को को हुदैछन स्याङ्जावाट उम्मेदवार ?

३ क्षेत्र रहेको स्याङ्जामा दोस्रो संविधासभाको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी मा उम्मेदवार कोबन्ने भन्नेमा रस्साकस्सी चलेको छ ।
संविधानसभाको पहिलो निर्वाचनमा क्षेत्र नं. १ मा एमाले उम्मेदवारसँग पराजय व्यहोरेको नेपाली काँग्रेसले जिल्लाका ३ वटै क्षेत्र आफ्नो पकडमा रहेको दाबी गरेको छ । भदौ २० सम्ममा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफरिसको तयारीमा रहेको काँग्रेस क्षेत्रिय प्रतिनिधिको भेला बोलाएर उम्मेदवार छनौट गर्ने तयारीमा रहेको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ ।
काँग्रेसका तर्फबाट क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ महासमिति सदस्य तथा युवा नेता राजु थापा, क्षेत्रिय सभापति तुलसीराम रेग्मी, तुलसी गिरी, जगतबन्धु अर्याल र महिला नेतृ हिरादेबी शर्मा र निर्मला लम्सालको नाम चर्चा र उनीहरु कार्यकर्ता तहमा लोकप्रिय मानिन्छन् । संगाठानिक तबरबाट तल्लो तहसम्म पुग्ने नेतृ शर्मालाई भए प्रत्यक्ष नभए समानुपातिक तर्फ एक नम्बरमा सिफारिस गर्न कार्यकर्ताले माग गरेका छन् ।
“जिल्लाका ३ क्षेत्र मध्ये २ र ३ काँग्रेसको पकड रहेको मानिन्छ ।” मुस्लिम संघका केन्द्रिय सचिव मुन्ना शेख भने, “तुलनात्मक रुपमा क्षेत्र नं. १ मा एमाले भन्दा काँग्रेस कमजोर मानिएको भएपनि पछिल्लो ३ वर्षेमा काँग्रेसले आफ्नो संगठनलाई मजबुद बनाएको छ ।” क्षेत्र १ बाट युवा नेता थापालाई उम्मेदवार बनाए १५ वर्षदेखिको एमालेको राज तोडिने शेखको बुझाई छ ।
क्षेत्र नं. २ मा काँग्रेसले पार्टीका केन्द्रिय सदस्यद्धय पूर्व सभाषद गोपालमान श्रेष्ठ र धनराज गुरुङ्, राष्ट्रिय सभाको पूर्वसदस्य तथा महासमिति सदस्य खगेन्द्रराज रेग्मी, सूर्यप्रसाद रेग्मी, भोजराज अर्याल र महिलामा सरस्वती तिवारीबीच रस्साकस्सी नै चलेको छ । केन्द्रिय सदस्य भएकाहरु समानुपातिकमा बसेर नयाँले मौका पाउनपर्ने कार्यकर्ताको माग छ ।

संविधानसभाको पहिलो निर्वाचनमा १ सय ४४ मतले एमाले उम्मेदवार पछि परेको क्षेत्र नं. ३ मा काँग्रेसका तर्फबाट पूर्वसभाषद मोहन पाण्डे, महासमिति सदस्य शिवकुमार गिरी, गजिन्द्रप्रकाश मल्ल, शंकरप्रसाद पाण्डे र भुमा पाण्डेको नाम चर्चामा रहेको छ । पार्टीका उपसभापति रामचन्द्र पौडेलका निकट मानिएका पूर्वसभाषद पाण्डेको तुलनामा गिरी र मल्ल कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् ।
उता नेकपा एमालेमा क्षेत्र नं. १ बाट एमालेका बरिष्ठ नेता केपी ओलीका विश्वास पात्र नारायण मरासिनीको नाम अग्रस्थानमा छ । एमाले स्रोतका अनुसार १ बाट पार्टीका जिल्ला उपाध्यक्ष मिनप्रसाद गुरुङ्, शिक्षक संगठनकी केन्द्रिय उपाध्यक्ष सिमा क्षेत्री, महिला नेतृ सिता सुन्दास मध्येबाट नाम सिफारिस गर्ने तयारी भएको छ ।
भदौ २५ सम्ममा दुबै तर्फको उम्मेदवारको नाम सिफारिस गर्ने तयारीमा रहेको एमालेले क्षेत्र नं. २ मा पार्टी अध्यक्ष पद्मा अर्याल, युवा नेता कृष्ण खाँण, पार्टीका पूर्व अध्यक्ष चक्रबहादुर पराजुलीको नाम अगाडी ल्याएको छ । क्षेत्र नं. ३ मा छोटो समयमै युवा वर्गमा लोकप्रिय नेता डा. बुद्धिमान श्रेष्ठ, पुन्यप्रसाद भुषाल, मुक्ति पाठक, छबिलाल विकको नाम सिफासिर गर्ने तयारीमा रहेको छ ।
उम्मेदवार छनौटमा अगाडी देखिएको एकीकृत नेकपा माओवादीले ३ वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिमा ५/५ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट प्रत्यक्षमा तमुवान राज्य समिति सदस्य शैलेन्द्र घिमिरे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, लक्ष्मी पौडेल, ख्यामनारायण ढकाल र हुमबहादुर कुमाललाई सिफारिस गरेको एमाओवादी कार्यालय सचिव शिव पराजुलीले जानकारी दिए ।
त्यसैगरि क्षेत्र नं. २ बाट प्रत्यक्षमा दिपा भुषाल, टिकाराम रेग्मी, ताराप्रसाद भुषाल, शिवप्रसाद कोईराला र प्रकाश न्यौपाने रहेका छन् । काठमाडौं वाईसियल ईन्चार्ज रहेका कोईराला ‘ज्वाला’ काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बन्ने सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । क्षेत्र नं. ३ बाट जगदीश गैह्रे, हरि भट्टराई, लोकेन्द्र थापा, नारायण अधिकारी र डम्मरदेब
अर्यालको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएकामा भुषालद्धय श्रीमान
श्रीमती हुन ।
ठूला तीन पार्टी एमाओवादी, काँग्रेस र एमाले मध्ये विगतका निर्वाचनमा देखिएको जनमतका आधारमा काँग्रेस र एमालेकाबीच प्रतिस्पार्ध हुने अनुमान गरिएको छ । राष्ट्रिय राजनीतिमा प्रमुख भूमिका रहेको एमाओवादी स्याङ्जामा सांगाठानिक रुपमा काँग्रेस र एमालेको तुलनामा निक्कै कमजोर मानिन्छ ।
“एमाओवादीले उम्मेदवार छनौटको प्रक्रिया सक्दा समेत मतदाता तहसम्म निर्वाचनको माहौलले छाएको छैन् ।” स्थानीय व्यवसायी परसुराम भण्डारीले भने, “जनमतमा अगाडी रहेका काँग्रेस र एमाले नतातेसम्म माहौल सृजना हुदैन् ।” काँग्रेस र एमालेले उम्मेदवार छनौट गरेपछि मात्रै मतदाता स्तरमा निर्वाचनको माहौलले छुने भण्डारीले बताए ।
एमालेका तर्फबाट पूर्वसभाषद भएका हितकाजी गुरुङ् अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टीबाट उम्मेदवार भएमा क्षेत्र नं. १ मा एमालेलाई झड्का लाग्ने अनुमान गरिएको छ । क्षेत्र १ मा तमुहरुको ठूलो मात्रामा बसोबास छ । तमुहरुको संख्या ठूलो भएकै कारण २०५६ र २०६४ को निर्वाचनमा एमालेबाट हितकाजी गुरुङ् र २०४८ मा काँग्रेसका तर्फबाट रुद्रमान गुरुङ्ले निर्वाचनमा जीत हात पारेका थिए ।
काँग्रेस राजनीति छाडेर अखण्ड पार्टी नेपालको केन्द्रिय सदस्य बनेका भक्तबहादुर अधिकारी क्षेत्र नं. २ मा उम्मेदवार भएमा काँग्रेसले आफ्नो पकड गुमाउने छ भने क्षेत्र नं. ३ मा २०५२ को एमालेका तर्फबाट मध्यावधिक निर्वाचनमा विजयी भएका महेनद्र थापाले संघिय समाजबादी पार्टीका उपमहासचिव हैसियितमा उम्मेदवार भएमा एमालेले ठूलै घाटा व्यहोुर्न पर्नेछ ।

One thought on “को को हुदैछन स्याङ्जावाट उम्मेदवार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *