कलकत्ताको लाहुरे …२

हवाडाको पुल छैवैमा रहेको रेल्वे स्टेशनमा ओर्लिदा भोलीपल्ट विहान भइसकेको थियो । रातभरको रेलको पहिलो र नौलो यात्रा, थकित शरिर र निरन्तर वेन्चवाट झुन्ड्याइएकोले शुन्नीएका भारी खुट्टा लिएर ओर्लीदा मन पनि त्यसै त्यसै भारी भएको थियो । ठांउ नौलो भएपनि उमंग थिएन । आमाको, घरको र गांउको याद आइ रहेको थियो ।
घरको झ्यालवाट हाम्फालेर हिडेको जोश विस्तारै हराउदै थियो । झोला थिएन यद्यपि शरिर भारी भैरहेको थियो । नजिकै अनुपम हवाडाको पुल भएपनि कुनै रोमान्चकता थिएन । रेल्वे स्टेशनवाट वाहिरदै गर्दा भिडभाड युक्त सवारी देखेपछि मनमा त्राशले वास गर्यो । जीवनमा एकैपटक यति धेरै सवारी साधन पहिलोपटक देख्दा म त्रशीत थिए ।
शालिकराम दाई त परिचित थिए । फ्याटटै सडक पार गरे, राना दुर्गाले पनि शालिकराम दाईको पछि लागेर सडक पार गरीहाल्यो । म तन्द्रा र रातभरको रेलको आवाजवाट भर्खर त्रगींएको कलिलो ठिटो सडकको वारी नै रहे । साथीहरु पारी पुगे आफु वल्लो छेउमा छु । जोशीएर जांउ सवारी साधन वग्रेल्ती छन । के गरौ र कसौ गरौका बीचमा साथीहरुले निरन्तर वोलाइ राखे । आफुलाई सडक पार गर्ने आंट छैन । विलखवन्दका बीच शालिकराम दाइले हात समाएर तार्नुभयो । यसरी पहिलो यात्रा नै हात समातेर तार्नु परेपछि मेरो वांकी दिन कस्ता होलान म चिन्तीत थिए ।
कस्तो होला कलकत्ता, कस्ती होली म्यानेजरकी छोरी, कस्तो होला दही र कुराउनी मनमा झिनो उमंग मात्र थियो । त्यो भन्दा हैरानी थियो कलकत्ताको प्रचन्ड गर्मीको । पसिना चुहाउदै केही व्यस्त सडक पार गरेपछि हामी पुग्यौ सडक छेउको एउटा साधारण रेष्टुरेन्टमा । आकारमा सानो भएपनि मानिसको भिडकाबीच दुर्गा, शालिकराम दाई र म पनि यौटा टेवलमा वसेर अर्डर दियौ ।
मानिसका लवज र वोली मैले फिलिममा देखेको मिथुन चक्रवर्ती वा अजय देगवनका जस्तो थिएनन । शन्तोष चलचित्र मन्दिर पाल्पामा हेरेका केही हिन्दी फिल्मको टुटेफुटे लवजमा हिन्दी त वोली हाल्छु भन्ने मेरो अनुमान क्रमश धराशायी हुदै थियो । कलकत्ताको लवज र वोलीचाली जीवनमै पहिलोपल्ट सुनेकाले होला म विलखवन्दमा थिए । यंहाको वंगाली भाषा र धोन्योवादको लवज मेरा लागि नौलो थियो ।
सडक छेउको सानो झुपडीवाला पसलमा पुरी र तरकारी खाएपछि हामी लाग्यौ शालिकराम दाइको कारखाना तिर । रातो रंगका पश्चिम वंगाल सरकारले चलाएका वस चढेर हामी लाग्यौ हवाडावाट टाढा रहेको वेलगाछी तर्फ । वनारश रोड हुदै अगाडी वढेको हाम्रो यात्रा मूख्य सडकमा गएर रोकियो । सडकको प्रचन्ड गर्मीमा हामी हातैले तान्ने रिक्सा चढेर लाग्यौ एम के आइरन एन्ड स्टिल वक्र्स वेलगाछी ।
गन्तव्य जादैगर्दा पुराना घर, यत्रतत्र छरिएका फोहोर, भुइभरी कालै रंग र छरिएका कोइलाले शहरको शुन्दरता पटक्कै दिएका थिएनन र दिउन पनि कसरी । करिव २० मिनेटको रिक्सा यात्रापछि पुगियो पुरानो सडकमा । जीर्ण र पुरानो सडकमा कोइला यात्र तत्र छरिएको, कालो धुलो र पुराना संरचनाले मन खिन्न वनाएको थियो । त्यहा शहरको रोमान्चकता र शुन्दरता रत्तिभरपनि थिएन । हामी एम के आइरन कम्पनीको गेट छिचोलेर भित्र पस्यौ ।
मोटो विडवाला चस्मा लगाएका र उमेर छिप्पीएका एकजना मानिसले नेपाली लवजमै सोधे आउनु भो शालिकराम जी? नौला केटा देखेर होला म र दुर्गालाई एक टकले हेर्दै वुढाले भने ए तिमेरु लाउरे हुन आको कलकत्ता । हामी दुवैले आज्ञाकारी छात्रजस्तो टाउको हल्लायौ मात्र । कोइला र फलाम यत्रतत्र छरिएको कारखानामा उधुम गर्मी थियो । पुराना लाग्ने एकतले र माटाको टायलले छाएका घर रहेछ शालिकराम दाईको क्वाटर ।
गांउमा आउदा रवाफिला देखिने शालिकराम दाईको क्वाटर भने त्यस अनुसारको नदेख्दा खिन्न लागेको थियो । कोइलामा हिरा खोज्न हिडेको म भने दही र कुराउनी, म्यानेजर र उसकी छोरीको कौतुहलतामा थिए । गएको दिन आराम गरेर विताइयो । तिनै गेट खोल्ने मोटो विडवाला चस्मा लगाउने नेपाली वाजेले वन्दाको झोल र आलु चोखासंग कलकत्ते रोटी खिलाए सांझमा । भात खाने वानी लागेको म भने रोटीवाट शन्तुष्ट हुन सकिन । फेरी घरको र आमाको यादले सतायो । तातो झोल भात, मनतातो दुध र आमाको न्यानो धरै पटक मिस भयो ।
भोलीपल्ट दुर्गा फुपुको तिर गयो दमदम एयरपोर्ट नजिक । शालिकराम दाई काममा व्यस्त हुनुभयो म भने भान्साको म्यानेजर वने २ जना शालिकराम दाई र मरोे । कान्छो छोरो भएर घरमा पुल्पुलिएकोले पाककला मेरो वसमा थिएन । त्यसैले आफैले वनाएको भोजन आफ्ना लागि अप्रिय हुदै थियो । कलकत्ताको गर्मी, आलु चोखा र वन्दाको झोलसंग पानी तारेको मोटा चामलको भात । दिनहरु झन पछि झन कठिन हुने वाला थिए ।
पर्सी पल्ट शालिकराम दाईले एम के आइरनको अफिसमा लानुभयो । कारखानासंगै जोडिएको गेटनेरैको अली सफा भवन रहेछ अफिस । अफिसमा ठुलो चस्मा लगाएको र अलीसान भुडी भएको गोरो गोरो मान्छे पंखा हम्किीदै वसेको थियो । देख्दै डरलाग्ने काया भएको यो विशाल प्राणी मानिस नै भएपनि मेरालागि डरलाग्दो थियो । केही समय वंगालीमा कुरा गरेपछि शालिकराम दाईले मलाई चिनाउनु भयो । अफिसको म्यानेजर त उही अलीसान पो रहेछ ।
म्यानेजर हो भनेपछि उसकी छोरीको अनेक किस्सा सुनेको मेरा लागि उ अव प्रिय र परिचित लाग्ने वाला थियो ।
केही दिनको वसाईपछि शालिकराम दाईले कुरा मिलाउनु भयो र म उमेर नपुगेपनि अफिसको सामान्य कर्मचारीको रुपमा मौखिक नियुक्तीमा जागिरे भए । मोटो म्यानेजरले मेरालागि जागिरको राम्रै कृपा गर्यो । कार्यालयमा के काम होस मेरा लागि । न शिप न ढंग, न क्षमता न तरिका । यद्यपि येन केन अफिस चलेकै थियो । सामान्य रेकर्ड राख्ने । म्यानेजरलाई सहयोग गर्ने आदि काम चलेकै थियो ।
कहिले कांही कारखानाका संचालक पनि आउथे । उनको नाम थियो मुनिर कान्ति पाल । उनकै नमवाट कारखानाको नाम राखिएको थियो एम के आइरन एन्ड स्टिल वक्र्स । कम वोल्ने संचालक मिलेको शरिर भएका फिट फाइन देखिन्थे । तैपनि मेरालागि मोटो कायावाला म्यानेजर नै प्रिय थियो ।
कलकत्ताको वसाईका क्रममा मिठो दही र जेरीको स्वाद पनि पटक पटक पाइयो तर म्यानेजरकी छोरीको दर्शन भने पाइएन । त चिता म पुर्याउछु भने जस्तो त्यो रमाइलो दिन भने आएरै छोड्यो । म्यानेजरका प्रिय शालिकराम दाईलाई पहला वैशाखका दिन काली माताको दर्शनमा म्यानेजरले निम्त्याए । म कलिलो ठिटोलाई एक्लै छोडेर शालिकराम दाई जाने कुरा भएन त्यसैले ननिम्त्याइएको पाहुनाका रुपमा म पनि टिममा शहभागी भए । २०५१ शालको वैशाख १ गते म पनि पहला वैशाख टोलीमा सहभागी भए । विहानै नुहाइ धुवाई सकेसम्म चिटिक्क परेर म पनि तयार भए । पुरानो जिप स्टाइलको गाडी गेटमा आएर घच्याक्क रोकियो । शालिक राम दाई र मपनि जिपमा चढ्यौ । जिपमा मेरा पसन्त म्यानेजरका अलावा त्यस्तै काया भएकी महिला र छरीतो शरिर र मेरै उमेरकी केटी थिइन । मोटी महिला म्यानेजरकी श्रीमती र छरितो शरिरकी केटी म्यानेजरकी छोरी हुन भनेर मैले लख काटी हाले ।
न भाषा, न भेष हामी बीच कुराकानी हुने कुरा भएन । त्यसमाथि हामी अफिसका सामान्य कर्मचारी वुढा परे म्यानेजर । तै पनि शालिकराम दाई गफ गर्दै जानुभयो उंहाले नै मलाई म्यानेजरकी श्रीमती लाई नोमोस्कार गर्न लगाउनु भयो । छोरी लाई चिनाइदिनु भयो । मलाई हेरेर छोरी मुस्कुराइ म भने लजाए । वेलगाछीया वाट काली मन्दिरसम्मको लामो यात्रामा मैले अनेक पटक जुल्क्याएपनि म्यानेजरकी छोरी भने झ्यालवाट वाहिर जुल्क्याउनमा नै व्यस्त भई ।
कालीमाताको मन्दिरमा पुगेर गाडी रोकियो । म्यानेजर, उनकी श्रीमती र शालिकराम दाई पुजाको लागि मन्दिर भीत्र जानुभयो । वाहिर कुर्नेमा पर्यौ म्यानेजरकी छोरी र म । उसैले सोधी मेरो नाम े? म उसको वंगाली सोधाइवाट अलमलिएको देखेपछि उसैले अंग्रेजीमा सोधी मेरो नाम । मैले आफ्नो नाम वताए र उसको सोधे । उसको नाम रहेछ दिया मुखर्जी । यसरी कालीमाताको मन्दिर परिशरमा हाम्रो परिचय शुरु भयो ।
उसको अंग्रेजी राम्रो थियो । नरोकिई वोल्थी । म भने कनी कुथी वोल्नु पर्ने । मेरो हविगत देखेर होला उसैले अफर गरी म तिमीलाई राम्रो संग अंग्रेजी वोल्न सिकाइ दिउला । उसका अफरले अव हाम्रो सम्वन्ध झांगिने वाला थियो । हाम्रा कुराकानीका बीच शालिकराम दाईहरु आउनु भयो ।
ज्योती वसुले लामो शासन गरेको पश्चिम वंगालमा त्यो समयमा वहुराष्ट्रिय उत्पादनहरु पहला वैशाखवाट मात्र विक्रि गर्न पाइने प्रचलन रहेछ । हामी पनि म्यानेजरको अफरमा नजिकैको रेष्टुरामा गयौ मिठाई खान । टेवल शेयरींगका क्रममा दिया र म भने आमने सामनेको वेन्चमा पर्यौ । मिठाई भन्दा पहिला हामी सवैको टेवलमा आयो कोकाकोला । गांउमा दही, मही र शर्वत मात्रै जानेका मेरो लागि यो नौलो पेय पदार्थ विचित्रको थियो । वोतलवाटै घुट्क्याउनुपर्ने । वोतलै असिना जस्तो चिसो । कसरी खाने होला विलखवन्दमा परेका वेला दिया भने घुटघुटी पिउदै थिई वोतलवाट । म भने जति पटक मुखमा लान्छु । त्यतिपल्ट नाकमा ग्यास आईहाल्छ हुस्स ।
कोकाकोला मेरालागि ठुलै समस्या वनेर देखापर्यो । केही घुट्का त खाए तर अव भने मुखमा ग्यास भरिएर खानै मुस्कील पर्दै गयो । मेरो हवीगत देखेपछि दिया मात्र होइन म्यानेजर र म्यानेजरकी श्रीमती पनि हास्न थाले । यसरी जीवनकै पहिलो कोकाकोला शेवन मेरालागि कठिन भयो । जुन वोतल मैले सिध्याउन पनि सकिन ।
पहला वैशाखको काली मन्दिर दर्शन पछि हामी वेलगाछीया आयौ । पहला वैशाख पश्चिम वंगालमा धुमधाम साथ मनाइदो रहेछ । एमके आइरनमा पनि मिठाई, खानाका परिकार र कोकाकोलाको राम्रै व्यवस्था भयो । गुलीया मिठाइ मेरा आकर्षणका विषय भएपनि कोकाकोला त्यहाको वसाई भरी मेरो प्रिय रहेन ।
एवं रितले चलेका दिनमा दियासंगका एकाध भेट वाहेक खासै सम्पर्क हुन पनि सकेन । झन्डै ४ महिनाको कलकत्ता वसाईपछि एसएलसीको रिजल्ट पनि आयो । आइए पढ्न पाल्पा वस्नुभएका दाइवाट खवर पनि आयो र म पनि केही महिनाको लाहुरे जीवनवाट घर फर्किए । न कलकत्ताको उत्साह रह्यो न म्यानेजरकी छोरीसंगको सामिप्यता रह्यो ।
खाली मिठो कल्पना तितो यथार्थमा परिणत भयो । मौले शालिकराम दाई अहिलेपनि कलकत्तामा हुनुहुन्छ । उंहाको लगन, मेहनत र परिश्रम देख्दा गजव लाग्छ । बस मेरो स्मृतिमा म्यानेजरकी छोरी नरहेपनि लाहुरे जीवन र कलकत्ता भने संझनामा आइरहन्छ ।

One thought on “कलकत्ताको लाहुरे …२

  1. There was a smile in myface while reading ……
    because i was also thinking about your past and the present condition…..
    be carefull maiju le padhera sodhnu hola ko ho tyo diya mukherjee bhanni………….
    lot of love and keep writting …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *