(विर्सिएका पात्र स्वर्गीय नरदेउ पाण्डे )
पल्टनवाट फर्किदाका हट्टा कट्टा नरदेउ । हातमा टेप र पाकिटमा सिग्रेट वोकेका नरदेउ, सुकिला वुट र कटकटीदा कम्पनी नोट वोेकेका नरदेउ । मौलामा गांउका भद्र भलादमीको खुट्टो राख्ने ठांए थिएन । सधैको हेपाई सहने जेठीलाई पनि मानिसहरु अदवको साइनो जोड्दै साख्खै पार्न कस्सीएका थिए । माइला र कान्छा भाइ नौकट्टी लागेपछि सोलो डोलो बारी खरवारी जोडेका नरदेउलाई ऋणले थलिएकाले पैसा पारेर जग्गा वेच्ने दाउ सम्म गर्थे । त्यसैले त गांउमा घरमात्रै सिरानमा होइन चर्चा र चाखमा समेत नरदेउ सिरानमा थिए ।
एक्ली छोरी कमलीको पनि कम महत्व थिएन । वैशाखको अक्षय तृतीयामा भयरमा हुने नारन पुजा र किर्तनमा चन्दा वोल्नेमा नरदेउ अग्र पंङतीमा थिए । वरीपरी घेरीएर वस्ने र आशा सहितको नजर फ्याक्ने इष्टमित्रलाई नरदेउ सिग्रेट फ्याकेर शान्त पार्थे । खाकीका लुगा पल्टनीया अदव कम्ता आकर्षक थिएन नरदेउको शान शौकत ।
पल्टनका परेडमा पेट दुख्न थालेपछि नरदेउले अनेक उपचार गराए । पल्टनको दवाईले नभेटेपछि अमारिदै घरै आइपुगे उनी । नेपालका दवाई डाक्टर अधिकांशका दैलोमा पुगे नरदेव । धामी देखि झाक्रीसम्म वैद्य देखि बोक्सीसम्म सवै देखाउने र फुकाउने कर्म सकियो नरदेउको । कसै गर्दापनि रोग २० को १९ भएन । जागीर भन्दा ज्यान प्यारो भएपछि नरदेउ एकाएक पल्टनवाट नाम कटाएर फर्किए । जब पल्टनवाट फर्किए नरदेउका दुर्दीन शुरु भए । अव नाम काटेको पैसा कति दिन पो टिकोस । जति खल्ती हलुगाें हुदै जान्थ्यो त्यति रोग गरुङगाें हुदै जान थाल्यो । पैराको छेउको घर । हरेक वर्खामा जमिन को आकार घट्दै गयो ।
अवस्था खस्कीएपछि इष्टमित्रको नजरपनि खस्कीदै गयो । छोरी कमला विहे भएर गइन । घरमा वुढा वुढीको दुखान्त जारी रह्यो । गांउमा वत्ती आयो झिलिमिली भयो । तर नरदेउलाई टुकिले छोडेन । वत्तीको पोल गाड्नेलेपनि नरदेउका घरसम्म पोल पुर्याउने लेठो गरेन । उनले पनि पोल आएन भनेर कहिल्यै गुनासो गरेनन ।
हुदा हुदा खोरमा थुनेको पाठोे चोरी भयोे । चोर भेटीएन । हुनत खोरको पाठो होइन नरदेउको सपना चोरिएको थियो । व्यथा मात्र होइन मौलाको पहिरो पनि वढ्दै आयो । उपचारमा लिएका ऋण पनि दिन गुना रात दुगुनका दरले वढ्दै गए । पीडाका बीच पीडा थपिए । पीडामा मल्हम लगाउन निर्धाको को नै पो हुन्छ र?
जीवनको अन्तिम घडीमा २०७३ मा पिसाब च्यापीएपछि नरदेउ गांउको पिडीमा छटपटाइ रहेको खवर काठमाण्डौसम्म आइपुग्यो । पिसाब थुनिएर मानिस मर्नु हुदैन भन्ने लागेर केही उत्साही युवाहरु तथा समाजसेवी मिलेर नरदेउकालागि पाल्पा मिसन हस्पिटलमा उपचार गर्न पुर्याइयो । त्यती बेला सहयोग गर्नेहरुमा मौला माधव र पुच्छार लक्ष्मण, फेदी डा. अशोक र विजय, मुलवाट मुनी खड्ग राना दाई र मौले कोशल हुनुहुन्थ्यो ।
पाल्पा मिसन हस्पीटलमा भएको उपचारका वावजुद मौले नरदेउको २०७३ जेठ २ गते दुखद निधन भएको थियो । एक आम मानिस नरदेउलाई संझीन परिवारमा श्रीमती वाहेक कोही छैन । रोग र अभावको जीवन विताएका उनका कुनै कीर्ती पनि हुने कुरा भएन । उनकी श्रीमती अहिले छोरीको घरमा स्यागंजा गेजामा छन । मानीस वस्न छोडेपछि जीर्ण भएको घर भत्किने चरणमा छ । र एउटा कुनै समयको जल्दो वल्दो इतिहास विलुप्त हुने तरखरमा छ ।
बलेको आगो ताप्ने समयमा निभेको आगो खोस्रीने फुर्सद त कस्लाई हुन्छ र । सफलता र संभावना वोकेका मानिसहरु पछ्याउने समाजले संभावना नै अन्त्य भएको विगतलाई कस्ले कोट्याओस । त्यस्तै संभावना अन्त्य भएका सिमान्त पात्र थिए नरदेउ पान्डे । तिनै सिमान्त पात्र नदरेउलाई चौथो वार्षीकीमा श्रद्धा सुमन ।