अनि “म” उत्रिए

कामी गांउ देखि झरेको वर्खे भल मैले एक मुठी घुटुक्क निले । छाती पिरो भयो । जति मुड्की वजारेपनि शरिर पानीमै डुब्यो । जसो तसो पोखराको कुनामा रहेको खनियाको जरो फेला पर्यो र म वाहिर आए । एकातिर “बा” को डर अर्को तिर मनिसर्नी चिच्याउने डर । वर्खे भलको पौडीले शरिरभरी लुतो । सिकारु पौडिवाज पानी नखाएको दिन हुदैनथ्यो । पेट त्यसै त्यसै फुलेर आउने । डिठ्ठा अर्थात हाम्रै पोखरी भएपनि मैले पानीमा उत्रिन सिकेको कथा कम्ता संघर्षपूर्ण थिएन ।
खर्सिगंगैरावाट पितु, रानाको साने र दुर्गा, मगर बेके, शुरेश र म हामी डिठ्ठाको पोखराका सर्वकालिक सदस्य थियौ । राकस्दी खोलाको वांधवाट वर्खाका केही दिनमात्र आउने तुरतुरे धारो वाहेक कामी गांउ देखि नांगेडाडो हुदै झरेको भल नै पोखराको पानीको प्रमुख श्रोत थियो । त्यसै त भल त्यसमाथि हामी सिकारुले होडलेको पोखराकोे पानी सर्वागं रातो थियो । घामलाग्दा पोखराका डिलमा नागै पल्टिनु र यसो शरीर तातेपछि छप्लागं पोखरामा हाम फाल्नु । कहिलेकाही “बा” लौरो लिएर आउनु भयो भने लुगा नलगाई दौडिनु यस्तै दिन चर्यामा जान्थे हाम्रा साउन र भदौ महिना ।
दाईहरुलाई अलि अलि उत्रिन आइसकेको थियो । जति गर्दापनि उत्रिन नसकेपछि कहिले टाउको समेत डुवाएर छप्के हान्ने । कहिले भयागुतेको प्रयास गर्ने गर्दा पनि म उत्रिन सकिन । केटाहरु कुलाका वांध र ढोब्लामा जान लागिसके आफूलाई उत्रिन सम्म आउदैन । तिव्र तनावमा दिन वितिराखेका थिए । घरमै दोकान भएकाले मोहनसरका शेषकान्तको सधै फुर्ती हुनथ्यो । आफ्नै पोखरो भएकाले मेरो फुर्ती पनि साउन र भदौमा चलिरहन्थ्यो ।
कट्टी स्कुलका हामी चिचिला केटाकेटी कहिलेकांही सरहरुका आंखा छल्न पायौ भने हाफ टाइमा नभनी पौडिन मौला आइपुग्थ्यौ । राकस्दी तिरवात उक्लीएपछि “बा” ले पनि चाल नपाउने छिटोपनि हुने भएकाले त्यो वाटो हाम्रा लागि प्रिय थियो । हतार हतार सबै कपडा फुकालेर पौडिने र हातमा सबै कपडा वोकेर राकस्दी जाने । एक चरण धारामा नुहाएर पोखराको रातो भलपानी पखालेर चिसै लुगा लगाउने गर्थ्यौ हामी ।
कट्टी स्कुलवाट शेषकान्त, म लगायत एउटा टोली एक अपरान्ह सरहरुका आंखा छलेर पौडिन आयौ हामी पोखरामा । शेषकान्तलाई पौडिने बहानामा दोस्ती जमाउन पाए पसलका मिठाई खान पाइने भएकाले मेरै जोडवलमा उनी पनि आए पौडिन । म वरु दुई चार पल्ट पोखरामा हाम फालेको एक दुई घुट्की पानी खाएपनि किनारसम्म आउन जानेको थिए । शेषकान्त पहिलोपल्ट पोखरीमा फाल हालेकाले पानी मात्र खाएनन झन्डै झन्डै पोखरीमै डुवेनन । हामी सबै लागेकाले वल्ल वल्ल शेषकान्तलाई वाहिर निकाल्यौ । त्यसपछि शेषकान्त कहिल्यै पोखरीमा देखिएनन ।
हाम्रो पौडिने लत यति लागिसकेको थियो की कहिले कांही पोखराको पानी खोल्ने दिनमा हामी कुलाका वांधसम्म पौडिन पुग्थ्यौ । कहिले कांही त्यतिले नपुगेर हामी काली गन्डकीसम्म पुग्थ्यौ पौडिन । विस्तारै उमेर वढ्दै गएपछि हाम्रा पौडिने तरिका र कक्षा समेत वढ्दै गए । साथीहरु छुट्दै गएपनि जसो तसो म कक्षा ६ अध्ययनका लागि जनता मावी अर्चले पुगे । अर्चले पुगेपछि उमेरमा र कक्षामा माथिल्ला भएपनि घ्यागंसिंग खरक मदन, चिफल्डाडा भुपदाई, मरेग्दा शिव भान्जाको पौडिने टिममा मपनि सामेल भए । उमेर र क्षमताले भन्दापनि पढाइमा अल्छी र पौडिमा फुर्तीलो भएकोले म यो टिममा सामेल भएको थिए ।
अव हाम्रो टिमको दिनचर्या फेरियो । कहिले अखिल र नेविसंघका नाममा हुने कार्यक्रम र लडाई भिडाईमा भन्दा हाम्रा रुची पौडिमा थिए । “सिता सदन” र “जनक सदन”मा भन्दा हामी अरुवा जाने र कालिगण्डकी वारपार गर्ने ध्याउन्नमा लागि सकेका थियौ । जसो तसो चार पिरियड क्लासमा वसेपनि एक वजेपछि हामी जाडोयाममा वाहेक क्लासमा वसेनौ । जाडोमा दामोदर कुन्डवाट आउने काली नदीको पानी हिंउ वरावार चिसो हुने भएकाले पौडिन नसकेपनि फागुन देखि असोजसम्म हाम्रो दिनभरीको बास काली किनारमा हुन लाग्यो ।
स्कुलका पढाइले गति लिदै थियो । यता मेरो छप्के सफा हुदै गयो । कहिले उत्तानो परेर त कहिले डुवुल्की मारेर सजिलै पारी पुग्न लागियो । शुरु शुरुमा पुलमुनी ढुंगामा विसाएर पारी जाने म विस्तारै एकै झ्वाकमा पारी पुग्न लागे । यो त्यति वेलाको कुरा थियो जतिवेला कालीगन्डकी “ए” जलविद्युत परियोजना शूरु भएर कालीको पानी घटीसकेको थिएन ।
संगैका झविन्द्र, कृष्ण, भगवती, खिमानन्द र शिवहरुको पढाइ रफ्तारमा चलिरहदा मेरो छप्केले रफ्तार पक्डीसकेको थियो । मुखमा विजुली खैनी चेप्ता एक दुई पल्ट वमिट भएपछि मैले वमिट नहुने गरी यदा कदा धुवा उडाउन भ्याइसकेको थिए । दिनभरी पानीमा डुव्यो, एकछिन वालुवामा सेकियो अनि धुवा पुत्तायो । मेरा प्रगति पुस्तकमा भन्दा पौडीमा ज्यादा देखिन शुरु गरीसकेका थिए ।
कहिले कांही र्याफ्टीगंमा आउने टुरिस्टहरु भेटिन्थे काली किनारामा । त्यस्तो वेला वोट र कुहिरे देख्दा खुव रमाइलो लाग्थ्यो । विस्तारै स्कुल छोड्ने दिन आउन लाग्यो । समयसंगै दुख सुख कक्षा चढाइ चलीरहेका थिए । पढाइमा त्यस्तो दिलचस्पी केही थिएन ।
घरीपोखरा फर्सु राम, कात्तिके वाइपी दाई र चिफल्डाडा भुप दाईहरु पाल्पा चिलाउनी भन्ज्यागं छाती नपाउन गए । गल्लासंग नापिएर भर्तीहुन गएकाहरुले वजन नपुगेर केरा खाएको कुरा सुन्दा रमाइलो नलागेको होइन, तर भर्तीहुन खास ज्यान पनि नपरेकोले होला त्यति रहर लागेन ।
उमेर, वढ्दै गयो, जसो तसो कक्षा वढ्दै गयो र अव विद्यालयको पढाइ सकिने समय आयो । त्यति जांगरिलो पढाइ नभएपनि जसो तसो विद्यालयको पढाइले विदा दियो । रहरको भन्दा कहरको पढाइ । चिनेजानेका र दाई दिदी सरकारी सेवामा भएकाले मलाई पनि सरकारी जागिरमा जानै पर्ने वाध्यता थियो ।
एकातिर विद्यालयको काम चलाउ पढाइ, अर्कोतिर लोकसेवाको कठिन प्रतिष्पर्धा । धमिलो पानीमा जसो तसो उत्रिन सिकेको मलाई लोक सेवा परीक्षाको सग्लो पानीमा उत्रिन त्यति सजिलो थिएन । मुस्कीलले पौडीको परीक्षामा उत्रिन सिकेको मेरालागि लोकसेवाको परीक्षामा उत्रिनु त्यो भन्दा कैयौ गुना कठिन थियो । वुद्धनगरको चिसो कोठामा वसेर संविधानका किताव रट्टा लगाउदा केही नघुसेर आफैसंग पटक पटक विरक्त नलागेको होइन । कहिले कमल सरको ढाडस, कहिले दाईको प्रेरणा कहिले भिनाजुको गाली त कहिले साथी भाईको हौसलाले भने आशा जगाउथ्यो । काठमाण्डौमा छिरेपछिको उच्च शिक्षासंगै समानान्तर रुपमा अगाडी वढेको लोक सेवा तयारीको परीक्षामा भने मेरो झन्डै पहिलो प्रयास नै कामयावी भयो ।
सिंहदरवारको रापिलो कोठामा वसेर विगतलाई नियालीरहदा जीवनका उकाली ओरालीहरु अचम्मका लाग्छन । मलाई जागिरे जीवन पौडी जीवनभन्दा सरल वन्यो । सबैका लागि त्यसो नहुन सक्छ । हिम्मत राख्नेका लागि भने यो एक दिन अवस्य हासिल हुन्छ ।
गांउमा हजुरबा डिठ्ठा भएकाले हामीलाई डिठ्ठाका भनेरै चिन्छन । अहिले “बा” हुनुहुन्न । पुर्खाको विरासतकारुपमा पाएको डिठ्ठाको पोखरो पनि छैन । यद्यपि मेरो मनमा रहेका स्मृतिहरुभने ज्यूका त्यू छन । अगाध स्मृतिमा रहनु भएका मेरा “बा”, स्मृतिवाट हराउन लागेको पोखरो, उत्तिकै संझनामा रहेको जनतामावी, कालगिण्डकी र बालावयका साथीहरुमा समर्पित ।

संझनामा नरदेउ

(विर्सिएका पात्र स्वर्गीय नरदेउ पाण्डे )

पल्टनवाट फर्किदाका हट्टा कट्टा नरदेउ । हातमा टेप र पाकिटमा सिग्रेट वोकेका नरदेउ, सुकिला वुट र कटकटीदा कम्पनी नोट वोेकेका नरदेउ । मौलामा गांउका भद्र भलादमीको खुट्टो राख्ने ठांए थिएन । सधैको हेपाई सहने जेठीलाई पनि मानिसहरु अदवको साइनो जोड्दै साख्खै पार्न कस्सीएका थिए । माइला र कान्छा भाइ नौकट्टी लागेपछि सोलो डोलो बारी खरवारी जोडेका नरदेउलाई ऋणले थलिएकाले पैसा पारेर जग्गा वेच्ने दाउ सम्म गर्थे । त्यसैले त गांउमा घरमात्रै सिरानमा होइन चर्चा र चाखमा समेत नरदेउ सिरानमा थिए ।
एक्ली छोरी कमलीको पनि कम महत्व थिएन । वैशाखको अक्षय तृतीयामा भयरमा हुने नारन पुजा र किर्तनमा चन्दा वोल्नेमा नरदेउ अग्र पंङतीमा थिए । वरीपरी घेरीएर वस्ने र आशा सहितको नजर फ्याक्ने इष्टमित्रलाई नरदेउ सिग्रेट फ्याकेर शान्त पार्थे । खाकीका लुगा पल्टनीया अदव कम्ता आकर्षक थिएन नरदेउको शान शौकत ।
पल्टनका परेडमा पेट दुख्न थालेपछि नरदेउले अनेक उपचार गराए । पल्टनको दवाईले नभेटेपछि अमारिदै घरै आइपुगे उनी । नेपालका दवाई डाक्टर अधिकांशका दैलोमा पुगे नरदेव । धामी देखि झाक्रीसम्म वैद्य देखि बोक्सीसम्म सवै देखाउने र फुकाउने कर्म सकियो नरदेउको । कसै गर्दापनि रोग २० को १९ भएन । जागीर भन्दा ज्यान प्यारो भएपछि नरदेउ एकाएक पल्टनवाट नाम कटाएर फर्किए । जब पल्टनवाट फर्किए नरदेउका दुर्दीन शुरु भए । अव नाम काटेको पैसा कति दिन पो टिकोस । जति खल्ती हलुगाें हुदै जान्थ्यो त्यति रोग गरुङगाें हुदै जान थाल्यो । पैराको छेउको घर । हरेक वर्खामा जमिन को आकार घट्दै गयो ।
अवस्था खस्कीएपछि इष्टमित्रको नजरपनि खस्कीदै गयो । छोरी कमला विहे भएर गइन । घरमा वुढा वुढीको दुखान्त जारी रह्यो । गांउमा वत्ती आयो झिलिमिली भयो । तर नरदेउलाई टुकिले छोडेन । वत्तीको पोल गाड्नेलेपनि नरदेउका घरसम्म पोल पुर्याउने लेठो गरेन । उनले पनि पोल आएन भनेर कहिल्यै गुनासो गरेनन ।
हुदा हुदा खोरमा थुनेको पाठोे चोरी भयोे । चोर भेटीएन । हुनत खोरको पाठो होइन नरदेउको सपना चोरिएको थियो । व्यथा मात्र होइन मौलाको पहिरो पनि वढ्दै आयो । उपचारमा लिएका ऋण पनि दिन गुना रात दुगुनका दरले वढ्दै गए । पीडाका बीच पीडा थपिए । पीडामा मल्हम लगाउन निर्धाको को नै पो हुन्छ र?


जीवनको अन्तिम घडीमा २०७३ मा पिसाब च्यापीएपछि नरदेउ गांउको पिडीमा छटपटाइ रहेको खवर काठमाण्डौसम्म आइपुग्यो । पिसाब थुनिएर मानिस मर्नु हुदैन भन्ने लागेर केही उत्साही युवाहरु तथा समाजसेवी मिलेर नरदेउकालागि पाल्पा मिसन हस्पिटलमा उपचार गर्न पुर्याइयो । त्यती बेला सहयोग गर्नेहरुमा मौला माधव र पुच्छार लक्ष्मण, फेदी डा. अशोक र विजय, मुलवाट मुनी खड्ग राना दाई र मौले कोशल हुनुहुन्थ्यो ।
पाल्पा मिसन हस्पीटलमा भएको उपचारका वावजुद मौले नरदेउको २०७३ जेठ २ गते दुखद निधन भएको थियो । एक आम मानिस नरदेउलाई संझीन परिवारमा श्रीमती वाहेक कोही छैन । रोग र अभावको जीवन विताएका उनका कुनै कीर्ती पनि हुने कुरा भएन । उनकी श्रीमती अहिले छोरीको घरमा स्यागंजा गेजामा छन । मानीस वस्न छोडेपछि जीर्ण भएको घर भत्किने चरणमा छ । र एउटा कुनै समयको जल्दो वल्दो इतिहास विलुप्त हुने तरखरमा छ ।
बलेको आगो ताप्ने समयमा निभेको आगो खोस्रीने फुर्सद त कस्लाई हुन्छ र । सफलता र संभावना वोकेका मानिसहरु पछ्याउने समाजले संभावना नै अन्त्य भएको विगतलाई कस्ले कोट्याओस । त्यस्तै संभावना अन्त्य भएका सिमान्त पात्र थिए नरदेउ पान्डे । तिनै सिमान्त पात्र नदरेउलाई चौथो वार्षीकीमा श्रद्धा सुमन ।

स्वर्गीय नरदेउ पाण्डेको मौलामा रहेको घर । कोही पनि नरहेको अहिले यो जिर्ण भएर भत्कीने क्रममा छ ।

विर्घाको वखान गरेर थाकिन

विर्घाको वखान गरेर नथाक्ने भएपछि पछिल्लो समय अनेक अल्झलने गर्दा व्लगमा नविन प्रस्तुतिहरु दिन सकिरहेको छैन । विस्तारै वढेको चिसो र चिसोको मरिज म, लोकसेवाका क्लासहरुको चापाचाप, र वढि जनसम्पर्कहुने कार्यस्थलका बीचमा इन्टर्नेटको ढिलाइले यस्तो अवस्था आएको हो ।
कुनै वेलामा विर्घाको नंया फोटो पाउने वित्तिकै कीवोर्डमा दौडने औलाहरु यतिवेला सुस्ताएका छन । ठुलो रहर हुदा हुदैपनि दिन दिनै अपडेट दिन नसक्दा खस खस लाग्दो रहेछ । यतिवेला आफ्नै फोल्डरमा अनेक फोटोहरु हुदा हुदैपनि खास केही फुरी रहेको छैन । यसै मेसोमा केही फरक एंगलवाट लिइएका तस्विरहरु तपाइको लागि ।

कामी गांउवाट लिइएको तस्विरमा मौला कइन्डाडा, भुष्टुग, खहरे आलमदेवी प्रष्ट देखिन्छ ।

पुरानो क्षेत्रपालको मन्दिर गांउवाट लिइएको तस्विरमा, माझखन्ड, वनकसी डांडा, पुच्छार देखिन्छ ।

विर्घाको उत्तरी वेल्टः यांगुदी वन, वास डांडा, घरीपोखरा र पारी गुल्मीको अर्वेनी गाविस ।

पूर्वी डांडोवाट लिइएको विर्घाको तस्विर ।