यतिवेला बा हुनुहुन्न । बा का संझनाहरु जीवन्त छन । हुनत निश्चित तिथी मीति तोकेर मनाइने श्राद्ध, दशै या तिहार वाहेकका चाडहरु मेरो रुचीका विषय होइनन । यद्यपि आजको प्रवित्र भाद्र कृष्ण (कुशै) औशीमा पीता या पीतृहरुको संझना गर्नु हरेक पुत्रको कर्तव्य हो ।
२०५३ सालको पौष २३ गते शुक्लपक्ष प्रतिपदाका दिन मैले आफ्ना पुज्य बा लाई गुमाए । ७३ वर्षको उमेरमा बा जानुभयो । उमेर ठिकै भएपनि अनेक रोगले च्याप्दै लगेपछि उहांलाई बचाउन सकिएन । मिसन हस्पिटल तानसेन पाल्पामा केही समय उपचारपछि पाटन हस्पिटल काठमाण्डौमा उंहाको अप्रेशन भयो । केही समयकोलागि ठिक भएपनि निरन्तरको दमले उंहालाई गलायो । भर्खर प्रवेशिका सकेर तानसेनमा आइए पढ्दै गरेको म अन्तिम अवस्थासम्म बा कै समिपमा थिए ।
अनेक रोगले गलित बा पछिल्लो समय कमजोर देखिनु भएको थियो । २०५३ पौष २३ गते प्रतिपदाका दिन विहानै उंहाले संसार छोड्नु भयो । जीवनभर ननुहाई केही नखाने र शौच गर्दा लुगा फेर्ने बा को नियमित अभ्यास थियो । बा पौष २३ गते विहानै एक घुट्की पानी खाएर जानुभयो ।
आखिर प्रकृतिको नियम नै हो जन्मे पछि मृत्यु अवस्यंभावी छ । कसैको छिटो त कसैको ढिलो मृत्यु भएरै छाड्छ । यो शास्वत नियमलाई कसैले वदल्न सक्तैन ।
पहिलो दिन झन्डै ६ वर्ष पुगेको म फुच्चेलाई बा ले जनता प्रा.वी कट्टीमा लगेर भर्ना गर्दिनु भएको थियो । भर्ना हुने वित्तीकै केही किताव पाएर म मख्ख थिए । घास काटेर फर्किदा आमालाई मैले कम उत्साहले ति किताव देखाएको थिइन । त्यसपछिका मेरा स्कुले जीवनमा अक्षर कोर्न सिकाउने मेरा बा नै हुनुहुन्थ्यो । स्वअध्ययन गरेका बा का अक्षर एकदमै राम्रा थिए । उंहाले कैले कांही ढुंगाले लेखेर पाटीमा केही चित्र पनि कोर्नु हुन्थ्यो । गांउभरीका तमसुक, राजीनामा, वडा मुचुल्का जस्ता लिखत उंहाले नै तयार गर्नु हुन्थ्यो । मलाइ लाग्छ बा लाई कलामा पनि राम्रो रुची थियो ।
हुनत बाले कुनै समय वेलायती सेनामा वसेर काम पनि गर्नु भयो । घास काट्न हिडेका केही ठिटाहरु दोश्रो विश्वयुद्ध ताका सवैलाई व्रिटिशहरुले भर्ति लिने थाहा पाएपछि नाम्लो र हसिया कतै फालेर भर्ति हुन गए । त्यसमा मेरा बा पनि हुनुहुन्थ्यो । यसरी जानेमा बा का अलावा मरेंङदी गणेश प्रसाद, मौले कान्छा वा, कामीडाडे काहिंला वा, चिफल्डाडे साहिला लगायत भएको बा ले पछिसम्म सुनाउनु हुन्थ्यो । ब्राम्हणहरुलाई भर्ति नलिने भएपछि बाले पनि थर वदलेर नरिश्वर पान्डेको सट्टा नरबहादुर खत्री भएर भर्ती हुनु भएको थियो । यसरी बेलायति सेनामा भर्ति भएर जापानी सेना विरुद्ध मलाया (हालको मलेशिया)मा गएर लडेको कंहानी बा ले पछिसम्म सुनाउनु हुन्थ्यो । यही लंडाइमा मौले कान्छा वा ( मौले भुवनका वा) लाई छातिमा गोली लाग्यो । तर संयोगले उंहा वाच्नुभयो र पुरा पेन्सन पाउने गरी फिर्ता हुनु भयो ।
अन्य धेरै विचमै फर्किनु भयो । बा भने लडाइ सकिएको केही समयपछि उंहाको रेजिमेन्ट खारेज भएकाले नाम कटाएर फिर्ता हुनुभयो । नाम कटाएर फर्किएपनि वेलायत सरकारले दिएको वेल्फेयर पेन्सन आज पर्यन्त हाम्रो पारिवारिक आम्दानीको श्रोत वनेको छ । ह्यान्डराइटिगं राम्रो भएको र सुनेको कुरालाई तत्कालै कपीमा उतार्न सक्ने भएकाले तत्कालिन संचार माध्यम आकाशवाणीको रेकर्ड उतार्ने काममा पनि केही समय उंहाले काम गर्नु भएको थियो ।
लाहुरे वनेर फर्केपछिको समय बाले संस्कृतको स्व-अध्ययनमा विताउनु भयो । शिखरनाथ भाष्य, कौमुदी, श्रीमद्भागवत महापुराण, वेद, चन्डी, गीता लगायतका अनेक पुस्तकहरु हाम्रो घरमा सुरक्षीत थिए । हिमलाल बा संग मिलेर शिखरनाथ भाष्यको नेपाली अनुवाद निकाल्ने उंहाहरुको अभियान भने पुरा हुन पाएन । केही समय संगै वसेर खुव मेहनतका साथ अनुवादमा उंहाहरु जुट्नु भयो । खै के कारणले हो यो काम भने पुरा हुन पाएन । अहिलेपनि हिमलाल बाले उंहाहरु दुइ जनाले अनुवाद गरेको कपी सुरक्षीत छ भन्नु हुन्छ ।
अली ढिलो स्वभाव भएपनि काम राम्रो संग सम्पन्न गर्ने स्वभावका बाले हाम्रो पढाइलाई खुव जोड दिनुहुन्थ्यो । परिवारमा अलि राम्रो पढ्ने र सधै फस्ट हुने दिदी, ठिकै पढेपनि राम्रै नंवर आउने दाई र कम पढ्ने कम जान्ने मेरो स्वभावको बाले तुलना गर्नु हुन्थ्यो । मेरो पढाइ देखेर बार-बार चिन्तित हुने बालाई मैले पछिल्लो समय पढाईमा राम्रै गरेको देखाउन नपाएकोमा ठूलो पछुतो लाग्छ ।
बालाई ज्योतिष शास्त्रमा पनि थोर वहुत ज्ञान थियो । अव यसपल्टको शनीश्चरको दशाले मलाई छोड्छ जस्तो लाग्दैन भन्दा भन्दै बा त्यही समयमा जानुभयो ।
हुनत अहिले बा का समकालिनहरु धेरै जना यस धर्तिमा हुनुहुन्न । अहिले कामीडाडो काहिला बा पनि गत महिना स्वर्गे हुनुभयो । हिमलाल बा भने सक्रिय जीवनमै हुनुहुन्छ । मौले हजुरबा वितेको केही वर्ष भइसक्यो । शालिकराम बा कैनडांडा, पन्डित मोहनीलाल, खराल मोहनीलाल, चन्द्रकान्त बा, मौले ग्वाइला बा लगायतका धेरै बाहरु दिवंगत भइसक्नु भएको छ । लाग्छ उंहाहरु (पीतृ)कै आशिर्वादले हामी जेनतेन चलिरहेका छौ ।
आज कुशे औशी अर्थात वावुको मुख हेर्ने दिन कलिलै दिनमा बालाई गुमाएको म, मेरा बा र तमाम पीतृहरु संझिरहेको छु ।
mama yo padher ma feri ek chati birgha pugeko ani hajur sanga bitako tyo raat ma puge ani hajur amma ko tyo hasilo anuhar lai samjhen…………… thanks a lot for this ………………..
Bhim Prasad Nyopane Bhanja I’m little bit confused. plz give me more details.
mama no problem , i will tell you you can ask with hajurama she has one daughter in lucknow i am the son of that daughter.