी पुग्न लागियो । शुरु शुरुमा पुलमुनी ढुंगामा विसाएर पारी जाने म विस्तारै एकै झ्वाकमा पारी पुग्न लागे । यो त्यति वेलाको कुरा थियो जतिवेला कालीगन्डकी “ए” जलविद्युत परियोजना शूरु भएर कालीको पानी घटीसकेको थिएन ।
संगैका झविन्द्र, कृष्ण, भगवती, खिमानन्द र शिवहरुको पढाइ रफ्तारमा चलिरहदा मेरो छप्केले रफ्तार पक्डीसकेको थियो । मुखमा विजुली खैनी चेप्ता एक दुई पल्ट वमिट भएपछि मैले वमिट नहुने गरी यदा कदा धुवा उडाउन भ्याइसकेको थिए । दिनभरी पानीमा डुव्यो, एकछिन वालुवामा सेकियो अनि धुवा पुत्तायो । मेरा प्रगति पुस्तकमा भन्दा पौडीमा ज्यादा देखिन शुरु गरीसकेका थिए ।
कहिले कांही र्याफ्टीगंमा आउने टुरिस्टहरु भेटिन्थे काली किनारामा । त्यस्तो वेला वोट र कुहिरे देख्दा खुव रमाइलो लाग्थ्यो । विस्तारै स्कुल छोड्ने दिन आउन लाग्यो । समयसंगै दुख सुख कक्षा चढाइ चलीरहेका थिए । पढाइमा त्यस्तो दिलचस्पी केही थिएन ।
घरीपोखरा फर्सु राम, कात्तिके वाइपी दाई र चिफल्डाडा भुप दाईहरु पाल्पा चिलाउनी भन्ज्यागं छाती नपाउन गए । गल्लासंग नापिएर भर्तीहुन गएकाहरुले वजन नपुगेर केरा खाएको कुरा सुन्दा रमाइलो नलागेको होइन, तर भर्तीहुन खास ज्यान पनि नपरेकोले होला त्यति रहर लागेन ।
उमेर, वढ्दै गयो, जसो तसो कक्षा वढ्दै गयो र अव विद्यालयको पढाइ सकिने समय आयो । त्यति जांगरिलो पढाइ नभएपनि जसो तसो विद्यालयको पढाइले विदा दियो । रहरको भन्दा कहरको पढाइ । चिनेजानेका र दाई दिदी सरकारी सेवामा भएकाले मलाई पनि सरकारी जागिरमा जानै पर्ने वाध्यता थियो ।
एकातिर विद्यालयको काम चलाउ पढाइ, अर्कोतिर लोकसेवाको कठिन प्रतिष्पर्धा । धमिलो पानीमा जसो तसो उत्रिन सिकेको मलाई लोक सेवा परीक्षाको सग्लो पानीमा उत्रिन त्यति सजिलो थिएन । मुस्कीलले पौडीको परीक्षामा उत्रिन सिकेको मेरालागि लोकसेवाको परीक्षामा उत्रिनु त्यो भन्दा कैयौ गुना कठिन थियो । वुद्धनगरको चिसो कोठामा वसेर संविधानका किताव रट्टा लगाउदा केही नघुसेर आफैसंग पटक पटक विरक्त नलागेको होइन । कहिले कमल सरको ढाडस, कहिले दाईको प्रेरणा कहिले भिनाजुको गाली त कहिले साथी भाईको हौसलाले भने आशा जगाउथ्यो । काठमाण्डौमा छिरेपछिको उच्च शिक्षासंगै समानान्तर रुपमा अगाडी वढेको लोक सेवा तयारीको परीक्षामा भने मेरो झन्डै पहिलो प्रयास नै कामयावी भयो ।
सिंहदरवारको रापिलो कोठामा वसेर विगतलाई नियालीरहदा जीवनका उकाली ओरालीहरु अचम्मका लाग्छन । मलाई जागिरे जीवन पौडी जीवनभन्दा सरल वन्यो । सबैका लागि त्यसो नहुन सक्छ । हिम्मत राख्नेका लागि भने यो एक दिन अवस्य हासिल हुन्छ ।
गांउमा हजुरबा डिठ्ठा भएकाले हामीलाई डिठ्ठाका भनेरै चिन्छन । अहिले “बा” हुनुहुन्न । पुर्खाको विरासतकारुपमा पाएको डिठ्ठाको पोखरो पनि छैन । यद्यपि मेरो मनमा रहेका स्मृतिहरुभने ज्यूका त्यू छन । अगाध स्मृतिमा रहनु भएका मेरा “बा”, स्मृतिवाट हराउन लागेको पोखरो, उत्तिकै संझनामा रहेको जनतामावी, कालगिण्डकी र बालावयका साथीहरुमा समर्पित ।