स्मृतिका शिवरात्रीहर

स्मृतिवाट इतिहासलाई नियाल्नुको मजा नै वेग्लै हुन्छ । त्यसका लागि उपयुक्त वातावरण र यथेस्ट समय भने चाहिन्छ । समयको नियतिले जसलाई जंहा पुर्याएपनि सवैका लागि विगत मिठो हुन्छ । कसैले व्यक्त गर्ला त कसैले मनमै सांची रहला ।
प्रिय पर्वहरुमध्ये शिवरात्री मेरा लागि एक हो । शिवरात्रीमा भांग, धतुरो र नशा जन्य पदार्थ लिनै पर्छ भन्ने केही छैन । हिन्दु दर्शनका विभिन्न सम्प्रदाय मध्ये शैव सम्प्रदायका पनि खास गरी कालमुख र अघोरी सम्प्रदायका लागि यो विशेष पर्व वन्दछ । आराध्य देव पशुपतिको दर्शन आराधाना र जप, तप तथा भजन गरी मनाइने यो पर्वमा देश विदेशका अनेक भेष, भाषा र भंगीमाका साधुहरु भेट्ने अनुपम अवसर हो शिवरात्री ।
शिवरात्रीका संझनाहरु आउदा विश्वविद्यालय क्याम्पस कीर्तिपुर होस्टेलका रमाइला दिनहरु स्मृतिमा आइरहन्छन । कीर्तिपुर होस्टेल मानव निकुन्जको रुपमा रहेको थियो । २०६१÷६२ साल तिर स्नातकोत्तर पढाइका शिलशिलामा म पनि केही महिना होस्टेलको पांहुना भएको थिए ।
होस्टेलका जिग्रीहरु थिए पन्डीत उर्फ शुन्दर, वमे उर्फ अस्विन, चैट अर्थात हरि दाई,गुड्डू उर्फ सुर्जेमान, कवी उर्फ निर्मल, विमल दाई उर्फ वावुराम अर्याल,वड्डा उर्फ उत्तम पौडेल र मैनालीहरु । जिग्रीहरुको सल्लाह अनुसार टोली कहिले पुरानो वानेश्वरको डांडाको गुरुकुल त कहिले पशूपतीका श्लेश्मान्तक वन तिर विचरण गथ्र्यौ । उमेर थियो, आकांक्षा थियो, अवसर थियो र थियो ठुलो सपना ।
थिएन त केवल मनग्गे खर्च गर्ने क्षमता, होसियारी र औपचारिकता । यद्यपि ती दिन रमाइला थिए । आज भन्दा कति हो कति ज्यादा । कालो पदार्थ प्रतिको रुची र आकर्षणले आधां रात्री पनि साथीहरुले विउझाउथे । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन काल, होस्टेलमा वस्ने प्रतिको प्रहरीको हेराइ । यी सवै कारणले जोखिम पूर्ण भएपनि होस्टेलको वसाई रमाइलै थियो । होस्टेलमा वस्ने दौतरीहरुको प्रिय पर्व शिवरात्रीमा पशुपति पुगेर प्रसाद खानु, कीर्तिपुर फर्केर महिनावारी खाना खुवाउने होटलमा अविराम खाना खानु खुव रमाइलो हुन्थ्यो ।
हुनत मित्रहरुका प्रिय चिजहरु हेस्टेलको वरी परी नभएका होइनन । त्यही मेसोमा अर्को आर्कषणको पात्र आइपुग्यो व्रिजेश । दक्षीण अफ्रिकाको तातो हावा खाएर फर्केको व्रिजेशले हाम्रा अगाडी तिलस्मी कथा सुनाउन र उट्पट्यागं कर्म गर्न केही वांकी राखेन ।
व्रिजेश हुन्जेल विक्री भन्डारका धेरै कपहरु होस्टेल भित्रिए । अनेक किस्साको धनी व्रिजेशले उत्तम पौडेलको मन भने राम्रै जित्यो । केही सापटी समेत फुत्काएर अलप भएको व्रिजेश यो धर्तीमा रहे नरहेको केही खवर पाइएन ।
शिवरात्रीका सखाहरु अहिले देश विदेश अनेक ठांउमा रमाएका छन । पारिवारिक र व्यवहारिक जिम्मेवारीले भाइ साथीहरु संग भेट नभएपनि ति तमाम आकांक्षा वोकेका मित्रहरु जीवनका उकाली ओरालीमा कतै छन । कोही शिखरमा पुगेर थकाइ मार्दै होलान त कोही उकालो चढ्दै होलान । जंहा जसरी रहेपनि वारवार याद आइरहने मित्रहरुको संझना शिवरात्रीको मेसोमा झन गाढा वनेर आउछ ।