स्मृतिमा मेरा बा

यतिवेला बा हुनुहुन्न । बा का संझनाहरु जीवन्त छन । हुनत निश्चित तिथी मीति तोकेर मनाइने श्राद्ध, दशै या तिहार वाहेकका चाडहरु मेरो रुचीका विषय होइनन । यद्यपि आजको प्रवित्र भाद्र सोमवारको कुशै औशीमा पीता या पीतृहरुको संझना गर्नु हरेक पुत्रको कर्तव्य हो ।
२०५३ सालको पौष २३ गते शुक्लपक्ष प्रतिपदाका दिन मैले आफ्ना पुज्य बा लाई गुमाए । ७३ वर्षको उमेरमा बा जानुभयो । उमेर ठिकै भएपनि अनेक रोगले च्याप्दै लगेपछि उहांलाई बचाउन सकिएन । मिसन हस्पिटल तानसेन पाल्पामा केही समय उपचारपछि पाटन हस्पिटल काठमाण्डौमा उंहाको अप्रेशन भयो । केही समयकोलागि ठिक भएपनि निरन्तरको दमले उंहालाई गलायो । भर्खर प्रवेशिका सकेर तानसेनमा आइए पढ्दै गरेको म अन्तिम अवस्थासम्म बा कै समिपमा थिए ।
अनेक रोगले गलित बा पछिल्लो समय कमजोर देखिनु भएको थियो । २०५३ पौष २३ गते प्रतिपदाका दिन विहानै उंहाले संसार छोड्नु भयो । जीवनभर ननुहाई केही नखाने र शौच गर्दा लुगा फेर्ने बा को नियमित अभ्यास थियो । बा पौष २३ गते विहानै एक घुट्की पानी खाएर जानुभयो ।
आखिर प्रकृतिको नियम नै हो जन्मे पछि मृत्यु अवस्यंभावी छ । कसैको छिटो त कसैको ढिलो मृत्यु भएरै छाड्छ । यो शास्वत नियमलाई कसैले वदल्न सक्तैन ।
पहिलो दिन झन्डै ६ वर्ष पुगेको म फुच्चेलाई बा ले जनता प्रा.वी कट्टीमा लगेर भर्ना गर्दिनु भएको थियो । भर्ना हुने वित्तीकै केही किताव पाएर म मख्ख थिए । घास काटेर फर्किदा आमालाई मैले कम उत्साहले ति किताव देखाएको थिइन । त्यसपछिका मेरा स्कुले जीवनमा अक्षर कोर्न सिकाउने मेरा बा नै हुनुहुन्थ्यो । स्वअध्ययन गरेका बा का अक्षर एकदमै राम्रा थिए । उंहाले कैले कांही ढुंगाले लेखेर पाटीमा केही चित्र पनि कोर्नु हुन्थ्यो । गांउभरीका तमसुक, राजीनामा, वडा मुचुल्का जस्ता लिखत उंहाले नै तयार गर्नु हुन्थ्यो । मलाइ लाग्छ बा लाई कलामा पनि राम्रो रुची थियो ।
हुनत बाले कुनै समय वेलायती सेनामा वसेर काम पनि गर्नु भयो । घास काट्न हिडेका केही ठिटाहरु दोश्रो विश्वयुद्ध ताका सवैलाई व्रिटिशहरुले भर्ति लिने थाहा पाएपछि नाम्लो र हसिया कतै फालेर भर्ति हुन गए । त्यसमा मेरा बा पनि हुनुहुन्थ्यो । यसरी जानेमा बा का अलावा मरेंङदी गणेश प्रसाद, मौले कान्छा वा, कामीडाडे काहिंला वा, चिफल्डाडे साहिला लगायत भएको बा ले पछिसम्म सुनाउनु हुन्थ्यो । ब्राम्हणहरुलाई भर्ति नलिने भएपछि बाले पनि थर वदलेर नरिश्वर पान्डेको सट्टा नरबहादुर खत्री भएर भर्ती हुनु भएको थियो । यसरी बेलायति सेनामा भर्ति भएर जापानी सेना विरुद्ध मलाया (हालको मलेशिया)मा गएर लडेको कंहानी बा ले पछिसम्म सुनाउनु हुन्थ्यो । यही लंडाइमा मौले कान्छा वा ( मौले भुवनका वा) लाई छातिमा गोली लाग्यो । तर संयोगले उंहा वाच्नुभयो र पुरा पेन्सन पाउने गरी फिर्ता हुनु भयो ।
अन्य धेरै विचमै फर्किनु भयो । बा भने लडाइ सकएिको केही समयपछि उंहाको रेजिमेन्ट खारेज भएकाले नाम कटाएर फिर्ता हुनुभयो । नाम कटाएर फर्किएपनि वेलायत सरकारले दिएको वेल्फेयर पेन्सन आज पर्यन्त हाम्रो पारिवारिक आम्दानीको श्रोत वनेको छ । ह्यान्डराइटिगं राम्रो भएको र सुनेको कुरालाई तत्कालै कपीमा उतार्न सक्ने भएकाले तत्कालिन संचार माध्यम आकाशवाणीको रेकर्ड उतार्ने काममा पनि केही समय उंहाले काम गर्नु भएको थियो ।
लाहुरे वनेर फर्केपछिको समय बाले संस्कृतको स्व अध्ययनमा विताउनु भयो । शिखरनाथ भाष्य, कौमुदी, श्रीमद्भागवत महापुराण, वेद, चन्डी, गीता लगायतका अनेक पुस्तकहरु हाम्रो घरमा सुरक्षीत थिए । हिमलाल वा संग मिलेर शिखरनाथ भाष्यको नेपाली अनुवाद निकाल्ने उंहाहरुको अभियान भने पुरा हुन पाएन । केही समय संगै वसेर खुव मेहनतका साथ अनुवादमा उंहाहरु जुट्नु भयो । खै के कारणले हो यो काम भने पुरा हुन पाएन । अहिलेपनि हिमलाल वाले उंहाहरु दुइ जनाले अनुवाद गरेको कपी सुरक्षीत छ भन्नु हुन्छ ।
अली ढिलो स्वभाव भएपनि काम राम्रो संग सम्पन्न गर्ने स्वभावका बाले हाम्रो पढाइलाई खुव जोड दिनुहुन्थ्यो । परिवारमा अलि राम्रो पढ्ने र सधै फस्ट हुने दिदी, ठिकै पढेपनि रामै्र नंवर आउने दाई र कम पढ्ने कम जान्ने मेरो स्वभावको बाले तुलना गर्नु हुन्थ्यो । मेरो पढाइ देखेर बार बार चिन्तित हुने बालाई मैले पछिल्लो समय पढाईमा राम्रै गरेको देखाउन नपाएकोमा ठूलो पछुतो लाग्छ ।
बालाई ज्योतिष शास्त्रमा पनि थोर वहुत ज्ञान थियो । अव यसपल्टको शनीश्चरको दशाले मलाई छोड्छ जस्तो लाग्दैन भन्दा भन्दै बा त्यही समयमा जानुभयो ।
हुनत अहिले बा का समकालिनहरु धेरै जना यस धर्तिमा हुनुहुन्न । अहिले कामीडाडो काहिला बा ९३ औ वर्षमा हिड्दै हुनुहुन्छ । हिमलाल बा भने सक्रिय जीवनमै हुनुहुन्छ । मौले हजुरबा वितेको दुइ वर्ष भइसक्यो । शालिकराम बा कैनडांडा, पन्डित मोहनीलाल, खराल मोहनीलाल, चन्द्रकान्त बा, मौले ग्वाइला बा धेरै बाहरु दिवंगत भइसक्नु भएको छ । लाग्छ उंहाहरु (पीतृ)कै आशिर्वादले हामी जेनतेन चलिरहेका छौ ।
आज कुशे औशी अर्थात वावुको मुख हेर्ने दिन कलिलै दिनमा बालाई गुमाएको म मेरा बा र तमाम पीतृहरु संझिरहेको छु ।

गोसाइकुण्डका यात्राका संझनाहरु


“कृष्ण राज पान्डे”
२०७१ सालको जनैपूर्णिमाको अवसरमा गोसाइकुण्ड जाने अवसर मिल्यो । ११ जनाको टिममा सँगै गएका मध्ये सबैजना सकुशल त्यहा पुगेर काठमाडौं फर्कियो । ४ दिन लामो सो यात्रा धार्मिक यात्रा मात्र नभई सांस्कृतिक तथा पर्यटकीय हिसाबले समेत धेरै नै महत्वपूर्ण रह्यो ।

पानी सम्पूर्ण जगतकै बाच्ने आधार हो । पानी संकलन गर्ने, शुद्ध गर्ने र पानीको बहावलाई निरन्तरता दिने यस्ता धापिलो दलदले जमीन ताल तलैया दह कुण्ड जस्ता क्षेत्र हुन् सीमसार । सीमसार क्षेत्रहरु विश्वकै उत्पादनशील परिस्थितीय प्रणालीहरु मध्ये एक मानिन्छन् । उनीहरु धार्मिक, सांस्कृतिक, आर्थिक तथा मनोरञ्जनका दिर्ष्टीले समेत महत्वपूर्ण मानिन्छन् ।
४३८० मीटर उचाइमा अवस्थित एक प्रसिद्ध र महत्वपूर्ण सीमसार क्षेत्र हो – गोसाइकुण्ड । नेपालको रसुवा जिल्लामा पर्ने स्याफ्रु गा वि स को लामटाङ क्षेत्रभित्र अवस्थित छ यो कुण्ड । लगभग १० वर्ग कि मी भित्र फैलिएको यो क्षेत्रमा गोसाइकुण्ड लगायत १६ वटा ताल श्रींखला अनुसार त झन् यस क्षेत्रमा १०८ कुण्ड रहेको उल्लेख छ । जसमध्ये गोसाइकुण्ड सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
गोसाइकुण्डमा यसभन्दा माथिल्लो भूभागमा पर्ने त्रिशुलढुंगा, दुधकुण्ड लगायतका कुण्ड हुँदै बगेको पानी आएर कुण्डहरुको पानी आएर मिसिन्छ । गोसाइकुण्डबाट निस्केको पानी भैरवकुण्ड हुँदै तलतिर बग्ने क्रममा सरस्वती कुण्डमा पुग्दछ । यहीबाट शुरु हुन्छ, त्रिशुली नदी । गोसाइकुण्ड क्षेत्र नै यस नदीको उद्गम स्थल हो । त्रिशुलीस् नदी गण्डकी नदी प्रणालीको एक शाखा नदी पनि हो ।
हिमाली बुट्यान युक्त क्षेत्रको प्रतिनिधित्व गर्ने गोसाइकुण्ड क्षेत्रको ओसिलो भागमा पाइने वनस्पति र लालिगुरासका विभिन्न प्रजातिहरु पाइन्छन् । यहाँका कुण्डभित्र एक कोशीय देशी बहुकोशीय वनस्पतिहरु पाइन्छन भने समय समयमा विभिन्न प्रजातिका चारहरु समेत आउने गर्दछन् । यस प्रसिद्ध धार्मिक स्थल गोसाइकुण्डको उत्पत्तिको सम्बन्धमा समेत विभिन्न धारणाहरु प्रचलनमा रहेका छन् ।
हिन्दूहरुले पवित्र ग्रन्थहरुमा भगवान शिवले गरेका हुन भन्ने उल्लेख छ । गोसाइकुण्डको पानीमा हलिेकाही देखिने मनोरम विशाल आकृतिलाई भगवान शिवको रुपमा विश्वास गर्ने गर्दछन् धर्मावलम्बीहरु । गोसाइकुण्डमा जेष्ठ असारमा पर्ने दशहरा मेला र साउन भदौमा पर्ने जनै पूर्णिमाका दिन गरी वर्षमा २ पल्ट मेला लाग्ने गर्दछ । करिब २५,००० धर्मावलम्बी र १५० भन्दा बढी धामी झाक्री यहाँ दर्शनका लागि आउने गर्दछन् ।
गोसाइकुण्डको मार्गमा पर्ने अन्य पवित्र स्थलहरुको पनि उत्तिकै महत्व छ । त्यहाँ जाने धर्मावलम्बीहरु आ–आफ्नो संस्कार अनुसार चण्डी पाठ गर्ने, नरिवल फोडने, तर्पन गर्ने, त्रिशुल चढाउने गर्दछन् । साक्षात भगवानको वास रहेको यस कुण्डको व्यवस्थापन लाङटाङ राष्ट्रिय निकुञ्जको रहेको छ । पथपर्यटन, पर्या पर्यटन तथा दृश्यावलोकनका लागि लाङटाङ हिमाल, लाङटाङ हिमाल, लाङटाङ उपत्यका, रसुवा गढी समेत यस क्षेत्रमा पर्दछन् ।
गण्डकी–नारायणीको शाखा नदी त्रिशुली गोसाइकुण्डबाट उत्पत्ति भई नारायणी नदीमा मिसिन्छ । वातावरणीय समस्याले जलसम्पदामा पर्न गएको असर, दीर्घकालीन व्यवस्थापनको लागि सबै एकजुट भई लाग्नु पर्ने आजको टड्कारो आवश्यकता छ ।

मेरो संझनाका तिजहरु


हुनत तिजलाई हिन्दु महिलाको महान पर्वका रुपमा उल्लेख गरिन्छ । यद्यपि यस्ता रमाइला चाडहरु के महिला के पुरुष सवैका लागि वरावर महत्व राख्छन । हुन त चाडवाडको रमाइलो केटा केटीमै वढि हुदो रहेछ । संझनापनि त्यही वेलाका वढि आउछन । हामी केटाकेटी हुदाका चाड र अहिलेका चाड या तिनका रंगिन पक्षमा केही वदलाव आएको छ ।
पहिले कृष्णाष्टमी वाट तिजका नाचगान शुरु हुन्थ्यो । तिज आउन लाग्ने बिचका ११ दिन नाच गान र राम रमितामा वित्थे । यद्यपि तिजको मैजारो पंचमीमा गएर टुंगिन्थ्यो । दिनभरी काममा थाकेकाहरु सांझको नाच गानवाट रिफ्रेस हुन्थे । चेलीवेटी लिन जाने र राता पोशाकमा चेलीवेटीहरुको ओहोर दोहोर हुेर्नु लायक हुन्थ्यो । कृष्टाष्टमी वन्कसी डांडा स्कुलमा, तिज अर्चलेमा र पंचमी मिर्चन्डीमा मनाइन्थ्यो । पछि यसमा केही फेरवदल आएपनि परम्परा चली रहन्थ्यो ।
पुजा पाठ गरेर आमाहरु पौराणीक गीत गाउथे…

“कंहामा जान्छौ ढुकुर चरी वगाल
वरिलै भगमानलाई भेटन ।
भगमानलाई भेटन के के कुरा चाहिन्छ
वरिलै त्यति मलाइ वताइदेउ ।”
घरका श्रीमान अरुतिर आंखा डुलाउदै हिडेपनि डरले केही वोल्न नसक्नेहरु तिजका गीतका माध्यमवाट पिडा विर्साउथे ।

“कैले श्रीमान कइन्डाडा कैले श्रीमान अर्चले
के गरेर पुग्छ र खै दोहोरा खर्चले ।”
श्रीमानको घर नवस्ने वानीलाई महिलाहरु गीतका माध्यमवाट विसाउथे । वह पोख्थे ।
सासुको वुहार्तन सहन नसक्नेहरु । घरमा पाएको पिडा गीतवाट कहन्थे । वुहारीहरुलाई घरको तल्लो कोटीको सदस्य मान्ने र उनीहरुलाई खानामा समेत विभेद गर्ने संस्कारका विरुद्ध वुहारीहरु पीडा पोख्थे…

“यो घरमा आए देखि आटो मैले खाइछैन
सेतो र सितो भन्ने देख्न पाइछैन ।”
आमा छोरी, चेली माइती भेट गर्ने, संगी साथीहरु मिल्ने र दुख शुख साट्ने मौलिक पर्व हो तिज । तर आज भोली टेलिभिजन संस्कृति विकास भएपछि यसको रौनकमा कमी आएको छ । दरको साटो दारु संस्कृति विकास भएपछि थपडी र गलाले लिने ठांउ टी.भी. र सी.डी. ले लिएका छन ।
कता गए ती सुरिला, लय मिलेका लामा स्वरहरु कता गए नया लुगा लगाएर अर्चलेमा सिठी फुक्ने वालापनहरु कंहा गए सवैरै काम सकेर अर्चले पुगेर नाच्ने दिदीहरु । यो विरानो शहरमा कंहावाट शुन्न पाउनु सात भाइकी एक्ली छोरीलाई नौ डाडा कटाएर दिएका दुर्दान्त घटनाहरु ।…

“सात भाइ छोरा पनि यै घरमा अटाउने
म एक्ली छोरीलाई डांडा कटाउने …”

(विर्घा वनकसी डाडा सरस्वती प्रावीमा २०७१ को कृष्टाष्टमीमा नाच गान गर्दै स्थानीय । सवै तस्विर अनन्त पान्डे )

जिन्दगी हे शुहाना…

“जीवनको स्वाद त गांउमै पाइन्छ । ” धेरै वर्ष राजधानी वसेर एक सफल जीवन विताएका व्यावसायीक मित्रले मलाइ गएको साता भने । भौतिक सुविधा र आर्थीक रुपमा सम्पन्न मित्रको सामाजिक हैसीयत पनि माथि नै लाग्छ । यद्यपि उनको पेसा व्यवसाय र हैसीयतवारे वेखवर गांउ भने उनलाइ प्यारो लागेको सुन्दा म केही वेर अलमलमा परेको थिए ।
उनको कुराले उनकै वाटोमा लम्कन चाहने मलाइ केही समय रन भुल्लमा पनि पार्यो ।
दिनभरीको थकानपछि पनि उनको कुराको खसखस मेटिएन । वेलुका काखे कम्प्युटरकमा रहेको सिद्धिचरण श्रेष्ठले लेखेको र नारायण गोपालले गाएको “मेरो प्यारो आखलढुंगा …….” गीत सुन्दै मेरो फोल्डरमा रहेका केही पुराना अनि गांउसंग सम्वन्धीत तस्वीरहरु नियाले । त्यहा काभ्राको घांस्को भारी वोकेका भरत सर थिए । “जिन्दगी हे सुहाना…कल क्या होगा किस्ने जाना… भन्ने वान्द्रेडांडाका वुवाका तस्वीर थिए । गाविस भवनमा भइरहेको मिटिंग्को तस्वीर थियो र र थियो स्कुल दगुर्दै गरेका विद्यार्थीको तस्वीर । सोचे आपाधापीमा परिचय हराउदो शहरमा ति सवै गौण थिए । तर मेरो मनलाइ हल्लाउन भने ति काफी थिए । गांउहो जंहा आफु भन्दापनि आफ्नो परिवार या पुर्खाका नाममा परिचय पाइन्छ । जहा समयको कोही दास छैन र अनावस्यक कुरा मनमा खेलाएर दुखी हुनी लेठो कसैले गर्दैन । प्रदुशषण अनेक विकृतिले ग्रस्त यो शहरमा मेरो मनमा मल्हम लगाउन सफल तिनै केही प्रतिनिधि तस्वीरहरु जस्ले मेरो हाराएको निदलाइ सुस्तरी सु्तरी मेरो आंखामा ल्याइ मलाय सपनिमा गांउमै पुर्याएका थिए ।
Photo: A viEw oF BiRgHa :-)

“तिजमा तडक भडक संगै विकृति शुरु ”

गणेश पाण्डे

मैले जाने अनुसार छरिएर रहेका दिदीबहिनी एकीकृत भएर मनाउने चार्ड हरितालिका तिज हो । तिज पौराणिक कालदेखि चल्दै आएको संस्कृति हो
। तिजमा विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित महिलाहरु सुयोग्य पति पाउँ भन्ने कामना सहित व्रत बस्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । यसलाई जोगाई राख्नु हाम्रो दायित्व र कर्तब्य पनि हो । तर पछिल्लो समय तिजलाई केहि महिलाहरुले तडक भडक देखाउने मनोरञ्जनको चार्डको रुपमा मात्र लिने गरेको पाईएको छ ।
हरितालिका तिज आउन एक महिना भन्दा बढि समय रहदा सहर बजारका होटल, रेष्टुरेण्टमा दर खाने, गहना प्रदर्शन गर्ने लगायतका काम शुरु भैसकेका छन् । यसले समाजमा विकृती ल्याउने तथा धनको खर्च मात्र गर्दछ । न कि यसले संस्कृति जोगाउछ । अर्को तर्फ कलाकारहरुले अमर्यादिन तरिकाले तिजका गितहरु बजारमा ल्याउने गरेका छन् । जुन तिजका गितमा अस्लिल शब्दहरु पनि छनोट भएका छन् भने नृत्य रत्यौली भन्न सुहाउने खालका छन् ।
कुनै समय बजारमा आएका तिजका गित सुनिरहन मन लाग्थ्यो भने अहिले परिवारका सवै सदस्यहरु संगै बसेरै सुन्न र हेर्न नमिल्ले खालका तिजका गितहरु छ्याप छ्याप्ती बजारमा आएका छन् । केहि कलाकारहरु हरिदेवी कोईराला, पुरुषोतम न्यौपाने, प्रजापती कोईराला लगायतका गितहरु संदेशमुलक हुने भएपनि नयाँ कलाकारहरुको गितमा कुनै संदेश, भाव लुकेको पाईदैन ।
माईतीले छोरीचेलीलाई घरमा बोलाएर मिठामिठा परिकार खुवाउने तथा सुखदुख साटासाट गरी एउटै ठाउँमा बस्ने प्रचलन रहिआएको तिजलाई तारे होटल, रेष्टुरेण्टमा मनाउने कामलाई रोकौँ । तिजका गितमा सुनिने अस्लिलता र नृत्यमा हुने रत्यौलीपना लाई हटाऊँ । साथै तिजलाई तडकभडक नभै हुनेखाने र हुँदा खानेले पनि कसैको देखासिखी मा नभै साधारण तरिकाले मनाऊँ । जय तिज ।।
(विर्घा ६ स्याङ्गजा
हाल, तनहँु, दमौली)