हामी जे सपना देख्छौ तेही हुन्छ…

हामी लामो समय सम्म जे सपना देखेर त्यही अनुसार काम गर्छौ तेही हुदो रहेछ त्यो पक्का रहेछ केहि ढिलो अथवा चाडो त अवस्य हुन्छ त्यो मेरो अनुभवले बताउछ।

मैले नेपाल छोडे देखी आफुले आफुलाई चिन्ने खुब कोशीस गरे मलाई लाग्यो जस्ले आफुलाइ चिन्दैन त्यो मान्छेले कहिले पनि सुख पाउदैन। आफुले आफुलाइ चिन्ने कोशीसमा मैले एउटा कुरा पत्ता लगाए त्यो के भने आफु प्रती बफादार हुने।
जब मान्छे आफु सँग साचो हुन्छ तब संसारको अगाडि प्रस्तुत हुँदा आत्मबिश्वास हुन्छ र दुनियाँ ले जे भने पनि तपाईंलाई असर पर्दैन । म जती आफु साचो छु तेही प्रकारले प्रस्तुत भएर ब्लगमा लेख्ने छु ।

साचो मन देखी भन्न पर्दा १२ कक्षा पछीको मेरो सपना कम्प्युटर पढ्नु थियो तेती बेला सम्म कम्प्युटर छुन नपाएको मैले कम्प्युटर पढेर त्यसमै जागिर खाउला भन्ने सपना सार्है अप्ठेरो थियो तर असम्भव थिएन । त्यसैले बाबु आमा सँग बाजेर, झगडा गरेरनै कम्प्युटरमा ब्याच्लर गर्न भर्ना भए। २००३ मा पढाई सके पछी ५ बर्ष मैले नेपालमै IT क्षेत्रमा काम गरे । दिनमा कारेब १४-१८ घण्टा काम गर्थे त्यो हिसाब मैले १० बर्ष नै काम गरे कि जस्तो लाग्छ 🙂 । त्यो बेला मैले के कस्तो आइटि काम गरे र कस्तो कठिनाई खेप्न पर्‍यो मेरो के कती कमाइ भयो त्यो बिस्तारै मेरो ब्लगमा लेख्ने छु।

त्यस पछीको मेरो सपना भनेको मेरो प्रेमी सँग बिहा गर्नु थियो। म उनलाई यती धेरै माया गर्थे कि मेरो हरेक इच्छा उनिमै गएर टुगिन्थ्यो। म जस्तो जिद्दी, घमन्डी केटीको मन महाभारतको संग्राममा अर्जुनले जस्तै जिती सकेका थिए। मेरो हरेक सफलता, हरेक दु:ख कष्ट बाढ्ने असल मित्र थिए। हामी खल्तीमा सुको नहुँदा पनि माया गर्यौ भने खल्ती भरी पैसा हुँदा पनि माया गर्यो। आजको आधुनिक तामझाममा माया बाहेक अरु सबै चिज गौण भए। प्रेम भएको कारेब १० बर्ष पछी हाम्रो विवाह भयो, हाम्रो सपना पुरा भयो र अनेकौ बिबाद र अप्ठेरो बिच भएको विवाह मेरो जित थियो

मेरो अर्को सपना भनेको बाहिर गएर नयाँ कुरा सिक्नु थियो जुन सपना पुरा भएको छ र म केही नयाँ सिक्ने प्रयासमा छु र म अष्ट्रेलिया आएको २ बर्षमा आइटी क्षेत्रमा कहाँ कहाँ कसरी काम गरे त्यो दु:ख सुखका कुरा बिस्तारै ब्लगमा लेख्दै जानेछु।

हरेक नारीको एक सपना हुन्छ आफ्नो घर संसार होस् र म पनि त्यो बाट अपबाद छैन। म त १००% नारी हुँ। दु:ख पर्दा धुरु धुरु रुन आउछ। खुशी हुँदा अट्ट हास हासो आउछ। रिस उठ्दा कन्सिरिको रौ तातेर आउछ्। मेरो अर्को सपना पनि अब लगभग पुरा भएको छ। म जस्तो सपना देख्थे तेस्तै गरेर दुई जना मिलेर परिश्रम गरेर आफ्नै बल बुतामा घर संसार बनाउन सफल भयौ।

तर यती मै मेरो सपना पुरा हुँदैन मैले अझै धेरै ठुलो सपना देखेको छु। त्यो पुरा हुन बाँकी नै छ त्यस्को लागि म अथक प्रयास गर्दै छु त्यो पुरा भए पछी म अवस्य यहाँ लेख्ने छु।

dream big….feel it….believe it….dig it..work it… achieve it and share it….. ( http://archanashrestha.blogspot.com/search?updated-max=2012-02-16T00:07:00-08:00&max-results=20 )

कटहरका कुरा

गणेश पाण्डे
कटहरको लागि तस्बिर परिणाम

केटाकेटीमा अग्रजले टिपेका कटहरवाट शुरु भएको यसको स्वाद अहिलेसम्म जिव्रोमा झुन्डीएको छ । वयस्क भएपछि आफै रुखमा झुन्डीएर नाम्लाको डोरी वनाएर धेरैपल्ट कटहर झारियो र खाइयो । वर्षेनी वर्षामा कटहरको झझल्को आएपनि गांउ छोडेपछिको कटहरको स्वाद लिन भने पाइएन । सधैको आपाधापी बीच पोखरामा किनेर खाएको कटहरले विर्घाको कटहरको स्वाद दिन भने सकेन । त्यसैबीच मेरा वाल्यकालका कटहरका संझनाहरु ।
*** *** ***
बर्षायाममा पाक्ने कटहर बास्तबमै एउटा मिठो फल हो । आफ्नै बारिमा फालाफाल भएको कटहर आज किनेर खाएपछि केहि लेख्ने मन भयो । सुरुमा आफ्नै कुरा गरौँ, घर नजिकैको कोल्पाटा बारिमा ३ ओटा ठुलठुलो कटहरका रुख छन हाम्रा । बिच रुखको कटहर साउन लाग्ने बेलामा पाकिहाल्थ्यो भने माथिल्लो मटर बाटोनिरको र तल्लो टंकिनिरको कटहर चाहीँ भदौँ मध्यतिर पाक्ने गर्दथ्यो । साउन लागेपछि साथी झबिन्द्रे र म बिहान बेलुका कटहरको रुखमा नै हुन्थ्यौ । बिहान छाम्दा नपाकेको भए फेरि बेलुका पनि छाम्न जान्थ्यौ । बेलुका पनि नपाकेको भए अर्को दिन बिहानै हामि पुगिहाल्थ्यौ । अलि ढिलो पुगियो भने अर्कै पनि गईहाल्ने डरले हामि चाडैनै जान्थ्यौँ । झविन्द्रे म भन्दा रुखमा चढ्नको लागि अलि बढि नै सिपालु भएकोले पनि म संग साथमा झबिन्द्रे नै हुने गर्दथ्यो । उतिबेला घरमा हजुआमा पनि हुनुभएकोले रुखमा चढेको थाहा पाए गालि गरिहाल्नुहुन्थ्यो । अनि कसैलाई बोलाएर रुखभरिका कटहर झार्न लगाएर सबैलाई काचो कटहर बाड्दिनुहुन्थ्यो । केहि कटहरहरु चाँही आफै डोकामा हालेर घरमै ल्याउनुहुन्थ्यो र दलानमा फाल्नुहुन्थ्यो । कटहर दलानमा फालेपछि दुई तिन दिनमा पाकिहल्थ्यो । पाकेको कडहर फोर्ने बित्तिकै एकतमासले गाँऊभरि यसको बास्ना जान्थ्यो । मालुंगेली आमाकोमा कटहर फोरेछन् भनेर अन्य केटाकेहिहरुपनि हाम्रो घरमा जम्मा भईहाल्थे । कटहरको सिजन आएपछि मलाई एउटा कुराको याद सधै आईरहन्छ एकचोटि अलि धेरै नै कटहर खाईएछ क्यारे २ दिनसम्म करण्डाडाको औसधी नै गर्नुपरेको थियो । बिर्घामा हाम्रो भन्दा पहिला बन्कसी भरत सरको पाक्थ्यो । लुम्छेली तोलाहरुको अलि पछि पाक्थ्यो । माथि ठानेबाहरुको पनि चाडै नै पाक्थ्यो तर त्यो कटहर चाँही हामि चाख्न पनि पाउथेनम् माथिकैले भ्याउथे । मरेङ्गदी धर्मदाईहरुको, मलेइँ आमाको, नारायण सरको बारिको कटहर पनि साच्चै मिठो कटहर थियो । जति खाएनी एक रुपिया तिर्नु पर्ने थिएन । अहिले ३०० मा सानो भुड्को कटहर किनेर खानु परेको छ ।

अंग्रेजीमा ज्याकफ्रुट भनिने कटहर वास्तबमा तपाई हामिलाई कुनै नौलो कुरा भएन । संबवत रुखमा फल्ने सबैभन्दा ठुलो फल कटहर नै हो । तराई, मध्यपहाडी र पहाडी छेत्रमा समेछ यो फल्ने गर्दछ । बाहिरी आवरण हरियो र पहेलो रंगको हुने कटहर भित्रपटि पहेलो कस्रैकेस्रा भएको मिठो फल कटहर हो । एकतमासको बास्ना आउने यस फलको भित्रको एउटा पहेलो झिल्ली हटाएर खानुपर्ने हुन्छ । त्यस्तै कटहर भित्रको बियालाई पनि फरक फरक तरिकाले खाने गरिन्छ । त्यसलाई सुकाएर कसैले अचारको रुपमा पनि खान्छन भने कसैले तरकारीको रुपमा खाने गर्दछ् । तपाई हामिलाई थाहै छ कटहर भित्रको डाठलाई भिनाजु भन्ने गरिन्छ । सामान्यतया सानो कटहरमा ५० र ठुलो कटहरमा ५०० सम्म केस्रा हुने गर्दछन् ।
कहटरमा मात्र ०।६ ग्राम चिल्लो पदार्थ र ९५ क्यालोरी हुन्छ । यसमा ४ सय ४८ मिलिग्राम पोटासियम, २३ ग्राम कार्बोहाइड्रेड, १।५ ग्राम फाइबर, प्रोटिन १।७ ग्राम, भिटामिन बी १२ ग्राम र बी ६ र म्याग्नेसियम पाइन्छ ।
यति धेरै पौष्टिक तत्व पाइने कटहरका फाइदा के के छन्ः
१ तौल घटाउनः कटहरमा स्याचुरेटेड चिल्लो पदार्थ निकै कम मात्रामा हुन्छ । यसले तपाईको शरिरको तौल बढ्न दिँदैन । डाइटिङका क्रममा कटहरको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
२ संक्रमणबाट जोगिनः यसमा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइने हुनाले शरिरमा हुने सक्रमणबाट बच्न र जुकाको समस्याबाट बच्न मद्त गर्छ । इाइटमा एक कचौरा कटहरले तपाईको शरिरलाई चाहिने मात्रामा एन्टिअक्सिडेन्ट दिने गर्छ ।
३ मधुमेहको सन्तुलनः उच्च मधुमेहका बिमारीका लागि कटहरको सेवन निकै फाइदाजनक हुन्छ । यसमा हुने रसायनले मधुमेहको मात्रालाई नियन्त्रण गर्नका लागि मद्धत गर्छ ।
४ हाडका लागि फाइदाजनकः कटहरमा हुने पोटासियम, क्याल्सियम तथा अन्य पौष्टिक तत्वले शरिरको हाडलाई मजबुत बनाउन सहयोग गर्छ । उमेर बढ्दै जाँदा हाडमा देखिने समस्याबाट बचाउन समेत कटहरले मद्धत गर्छ ।
५ थाइराइडबाट बचाउः यसमा हुने कपरको मात्राले शरिरको मेटाबोलिज्मलाई ठिक गर्छ र हर्मोनलाई सन्तुलित गर्छ । यसकारण थाइराइडको बिरामीका लागि यसको सेवन निकै फाइदाजनक हुन्छ ।
६ पाचन प्रणालीका लागिः कटहरमा हुने फाइबरले शरिरको पाचन प्रणालीलाई सन्तुलित राख्न मद्त गर्छ । कब्जियतको समस्याबाट बचाउन समेत यसको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
७ उच्च रक्तचाप नियन्त्रणः एक कप कटहरमा यति धेरै पोटासियम हुन्छ कि यसले सोडियमको मात्रालाई घटाउन मद्त गर्छ । यस्तै, यसले शरिमा रगतको प्रवाहलाई सुचारू राख्नका लागि मद्त गर्छ । रक्त चापका बिमारीका लागि यो निकै फाइदाजनक हुन्छ ।
८ शक्तिका लागिः कटहरमा फाइने आइरन तथा अन्य पोषक तत्वले एनिमियाबाट मुक्त गर्न मद्त गर्छ भने शरिरमा शक्ति दिन समेत निकै फाइदाजनक हुन्छ ।
९ आँखाका लागि फाइदाजनकः कटहरमा गाँजरमा जस्तै, भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । यसको प्रयोगले आँखाको ज्योति बढाउन र रतन्धोबाट जोगाउन मद्त गर्छ ।
(बिर्घा ६ स्याङ्गजा, हाल पोखरा रत्नचोक )

अव म जाग्न चाहन्छु !

नारायण पान्डे
स्याङजा विर्घा देखि काठमाडौंका लागि दिवा रेल सेवाको टिकट लिएर विहान ४ बजे मेरो सिटमा बसेँ । हुनत विर्घा देखि काठमाडौंका लागि डाइरेक्ट उडान नभएको होइन तर म त्यति हतारमा पनि नभएको र तुलनात्मक रुपमा हवाई सेवा भन्दा रेलको यात्रा नै सस्तो पर्ने हुँदा, रेलमै यात्रा गर्ने निर्णय गरेँ ।
अध्ययनको सिलसिलामा आँफु जन्मेको, हुर्केको र क, ख देखि एस.एल.सि. परिक्षा उत्तिर्ण गरेको मेरो जन्मभूमि छाडेर काठमाडौँ बस्न थालेको पनि एक दशक वितिसकेको थियो तथापि अझै पनि कहिले काँही गाउँ पुगेर काठमाडौँ फर्किन भन्दा आगडि कतै कतै चसक्क दुखेको अनुभुति हुन्छ । १० वर्ष अगाडि गाउँमा न त साइन्स क्याम्पस थियो न त अन्य संकायका कलेजहरु । बाध्याताबस जन्मभूमि छोड्नु परेको थियो । तर आज लोकतन्त्रका पूनर्वाहाली सँगै गाउँमा पनि शहरमा जस्तै पर्याप्त मात्रामा सबै जसो संकायका विश्व विद्यालयको स्थापना भएको छ ।
विरामी पर्दा हस्पिटल जान हतार हतार गर्नुपर्ने थियो तर अहिले त गाउँमै पर्याप्त मात्रामा अस्पताल र औषधालयहरु छन् । पहिला पहिला जस्तो घण्टै लगाएर पानी लिन जान पर्ने अवस्था छैन, अहिले त घर घरमा धाराहरु जोडिएको छन् । पानीको सुविधाले, सडक र बजारको सुविधाले होला विदेशिने युवाको संख्यामा पनि कमि भएको छ । यसै पालि पल्लो घरको रामु र तल्लाघरे श्यामु पनि विदेशबाट फर्किएछन् गाउँमै तरकारी खेती र बाख्रा पालन गर्न सुरुगरेछन् अनि विदेश नफर्कने निर्णय गरेछन् । त्यो सुन्दा मन असाध्यै हौसियो । पहिला पहिला राजनीतिक द्धन्दको कारणले एक किसिमको विशृङखलता विश्वासहिनताको वातावरण सिर्जना थियो तर अहिले त गाउँमा आमा समुह, क्लबहरु र उपभोक्ता समूहहरु मिलेर नमूना समाज निर्माण गर्न तत्पर रहेछन् । एकले अर्कोलाई मर्दा पर्दा सहयोग र सद्भाव राख्ने, घरभित्र र बारिमा सिमित हुने महिलाहरु पनि शिक्षा लिएर पढ्न लेख्न र यती सम्म कि आफैले इन्टरनेटको माध्यामबाट सञ्चो विसञ्चो आदान प्रदान गर्ने भइसकेका रहेछन् ।

आजकल त गाउँमा श्रीमान् श्रीमतीका बिचमा हुने झैझगडाहरु पनि न्यूनता आएको रहेछ, सम्बन्ध विच्छेद, जबरजस्ती करणी जस्ता समाज विरोधी क्रियाकलापहरु त ठप्पै भएका छन् । वास्तवमा लोकतन्त्रको पूर्नवाहाली र गणतन्त्रको स्थापना सँगै विकास र सामाजिक पूर्नसंरचनाका कार्यक्रमहरुले मेरो गाउँ मात्र होइन पूरा नेपालको बस्तिहरुमा पविर्तन ल्याएको छ । स्कुलमा गएको बच्चा समयमा नै घर आइपुग्छ, हाट बजार गएकी छोरी निर्धक बजार गरेर घर फर्कन्छे, मानिसहरु व्यक्तिगत जीवनशैलिमा मात्र नभई सामाजिक तथा वातावरणिय संरक्षण र सन्तुलनमा आफ्नो जिम्मेवारी बोध गर्न थालेका छन् । सरकार पनि जनताप्रति उत्तरदायि भएको छ । स–सानो घटना देखि, ठुला–ठुला प्राकृतिक विपत्ती तथा अन्य विपत्तीको पूर्व तयारी गरिएको छ ।

साच्चि भनौँ त नेपाल एक सुन्दर समृद्ध मुलुक बनेको छ । अघिल्लो महिना भएको संयूक्त राष्ट्र संघको महासभामा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव बहुमत बाट पारित भएको छ ।

विगत पाँच वर्ष यता नेपालमा लाखौंको संख्यामा पर्यटकहरुको आगमनमा वृद्धि भएको छ । पर्यटकको लागि बस्न, खान र रमणिय स्थानको अवलोकन गर्न कुनै असुविधा छैन भने अर्का तिर सुरक्षाको पनि त्यत्तिकै कडा व्यवस्था भएको छ । यथार्थमै हिजोका दिनमा राजनीतिक पार्टि र नेताले स्विजरल्याण्ड बनाउने कुरा आज सत्य साबित भएको छ ।

वार्षिक उत्पादन हुने दक्ष जनशक्ति, बेरोजगार बस्नुपर्ने वा दुतावास धाउनु पर्ने अवस्था रहेन अब, गुणस्तरीय शिक्षाको लागि भारत लगायत अन्य मुलुकमा जानुपर्ने बाध्यता पनि छैन । पोहोर साल मात्र नेपालको त्रिभुवन विश्वविद्यालयमा पाँच हजार भन्दा बढीको संख्यामा विदेशि विद्यार्थी अध्यायनको लागि आएका रहेछन् ति मध्ये सबभन्दा बढि भुगर्भ–शास्त्र, वातावरण विज्ञान र नेपालको सामाजिक साँस्कृतिक अध्यायनमा आउनेको संख्या बढि छ भन्ने थाहा पाएको थिए ।

त्यस्तै जातिय भाषिक वा क्षेत्रगत विखण्डन समाप्त भएका छन् । राष्ट्रियता अझै मजबुद भएको छ । सद्भाव र भाइचारा बढेको छ । यसको एउटै कारण हो सरकारको सन्तुलित विकास निति, अब पहिला पहिला जस्तो हचुवामा नीति निर्माण गर्ने शैलि समाप्त भइसकेको छ । पहिला पर्याप्त अनुसन्धान पछि मात्र नीति नियमहरु निर्माण हुन्छन् । स्थानिय तहका समस्या समाधान गर्नका लागि शशक्त स्थानिय सरकार छ भनौ त्यस्ता सरोकारवाला निकायको रेखदेख र अनियमितता नियन्त्रणका लागि मानव अधिकार आयोग उपभोक्ता समिति तथा अन्य विभिन्न स्थानिय समितिहरु सक्रिय छन् । रोजगारी वा अवसर प्राप्तीको लागि सोर्स फोर्सको आवश्यकता छैन । यहाँ दक्ष र सबल जनशक्तिले पहिलो प्राथमिकता पाउँछन् त्यसैले होला पछिल्ला वर्षमा हत्या, हिंसा र आत्महत्या जस्ता घटनाहरुमा ठुलै न्यूनिकरण भएको छ । अस्पतालहरुमा डिप्रसेन र ग्याष्ट्रिक विरामीहरुको संख्यामा पनि न्यूनिकरण आएको छ । यो वर्ष त सुदुरपश्चिम गाउँहरुमा पनि महामारि जस्ता समस्याहरु देखिएनन्। नेपाल सरकारले त्यसको लागि पूर्व योजना अनुरुप कार्यक्रम सञ्चालन गरेको रहेछ । महाकाली र सेतीले पनि क्षति पुर्याउन पाएन ।

राज्यको नजरमा कोहि सानो कोहि ठुलो रहेन आज । समान वितरण र अवसरहरु प्रदान गरिएको छ । कोटा सिस्टम जस्ता सकारात्मक विभेदका नीतिहरुले पनि राम्रो सफलता पाएका छन् । साच्चै नै पिछडिएका र न्यून स्तरका समुदायलाई सक्षम बनाएको छ। अस्ति मात्र रेडियो नेपालमा सरकारका एक मन्त्रि भन्दै थिए अब कोटा सिस्टम राखि राख्न पर्ने अवस्था छैन, महिला, दलित, जनजाति, अपाङ्गहरु सक्षम भइसकेका छन् उनीहरुका लागि पर्याप्त अवसर उपलब्ध छन् ।

त्यस्ता कुरामा मात्र होइन, आर्थिक रुपमा पनि नेपाल समृद्ध भइसकेको छ । प्रत्येक व्यक्तिको जीवन बिमा गरिएको छ । गरिबीका कारण आधारभुत तथा अन्य सामाजिक साँस्कृतक आवश्यकताबाट कुनै नागरिक बञ्चित हुनु परेको छैन । साउँको रिनको बोझले छोरा छोरी स्कुल पठाउन नसक्ने अवस्था रहेन । साच्चिनै नेपाली जनताको सपना साकार भएकोछ । नेताले देखाएको सपनाहरु पूरा भएका छन् ।

चार जात छत्तिस वर्णको फुलबारी साच्चिनै यथार्थमा परिणत भएको छ । धर्म र वर्णका आधारमा कुनै भेदभाव रहेन । पशुपतिको आगनमा अब्दुल सलिम रमाउन सक्छन् । यशु ख्रिष्ट र शिवहरु सँगै हातेमालो गरेर हिड्छन् । आहा कति खुसि लाग्छ ।

धर्म, सँस्कृति र नेपालिको कलाको संरक्षणका लागि पनि नेपाल सरकार उत्तिकै सजक देखिन्छ । सबै जातजातिहरु आफ्नै भाषा र भेष भुषामा गर्व गर्छन् भने अरुको सँस्कृतिमा सम्मान । यि यस्तै कुराले नेपाललाई अझ सुन्दर बनाएकोछ । संसारलाई लोभ्याएको छ । विश्वको जुनसुकै कुनाको मान्छे किन नहोस् बुद्धको देश, सगरमाथाको देश नेपाल आउन इच्छा राख्छन् । हुन पनि हो किन नराखुन त यहाँको अतिथ्य सत्कार देखि लिएर, प्राकृतिक मनोरम र सुविधा पनि त्यस्तै छ ।

पहिला, पहिला जस्तो घण्टौ जाममा बस्नु पर्ने अवस्था रहेन अब, आकाशे पुल, गुणस्तर सडक, व्यवस्थीत सहर, स्वच्छ र सफा वातावरणले यसै मन लोभ्याउँछ । सडक दुर्घटना र हवाई दुर्घटना स्वात्तै घटेको छ । नेपाल प्रहरी लगायत सरकारी कर्मचारीहरु हरदम सेवामा खटिएका छन् । भ्रष्टाचार घुसखोरि जस्ता अनौतिक क्रियाकलापमा न्युनिकरण भएको छ । हरेक कार्यालयमा जनसम्पर्क कार्याल्य स्थापना गरिएका छन् । जनगुनासोको सुनुवाई र कार्यन्वयनमा विलम्ब हुदैँन । पहिला पहिला जस्तो सामान्य कामको लागि घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छैन । दण्डहिनताको अन्त्य भएको छ । साच्चिनै कल्पना गरिएको जस्तो कानुनि राज्यको स्थापना भएको छ । सडकमा अनाथ बालक र बृद्धहरु देख्न पाइदैन, सरकारले त्यस्ता व्यक्तिको सुरक्षा र विकासको निमित्त छुट्टै विशेष व्यवस्था गरेको छ ।

पहिला पहिला हैजा जस्तो बेला बेलामा आउने सिमा विवाद पनि सुन्न पाइदैन, आफ्नो मातृभुमिको रक्षाको निमित्त सिमावर्ति नेपालीले अनाहकमा ज्यान गुमाउन परेको छैन, नेपाल र भारत बिच भएको नयाँ सिमा सम्झौता सँगै सिमा क्षेत्रमा हुने हिंसामा पनि नियन्त्रण भएको छ ।

यस वर्षको एस.एल.सी परिक्षमा ९५% विद्यार्थी उत्तिर्ण भएछन् । पहिला जस्तो लोेडसेडिङको अवस्था रहेन । अब चौबिसै घण्टा विजुलि उपलब्ध हुन्छ । रेमिट्यान्सबाट भन्दा बढी पैसा त विद्युत बिक्री बाटै नेपाल भित्रिने गरेको छ । पहिला पहिला जस्तो पेट्रोल र ग्यासको हाहाकार रहेन अब, सिधै पाइपलाइनको व्यवस्था रहेकोछ । यो देख्दा विश्वास लाग्छ साच्चि कै माक्र्स ले भनेजस्तै संसार परिवर्तनशिल छ र संसारका सबै कुराहरु एक अर्कोको सापेक्षतामा परिवर्तन हुन्छन् । अनि कृतज्ञ हुन्छु महामानव वि.पि. केशरलाले कल्पना गरेको समाजबाद प्रति जहाँ कर्तव्यपालन र जिम्मेवारीबोध सहितको स्वतन्त्रता छ, विलासिपन र ऐयासि होइनन् इमान्दार र कर्मठ नागरिक छ । जहाँ लाचारी सरकार होइन उत्तरदायि र लोककल्याणकारी सरकार र व्यवस्था छ ।

यात्राको क्रममा यस्तै यस्तै पहिला र अहिलेका कुराहरु मेरो मानसपटलमा कुदिरहेका थिए । कति छिटो काठमाडौं आइपुगेछ ।

काठमाडौं स्टेशन नेर
ट्रलि बसको हर्न बजेको थियो त्यस्तैमा एउटा आवाज सुनिन्छ, मामा, मामा ।
झल्यास्स हुन्छु, निन्द्रा बाट बिउझन्छु, नजिकै कोठाको अर्को बेडबाट भान्जा बोलाउँदै हुनुहुन्थ्यो र भन्दैहुनुहुन्थ्यो, अलाराम बजिराखेको छ । बिहानको ५ बजेको रहेछ । बत्ति बाल्न खोजे स्विच त अन भयो तर बत्ति अन भएन, फेरि मैनबत्ति बाले उहि बुढा नेता जस्तै पुरानो सिरक, खण्डीत राष्ट्रिय एकताको भावना जस्तै कतै भुक्क डल्ला परेको रुइ त कतै खाली, विभाजित राजनीतिक दलहरु जस्तै फाटेको खोल, लाजले रोइरहेकी नेपाल आमा जस्तो फरफर गरेको झ्यालको मैलोपर्दा जो सफा हुनु र मैलो हुनुले कुनै फरक पर्दैन, पानीका थोपा नचुहिने धारा जस्तै चरप्प सुकेको थियो मेरो ओठ सायद सपनामा गरेको रेलको यात्राले होला ।

रेडियो अन गरेँ, कायकैरन आइरहेको छ । समाचारमा भन्दैथियो जाजारकोटमा स्वाइनफ्लुको कारणले, १०० औँ को मृत्यु, तराइमा चलिरहेको आन्दोलनमा पाँचको मृत्यु र दर्जनौँ घाइते, स्थीति तनाव ग्रस्त, कुन्नी कता हो सात बर्षिया बालिकाको बलात्कार गरी हत्या, कति तितो थियो यथार्थ । स्वाइफ्लुको भन्दा डर थियो यथार्थको ।

कति खुशि थिए म पाँच मिनेट अगाडि सम्म, यथार्थमा सबै भताभुङ्ग भएको थियो । आजभोलि त म, नेताले बाँडेको सपनामै रमाइरहेको छु र अझै रमाउन चाहान्छु । त्यसैले म अझ जाग्न चाहान्छु ।
(विर्घा ४ घरीपोखरा )

यसरी गए एउटा महान फकीर

युवराज घिमिरे/सेतोपाटी

झन्डै दस वर्षअघि मित्र विजयकुमारले पशुपतिनाथ परिसरमा एउटा सामान्यजस्तो लाग्ने फकीरसँग भेटाए। शीष्टाचार प्रदर्शनको औपचारिकतापछि विजयले केही दक्षिणा चढाए ती फकीरलाई।
मेरो मन र मष्तिष्कमा अनेक बहस र सोच चल्न थाले। ती फकीर आफ्नो कोठामा भुस्याहा कुकुरहरुसँग थिए। नजिकै राखेको दूधको भाँडोबाट ‘भोका’लाई खुवाउँदै थिए। घृणाबाट माथि र करुणासँग एकाकार थिए ती फकीर भनी बुझ्न मलाई धेरै समय लागेन।
त्यसपछिका केही वर्ष मलाई अंग्रेजी र नेपाली मिश्रित बोलीचालीमा रमाउने त्यो फकीरको चुम्बकीय व्यक्तित्वले आकर्षित गरिरह्यो। एकदुईपल्ट उनले अगाडिको पसलबाट ‘चारा’ किन्न लगाए मलाई। उनको आश्रमअघि नियमित जम्मा हुने कुकुर र गाईगोरुलाई खुवाउन। अरुले किन्न खोज्दा ‘हैन, उसले किन्छ’ समेत भने।
त्यो उनको कुनै व्यक्तिप्रति विशेष कृपा र आशिर्वाद भएको मान्थे उनलाई चिन्नेहरु।
झन्डै आठ वर्षअघि क्यान्सरबाट ग्रस्त ती अघोरी फकीरलाई घाट राखियो। अन्तिम दिन म र मेरी श्रीमती त्यहाँ पुग्यौं। उनले आशिर्वाद मुद्रामा हात उठाए। अनि केही इसारा गरे, कमजोर वाणी र हातको सहयोगले। मैले बुझिन।
मैले जिन्दगीमा धेरै कुरा बुझेको छैन। तर, अन्तिम समयमा उनले भनेको कुरा नबुझ्दा अत्यन्त कष्टको अनुभूति भइरहेको थियो मलाई। उनका सहायकले बुझे। मलाई उनले फकीरसँगै राखिएको विगुत र प्रसादका रुपमा केही फल दिए।
जिन्दगीभरि आधा नांगो, पाए खाने र भाषाको अभिव्यक्तिबाट बञ्चित पशुहरुलाई भोजन दिने ती फकीरले मृत्यु शय्याबाट पनि ‘दिने’मात्र सोचे। एउटा अजीव जीवन दर्शन हुन्छ सच्चा साधुहरूको।
आखिर धनी को? जसले दिन्छ।
भारतका विद्वान राष्ट्रपति राजेन्द्रप्रसादले ‘पैसा’बारे निबन्ध लेख्दा भनेका थिए रे, ‘पैसा, एउटा राम्रो नोकर र एकदम खराब मालिक हो।’ अर्थात पैसा, आराम, विलासिताप्रतिको समर्पणले मानिसलाई मुक्ति होइन, ‘दासत्व’तिर धकेल्छ। अघोरी चुनचुनबाबाको जीवन त्यही ज्ञान र विवेकको प्रयोग थियो। त्यसरी अरुलाई उपदेश दिँदैन थिए, उनको कर्म नै उनको सन्देश थियो।
क्यान्सर कारक बन्यो, त्यसै दिन उनले देहत्याग गरे, आठ वर्षअघि।
उनका गुरुभाइ ‘पगलानन्द’ले सोमबार आफ्नो केही हितैषीहरुसँग भनेछन्, ‘म भोलि शरीर त्याग्छु, एकजोर नयाँ लंगौटी लगाइदिनू मलाई।’
वर्षमा आधा काशी र आधा पशुपतिमा बस्थे उनी। साँच्चै पागलजस्ता लाग्थे। यदाकदा शराबको नसामा देखिए पनि आफूलाई ‘गड इन्टोक्सिकेटेड’ भन्दै हाँस्थे उनी। अनि आफ्नो घाँटीमा लगाएको एउटा जन्तर मुखसम्म तानेर कहिलेकाहिँ ‘ईश्वरसँग कुरा गर्छु’ भन्ने गर्थे। अनि धर्मको व्यापारमा लिप्त प्रायः नाम चलेका हिन्दू साधुहरुको सत्तोसराप गर्थे, एक्लै भुतभुताउँदै वा आफ्ना केही सहयोगीहरुबीच मुड आउँदा।
अर्को आश्चर्य पक्ष थियो उनको व्यवहारमा, भक्तहरुलाई मन्दिर जान भन्थे। कसैलाई पशुपतिनाथ, कसैलाई दक्षिणकाली या मनकामना। तर, आफू स्वयं जाँदैन थिए दर्शनका लागि।
आत्मसाक्षात्कार या आफैंभित्र ईश्वर फेला पारेका या हरेक प्राणीमा ईश्वर देख्ने साधुलाई मन्दिरको, ईश्वरको मूर्तिको प्रयोजन रहँदैन। पगलाबाबा त ‘रमताराम’ थिए, हरेक कणमा रामलाई देख्थे, त्यसैले सबैसँग समान व्यवहार, तिक्तताविहीन गाली, हाँसो, ठट्टा अनि कसैले मनमा सोचेको कुराको जवाफ। अद्भूत र नियमित व्यवहार थियो उनको।
साधुहरु आफ्नो परिवार र अतीतको कुरा गर्न रुचाउँदैनन्। तर, कुनै न कुनै रुपमा केही कुरा चर्चामा आउँछन् नै। उनी उत्तर प्रदेशको सीमावर्ती क्षेत्रका ‘पाठक’ परिवारमा जन्मेका थिए। सानै उमेरमा वैराग्यप्राप्त उनी सत्यको खोजीमा पशुपतिनाथ आइपुगे, सम्भवतः २०२१ सालतिर।
भारतीय सहयोग निगमबाट खटिएका एकजना इन्जिनियरले पछि अघोरपन्थ ग्रहण गरेपछि उनको नाम रामनाथ अघोरी रह्यो। ती रामनाथ अघोरीसँग तीनजनाले दीक्षा लिएः त्यागीनाथ, चुनचुनबाबा र पगलानन्द।
पगलानन्दले पछि सिद्धबाबासँग पनि दीक्षा लिए, रामनाथ अघोरीसँग कुनै कारणले विरक्तिएपछि। जेठा दाइ त्यागीनाथले सोमबार बिहानै अघोर परम्पराअनुसार श्लेष्मान्तक वनमा गुरुभाइ पगलानन्दलाई समाधिस्थ गराएका थिए, चुनचुननाथ अघोरीको समाधिस्थलनजिकै।
चुनचुन अघोरीको जस्तो विवाद भने भएन पगलानन्दको अन्त्येष्टिमा। चुनचुनबाबाको इच्छाअनुसार ‘उहाँलाई जलाइनुपर्छ’ भन्ने एउटा समूहको अडानल विवाद उब्जेको थियो। पगलानन्द बाबाको एउटै टिप्पणी हुन्थ्यो, ‘ए मुर्खहरु, जोगीलाई जलाइदिन्छौ?’
अन्त्यमा सम्झौता निस्कियो! बाबाको चाहनाअनुसार उनको पार्थिव शरीर जलाउने, अनि अस्तु र राखलाई समाधिस्थ गर्ने।
पगलानन्द बाबा इच्छा र चाहनाभन्दा माथि या मुक्त थिए। मंगलबार ब्रम्हमुहुर्तमा आफ्नो इच्छाको समय र मृत्यु रोजे। अनि साधु परम्पराअनुसार मृत्युपछिको विधि अरुले गरिदिए।
उनका बारे अनेक व्यक्तिका आआफ्ना मान्यता र सम्झना छन्। झन्डै १५ महिनाअघि मेरो आमालाई घाटमा राखेको बेला बागमती पुलमा जम्काभेट भयो उनीसँग।
‘ए तेरो आमा मर्‍यो?’ उनले हिन्दी टोनमा सोधे। सामान्य अवस्थामा त्यस्तो भाषा र टोन रिस उठ्दो नै हुन्छ तर जीवन र मृत्युको सत्यसँग साक्षात्कार गरेको व्यक्तिको सन्देश दिने शैली पनि त आफ्नै हुन्छ नि। अनि मुस्काउँदै भने, ‘बेला भयो, जान्छ अब।’
त्यसबेला आमाको जीवनलीला १२ घन्टामात्र बाँकी रहेछ।
पगलानन्द बाबाकहाँ आउने हरेक महिलालाई उनी ‘आमा’ या ‘छोरी’ भनेर सम्बोधन गर्थे। पशुपति राम मन्दिरको पगलानन्द बाबाको आश्रममा सधैं भिड हुन्थ्यो। दैनिक भण्डारा चल्थ्यो। पशुपतिका मानवरुप पनि भन्थे कतिपयले पगलाबाबालाई।
त्यो उनलाई नजिकबाट देख्ने, चिन्नेहरु र माया गर्नेहरुको मान्यता थियो। उनी अक्सर बनारसका महान अघोर सन्त भगवान रामले आफ्नो सम्प्रदायको इज्जत धेरै माथि पुर्‍याएको भन्ने गर्थे। ‘हर मे हरिको देख’ या ‘सबैमा ईश्वर देख्ने गर’ भन्ने उनको व्यवहारबाट देखिन्थ्यो।
पगलाबाबामा त्यही सिद्धि, त्यही महानता थियो।
अध्यात्मजगतका एक महान फकीरको निधनमा श्रद्धाञ्जली!

ऐतिहासिक धरोहर रानीघाट र उत्तरबाहिनी गङ्गा

397511932_0580d0ab8b
पाल्पामा रहेको रानीघाट दरवार ।
पाल्पाको आफ्नै गौरवपूर्ण इतिहास छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका स्थलहरूले समेत यसको गौरववृद्धि गरेका छन्। त्यसकुराको अनुभव आजको पुस्ताले पनि गरेको छ। त्यसैले उसले इतिहासको चर्चा गर्ने गरेको छ तर इतिहास जपेर आनन्द लिने विषय होइन। यो त निरन्तर साधना गर्ने, लेख्‍ने, खोज्ने र अध्ययन गर्ने विषय हो। त्यसैले धर्म र संस्कृतिका चर्चाले मात्र आजको मान्छेलाई सन्तुष्टि मिल्दैन बरू उसले पुराना कुराको खोज गर्न, त्यसबाट गौरववोध गर्न र उत्प्रेरित भएर अघि बढ्न चाहन्छ। ऐतिहासिक तथ्यलाई वुझेर नयाँ जीवन दर्शनसित अघि बढ्ने सोचको विकास गर्न चाहन्छ।
397507920_5f3ca37567
रानीघाटमा रहेको पुरानो वजार जुन आजकल सुनसान प्राय रहन्छ ।
हरेक युगको गाथाले पछि आउने पुस्तालाई नयाँ कुराको सन्देश र संङ्केत दिनै पर्छ र दिन्छन् पनि, तर त्यसलाई वुझ्ने र ग्रहण गर्ने क्षमता सबैमा नहुने भएकाले त्यसलाई वुझ्न र ग्रहण गर्न सबैले सक्दैनन्। प्रताप शमशेरद्वारा निर्मित तानसेनको दरबार होस् अथवा जुद्ध शमशेरद्वारा निर्मित मस्यामको दरबार होस् तिनको कथा उस्तै हुन्छ। चाहे जुद्ध शमशेरद्वारा निर्मित अर्गलीको दरवार होस् चाहे खड्ग शमशेरद्वारा निर्मित रानीघाटको दरवार होस् अथवा साहेबजीहरूको नील दरवार होस् वा अन्य कुनै पनि दरवार हुन्। तिनले पनि तत्कालीन समाजको ऐतिहासिक तथ्यबारे केही न केही बोल्नैपर्छ र बोल्ने गरेका छन्। इतिहासका विद्यार्थीहरू त्यही आवाजलाई सुन्ने, पढ्ने र बुझ्ने प्रयासमा लागेका हुन्छन्।
397492352_725c6f965a
काली नदीले छुट्याएको स्यागंजा र पाल्पा तथा दुइ जिल्लालाई जोड्ने पुल ।
Continue reading

लाइफका प्रसेन्टेजहरु…

अर्चना
५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..

१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका। २०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने । 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो। साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।

त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो । आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ। १०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।

बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ ।