“असारै महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी वुझाउने
भन्थिन है मैच्यागंले रुदै वरर
नौ डांडा पारी छ कम्पनी शहर”
छुजागं डुक्पाको ओरिजीनल स्वर वजिरहेको छ ।
मीनभनको व्यस्त सडक देखिने मेरो झ्यालको पर्दामा सूस्तरी हावाले पर्दा ओल्टाइ पल्टाइ गरेको छ ।
झरीले होला सरोकारवाला नआइदिदा म नोष्टाल्जिक हुने मौका पाएको छु । हो यस्तै झरी पर्दा भयरथान तिरवाट कुलुकुल गर्दै भल वग्दै झरेको हेरेर म कलिलो वालकले मौलाको घरवाट शुदुर भविष्य केलाउथे । मकैका पात एकतमासले झरीको आवाजसंगै सुसाउदा म प्रकृतिसंगको सामाप्यिताले रोमान्टिक वन्थे ।
हो यस्तै झरीमा बाले कुलो काट्नुहुन्थ्यो र आमाले धानको विउ काढ्नुहुन्थ्यो । वासडांडे आवै, मौले रोमकुमारी भाउजु र कइन्डाडा सेती दिदीहरु छुपु छुपु धान रोप्न आउनुहुन्थ्यो । कामीगांउ देखि झरेको भल संग्रह भएको फेदी खन्डको पोखरो खुल्थ्यो र रोपाइले गति लिन्थ्यो । हर्मीचौरै दाईले आह आह गर्दै गोरु खेद्नु हुन्थ्यो । मौले ठुल्दाई वाक्लो ओठ माथीको मुस्कान च्याप्दै हाम्रो तिर झर्नुहुन्थ्यो । मरेग्दांमा यतिवटा गरा रोपे अरे भन्ने अरेका भनाई बीच हामीपनि रोपाइको कम्पिटिसनमा ओर्लन्थ्यौ ।
मैले नाम लिएका र मेरो अतितलाई, मेरो स्मृतिलाई ताजगी दिने धेरै पात्रहरु यस लोकमा हुनुहुन्न । बा जानुभएको पनि केही दशक भयो । मौले ठूल्दाई, हर्मीचौरे दाई यस धर्तीमा हुनुहुन्न । मौले रोमकुमारी भाउजु मधेश झरेको पनि वर्षाै भयो । यद्यपि हर झरीमा मेरा स्मृतिमा कामी गांउको भल, डिठ्ठाको फेदीखन्डको पोखरो, झरीका बीच भन्जिगंतिरवाट घासको भारी लिएर सुसेल्दै आउने शुरेश, कटहर पाके नपाकेको चियो गर्ने डिठ्ठा माधव आइरहन्छन ।
यो कंक्रिटको जंगलमा यति जकडिएको छ की अव यसको फन्दावाट फुत्कीन मलाई मुस्किल हुदै गएको छ । केही सुविधाहरु थपिए होलान तर जीवनको आनन्द त्यही वालापनमा छ । जंहा मेरो वालसखा रानाको सानु, वेके, सुरेश र पन्डित माइलाहरु छन । त्यहा पोखरो, मौलेका लिची र पन्डितका आंप छन ।
सुपारी आप, सचिवको चर्के आंप, लाहुरे बाको गरमे आंप मात्र होइन भन्जिगंतिरका लर्के आप र कटहरु पाक्ने यो झरीको सिजनमा म वतास झै वत्तिएका यी वेलगाम सवारी साधन हेरेर दिक्क भएको छु । म मात्रै होइन गांउमा वालापन विताउने सवैमा यस्तै भावना दगुर्छन । क्वालालम्पुरमा भेट भएको श्रीधर भन्छ के गर्नु काका विदेशको जीवन सहज भएपनि मनले मान्दैन । मन त गांउमै छ हर घडी । भाग्य अजमाउन जापान पुगेको गोविन्द फोनको अर्को टुंगोमा सुसाउछ ख्वै अंकल दशैमा त आउन पाइन्न होला ।
स्याल धपाउने देखि दुम्सी मार्ने सम्मका उपक्रममा गहिरामा म सैगै हुने शुरेश वतास एसोसियट्सको कामवाट थकित भएर फर्किदा पनि तिनै उमाकोटे आवै, तिनै शालिकराम जीवा र तिनै मलेइ आवैका विशेषता केलाइरहन्छन ।
यता मेरो कम्प्युटरमा स्वर्गीय शुनिल वर्देवा सुसाइरहेका छन…
“कोइ फर्काइदेउ त्यो मेरो वालापन
कोही फर्काइदेउ अतितका ती मिठा पल…”