हिउदको रुखमा एक जोडी चरा । (तस्विर: खेमराज गांउले/रोल्पा)
“उडी जांउ भने म पन्छी होइन
वस्नु ए लै मन छैन …
खसमको मोहनी लागेर हो की
होस मेरो ए लै यंहा छैन ….”
तारा देवीको पुरानो स्वर काखे कम्प्युटरवाट एकनास गुंजिरहेको छ । अमर आवाजले मलाई पनि नोष्टाल्जिक वनाइरहेको छ । गुलजार गांउको कल्पनामा डुव्ने म यतिवेला अरु अनेक पुराना स्मृतिमा वल्झेको छु । घरी घरी रोल्पामा पत्रकारिता कर्ममा लागेका फेसवुके मित्र खेमराज गांउलेको प्रोफाइल चियो गर्छु । रोल्पामा खिचेका गांउलेका तस्विरले मलाई तान्छन । सायद जो जंहा भएपनि कथा व्यथा एउटै भएर हुनसक्छ ।
चिसोले हार्दै र न्यानोले वाजी मार्दै गएको काठमाण्डौको शुक्रवार शानदार छ । आउदै गरेको प्रेमील दिवसले तरुनी तन्नेरीहरुलाई वहाना दिएको छ । नगरकोट, शिवपुरी या ककनी यात्राका लागि । धुलाम्मे काठमाण्डौवाट जोगिने मिठो वहाना हो यो पनि ।
म भने यता वाली लगाएर स्याहार्ने वेला नभएको किसान जस्तो फुर्सदिलो वनेर एक तमास गीतहरु वदली रहेको छु । काखे कम्प्युटरमा पुरानै लयमा दिलमाया खाती अलापी रहेकी छिन
“साउन फर्की फेरी झर्यो
माया लगाई निष्ठुरी फर्केन
चुराई लग्यो यो मन मेरो
जेडी दिने त्यो पापी आएन…”
परिक्षाहरु जारी रहेकाले विहान वेलुकाका कक्षाहरुको चाप घटेको छ । कसैले संझीए र मन लागे गयो नलागे पुराना फिल्म या गीतहरु युट्युव सर्च गर्यो वस काम पुगेकै छ । कसैले खवरकालागि केही सोधे वतायो नभए खोजी नीति नगरो वस । चलेकै छ जिन्दगानी ।
नवाजुद्दीन सिद्धीकी या इरफान खानका कुनै कलात्मक फिल्म आयो भने रस लाग्छ । अरु प्रति त्यति चासो पनि छैन । वायोमा पहाडको आकर्षणको विषय राखेपनि यी तमाम आकांक्षाहरु अधुरा हुन लागेका छन ।
वस गीत संगीत छ ।
“मेरो गीत मेरै प्रतिविम्व होइन
त्यो टुटी जाने होइन
त्यो फुटी जाने होइन….
आकाश जस्तो अमर गीत मेरो
म जस्तो दूइ दिनको पाहुना होइन…”
नारायण गोलाप अलाप लिइरहेका छन र म प्रेमील दिनहरु स्मृतिको अन्तरमा केलाउर्दै छु ।