(तस्विरमा: मौलाको मेरो घर, घरको उत्तरी मोहडा र विर्घा गांउ )
“घर भनेको आमा या श्रीमती हुन।” यी दुइ मध्ये एक नभए घर सुनो हुन्छ । हुनत अहिले आमा र श्रीमती दुवैसंग म छु । मेरो आफ्नै पसिनाले सिर्जित घरपनि छ । तर विगतको वाल्यकालको र हरेक स्मृति जोडिएको मेरो घर भने धेरै पर छ र छ संझनामा ।
हरेककालागि आफ्ना वाल्यकालहरु यादगार र शानदार हुन्छन । अवसर र सुविधा फरक हुन सक्छन, तर वाल्यकालको संसारमा हरेक कोही आफै आफ्नो साम्राज्यको राजा हुन्छ । दरवार र घरवार फरक हुन सक्छ । आकांक्षा संसार जित्ने हुन्छ । म पनि त्यही वाल्यकालको त्यही मौलाको घरको सम्राट थिए कुनैवेला । घरको कान्छो छोरो मेरो त्यो सम्राटीमा “बा” र आमाको मौन समर्थन थियो । त्यसैले त म घरको प्यारो थिए ।
मौलामा रहेको यो घर “बा”ले २०३० साल तिर वनाउनु भएको हो । पछि समय अनुसार यसमा थपिनु पर्ने कुराहरु थपिदै गएर यो स्वरुपमा आइपुगेको हो घर । जंहा नै म पुगेपनि मेरा हरेक दृष्यमा र मेरा हरेक सपनीमा आइरहेने घर हो यो ।
खेतको आलीवाट सभा वगेको हेर्न होस या अन्धकार रात्रीमा तल झर्न डर लागेर झ्यालवाट कुर्र्याउन होस यही घरले सिकाएको हो । वरन्डामा सुतेर राती मौले ठुल्दाइकोमा कौडा खेलेको हेर्न जान होस या खहरे वा घ्यागंसिंग खरकमा मादल वजेको शुन्न होस यही घरले सिकाएको हो ।
चैत्र वैशाखमा गड्यागं गुडुगं गर्दे वर्षीने असिनावाट ओत दिन होस या नााना थरी वलीउड हिरोइनहरुका फोटा टास्न होस यही घरको भित्ताले ठांउ दिएको हो । निराम्सील काले जैसिले नंया घडेरी फाप्छ भनेर “बा”लाई संझाएपछि मौलेहरुसंग किनेको घडेरीमा ठडिएको हो यो घर ।
पाल्पाली कर्मीले कम्ती दुख गरेका हैनन घर वनाउदा, अझैपनि आमाले स्मृतिको पुन्तरो फुकाउदै भन्नुहुन्छ । हामी सबै दाजुभाइ दिदी वहिनी जन्मीएको मात्र होइन नाल गाडेको अगेनो भएको यही घर हो ।
“बा”ले अन्तिम श्वास लिएको पनि यहीघरको अगाडीको तुलसीको मैरो हो । दिदीले सन्जे वाल्ने मैरी हाम्रो घरको सोभा थियो । गांवैको ठूलो मध्येको मैरी हाम्रै घरको सामुन्ने थियो । फराकीलो आगन, आगनको छेउमा गेडुलाको रुख, मैरीको अगाडी ठूलो छापेको ढुंगो । यही ढुंगामा हरेक विहानको नित्य नुहाइ धुवाइको कर्म हुन्थ्यो । विहान नित्यकर्म हुने ढुंगोमा बाले दिउसो अनेक चित्रहरु कोर्नु हुन्थ्यो ।
ज्योतिष विद्यामा समेत ज्ञान राख्ने मेरा “बा” केही समयको वेलायती सेनाको जागिरे जीवनवाट फर्केपछि कर्मकान्डमा पनि लाग्नु भयो । “बा”को प्रभावले होला कर्मकान्ड र ज्योतिषमा ज्ञान कम भएपनि मेरो समेत औधी रुची आज पर्यन्त छ ।
घर अगााडीका ठूला आप र कटहरका रुखले घरको शोभा वढाएका थिए । सेनेइ, तल्लाघर दाई र हाम्रो साजे आप र कटहर गांउमै प्रख्यात थिए । हजुरबा देउनारायण डिठ्ठा भएकाले आज पर्यन्त डिठ्ठाका सन्तानका रुपमा चिनिने हाम्रो आंप र कटहरु पनि डिठ्ठाका कटहर र आपको नाममा परिचित थिए र छन । भन्जिगं, विराउदी, गांउ वा भार्सेचौर जाने घसेर्नीले पिढीमा डोको विसाएर पानी खाने यो घरले केही समयको जिर्णता पछि अहिले भने साथी पाएको छ ।
वोडधयरे रामुदाई आएर वसेपछि गुलजार वनेको यो घर मेरा वाल्यकालमा रोपिएका नासपाती, आंप र कफीका वुटाले अझै आकर्षक वनेको छ । उत्तर फर्केको ढोकावाट देखिने नांगो डाडो अव हरियालीले ढपक्क ढाकिएको छ । कामीगांउवाट आउने असारे भल अव रुख विरुवा वढेपछि देखिन्न ।
हाम्रो स्कुले जीवनमा पौडी सीकेको डिठ्ठाको पोखरो पुरिएपनि घर भने यी तमाम विषयको साक्षी भएर ठिगं उभिएको छ । कोरोनाले शहरका कोठामा सिमित भईरहदा भने यो घरको स्मृति झन ताजा भएर आएको छ । ब्लगको अर्काइभमा रहेको तस्बिरले थप नोष्टाल्जीक वनाएको यो मौकामा मेरो प्यारो घरको संझना जीवन्त भएको छ । घर निर्जीव हो यद्यपी मलाई लाग्छ यो घरले मलाई चिनेको छ र घरी घरी संझीन्छ । त्यसैले त यो घर मेरो हर सपनीमा सामुन्ने आइरहन्छ ।