पशुपतिनाथ मन्दिरको मूलद्धारभन्दा करिब ५० कदम अघि नै एउटा कोठामा अक्सर कुकुरहरुसँग समय बताउने कालो पहिरनमा देखिने चुनचुनबाबा कैयौँको लागि एउटा सामान्य जोगी थिए । उसै पनि अघोरी त्यति कर्णप्रिय विशेषण होइन, सामान्य व्यक्तिहरुको लागि । तर, अध्यात्मजगत्मा उनी एकजना अद्भुत व्यक्ति थिए –सिद्ध । घृणाभन्दा माथि उठेका ती साधु स्वयम्मा ‘रमता राम’ थिए । त्यही सामान्य कोठामा उनको महान् उपस्थितिले राजादेखि लिएर प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिलाई आकर्षित गथ्र्यो । कसैलाई कर्ताभावको बोझमा नपारी उनले आफ्ना अनेकौँ भक्तको उद्धार गरेको मान्नेहरुको संख्या ठूलो छ, नेपालमा ।
श्रीलङ्कन मुलका चुनचुनबाबाले २०६१ मङ्सिर १८ गते पशुपति आर्यघाटमा समाधि लिए । अघोर तथा सन्यासी लिकबाट हटेर उनको अन्तिम इच्छाअनुसार उनको शव जलाइयो । गुरुभाइ अघोरी पगलानन्दले मुखाग्नि दिए मध्यरातमा । अस्तु वाग्मतीपारि मृगस्थलीमा विसर्जन गरी त्यही नै चुनचुनबाबाको समाधि खडा गर्ने निर्णयपछि अघोर परम्पराअनुसार पार्थिव शरीर समाधिस्थ गर्ने या उनको अन्तिम इच्छाअनुसार जलाउने भनी शिष्यहरुबीच चलेको सानो विवाद ‘सम्झौता’ र सहमतिमा टुङ्गिएको थियो ।
अघोर परम्पराअनुसार घर त्यागे पनि उनले समाज त्यागेका थिएनन् । समाज कल्याणका लागि आफनै हिसाब र पाराले सक्रिय थिए उनी । तत्कालिन राजा विरेन्द्र तथा ज्ञानेन्द्रले बरावर राजदरबारमा आमन्त्रण गरे पनि उक्त आग्रह कहिल्यै स्वीकारेनन् उनले । यद्यपि, अपवादस्वरुप आफनो अन्तिम अवस्थातिर स्व.भूपालमानसिंह कार्कीको घरमा उनी गएका थिए । जानकारहरुका अनुसार राजा विरेन्द्रले जनावरहरुलाई खुवाउने सामग्री किन्न चुचुनबाबालाई केही नगद चढाउँदा ‘महाराज १ यो तिम्रो उपचारका लागि उपयोगी हुनेछ’ भनी फर्काएका थिए । त्यस लगत्तै मुटुको उपचारका लागि राजा विरेन्द्र लन्डन गएका थिए ।
आत्मप्रचारका एकदम विरोधी चुनचुनबाबाले करिव ५० बर्षको अध्यात्मिक साधना र सिद्धिपछि कसैलाई दीक्षा दिएनन् । तर, आफूलाई उनका ‘शिष्य’ बताउन चाहने भक्तहरुको सङ्ख्या ठूलो छ । चमत्कार र सिद्धि प्रदर्शनलाई सधै त्याग ठान्ने चुचुनबाबाले सङ्कटमा भक्तहरुको उद्धार र सम्भावित दुर्घटनाहरुलाई उनका भक्तहरु आपसमा ‘गुरुकृपा’ का रुपमा अनुभव आदानप्रदान गर्ने गर्दछन् । प्रखुम शाही पाश्र्ववती उपरथी टीका धमला चुनचुनबाबाकहाँ नियमित रुपमा जाने गर्थे । सम्भवतः केही आध्यात्मिक तथा अन्य सुझाव आवश्यक परेको अवस्थामा उनीमार्फत दरबारसमक्ष पुग्ने गर्थे ।
राजा ज्ञानेन्द्र राज्यारोहणपछि एकपल्ट चुनचुनबाबाको आश्रममा गएको जानकारी राख्ने एक भक्तका अनुसार मुलुकको अवस्थाबारे जिज्ञासा राखिँदा ‘गोरखनाथको यो राष्ट्रको अस्तित्व तपाईभन्दा पहिले र पछि पनि सनातन रहनेछ’ भन्ने जवाफ दिएका थिए उनले । उनी कमै भविष्यवाणीहरु गर्थे । तर, उनको सामीप्यमा अलौकिक अनुभव गर्नेहरुको सङ्ख्या धेरै छ ।
‘क्यान्सर’ बाट ग्रस्त चुनचुनबाबाले चितवन भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा उपचारार्थ केही दिन भर्ना भई ‘केमोथेरापी’ लिने गरेका थिए । पछि काठ्माडौँको ओम अस्पतालमा भर्ना भई ड्रिपमा रहँदा डाक्टरहरुसँग आफूलाई बन्धनमुक्त गर्न आग्रह गरेका थिए उनले । ‘मेरो आत्मा निरोगी छ । मेरो शरीरमात्र रोगी हो’ भन्दै डाक्टरहरुसँग अन्तिम घडी आएकाले पशुपति आर्यघाट जाने आफनो इच्छा प्रकट गरेका थिए उनले ।
लामो समयदेखि उनको सेवामा संलग्न शत्रुघ्नको निरन्तर रेखदेखमा बाबालार्य ३ दिनसम्म ब्रह्मनाल नजिकको कोठामा राखियो । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन सकी लुम्बिनीवाट फर्केपछि सोझै बाबाको दर्शनार्थ आर्यघाट गए । ‘दुई हात उठाएर बाबाले उनलाई आशिर्बाद दिनुभयो,’ र, ती तीन दिनमा भक्त र श्रद्धालुहरुको ‘दर्शन’ क्रम जारी रह्यो । जीर्ण शरीर र अन्तिम अवस्थामा पनि बाबाले दर्शनार्थ आउनेहरुलाई केही दिने क्रम बन्द गरेनन् । उनी इशारा गर्थे, शत्रुघ्न या उनका सेवामा कार्यरतहरु ‘प्रसाद’ दिएर विदा गर्थे, ती श्रद्धालुहरुलाई । अन्त्यमा २०६१ मंसिर १८ गते शुक्रबार अपरान्ह सवा ५ बजे बाबाले लौकिक देह त्याग गरे, आफनो मातृभूमि श्रीलङ्काबाट टाढाको यो पुण्यभूमिमा । अन्तिम क्रियाबारे छोटो विवादपछि शुक्रबार नै उनको दाह संस्कार सम्पन्न भयो ।
भारतबाट सरकारी सेवामा खटिएर आएका डाक्टर रामनाथ पछि अध्यात्मतर्फ पूर्णरुपमा लागे अघोर मत अँगालेर । राजा महेन्द्रसँग पनि उनको सामीप्य रहेको बताइन्छ । गुरु गोखनाथको विशेष स्थान रहेको नेपालमा अघोरपन्थीहरु रमाउँछन् । पशुपतिनाथको दक्षिण मुहारलाई शिवको अघोररुप मानिन्छ । र, पशुपति त्यही भूमिमा रामनाथ अघोरीद्धारा डा. त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द स्वामीले दिक्षा लिएका थिए ।
पशुपति मूल ढोकाबाहिरपट्टि विहान वेलुका सधै कुकुर, गाई र साँढे एउटै थलोमा आत्मीयतापुर्ण वातावरणमा सहभोजको व्यवस्था गर्थे चुनचुनबाबाले । उनी कसैकहाँ जाँदैनथे, हात फैलाउन । तर, उनीप्रतिको भक्ति र श्रद्धाका कारण त्यहाँ अनाजको कमी भएन, बर्षौदेखि । ती जनावहरु पालिइरहे । चुनचुनबाबाको समाधिपछि उनका भक्तहरुले एउटा सिद्ध आध्यामिक करुणावतार गुमाएका छन् भने आफना भावना व्यक्त गर्न नसक्ने ती मुक जनावरहरुले उएटा महान संरक्षक र अभिभावक । ‘अहिले त जसोतसो चलेको छ, हेरौँ अव के हुन्छ,’ चुनचुबाबाले भक्तहरु मान्ने गरेका ती जनावहरुको के हाल छ भनी प्रश्न गर्दा शत्रुघ्नको जवाफ थियो ।
हाल पशुपतिनाथको मुल मन्दिर जाने वाटोमा नन्दी आश्रम संगै जोडिएर रहेको छ चुनचुन आश्रम । जंहा चुनचुन बाबाका भक्तहरु नित्य उपस्थित भइ बाबाको प्रतिस्थापित मूर्तिको दर्शन गर्दछन । यही ठांउमा चुनचुनका प्रिय भैरवहरु पालिएका छन । जसको सेवामा शत्रुघ्न उंहाकी धर्मपत्नी गंगा र परिवारका सदस्यहरु संयुक्त राज्य अमेरिकावाट फर्किएर सेवामा जुटेका छन । स्थायी रुपमा कृष्ण मामा रहनु भएको छ । अहिलेपनि भोकाले भोजन पाउने आश्रयस्थल वनेको छ चुनचुन आश्रम । (नेपाल साप्ताहिकमा छापिएको यो आलेखको सम्पादित अंश )