हरिशयनी एकादशी आज


आज आषाढ शुक्ल एकादशी । हरिशयनी एकादशी अर्थात तुलसीको विरुवा रोप्ने दिन ।आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हरिशयनी एकादशीका दिन आज हिन्दु धर्मावलम्बीहरुले आफ्नो घर आँगनमा रहेको तुलसीका मठमा तुलसीको बिरुवा रोप्ने प्रचलन छ । एक महिनाअघि विजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ ।
तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा पुजा गर्ने प्रचलन रहेको छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु९हरि० र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ । हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य मानिन्छ । जसका घर आँगनमा तुलसीको मठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास भइरहन्छ भन्ने जन विश्वास छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने जनविश्वास रहेको छ । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी ९हरिबोधनी० एकादशीका दिन जागा हुनुहुने मानिनछ । चतुर्मास अवधिमा श्रीविष्णु९हरि० भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *