“गोधुली सांझमा न्याउली गाउछे विरह भाकैमा
दिल वस्यो लौन हसिलो मुहार गाजलु आंखैमा
छेक्यो छेक्यो देउराली डांडा हुस्सु र कुहिरोले
छोडेन केहिल्यै जांहा गएपनि मायाको धुइरोले”
सुन्धारको जेडिए कम्प्लेक्सको छैठौ तलमा सुस्तरी रोविन श्रेष्ठ गाइरहेका छन । म विहानैको नित्य कर्म सकेर शारदीय घामले छोप्दै गरेको काठमाण्डौ नियाली रहेको छु । अगाडी शहिद गेट छ । पर मृगस्थलीको जंगल देखिएको छ । समिनो हुस्सु लाग्न थालेको छ काठमाण्डौमा । न्याना लुगाहरु र ताता खानेकुराहरु प्रिय हुन लागेका छन ।
दुइ पांग्रेमा हुइकिनु भन्दा माइक्रोमा कोचिनु मै मजा शुरु भएको छ । सिजन परिवर्तनले होला हाछ्यु गर्नेहरुको संख्या वढेको छ । मेरो वन्द कोठामा वसेर वाहिरको आवाज कम दृष्य वढि देखिएको छ । अवको केही समय पछि सानो तिनो जुलुसै आइपुग्छ । कसैको घर भत्काउन पर्यो । कसैको फुटपाथवाट सामान हटाइयो त कसैलाइृ भत्ता कम भयो । यस्तै अनेक गुनासाका बीच खुसी खोजीरहेको छु म ।
हुनत मेरो खुसी यहा भन्दा धेरै पर गांउमा छ । कात्तिकको मध्य भएर होला मखमली र गोदावरी गजवले फुलेका छन । दशैको राप हराएपनि तिहारको रौनकले अभाव पूर्ति गरेको छ । केटाकेटीहरु देउसी भैलो खेल्ने योजना वुन्दै छन । अधवैसेहरु तासको तयारीमा छन । यस वर्ष अलि ढिलो चाढ भएकाले तिहार गजवकै चिसोमा परेको छ ।
घरी घरी हेलो विर्घाको पर्दा उघार्छु । भाइ जिके पान्डेले सजिलै गांउ विर्सिन दिदैनन । तरह तरहका फोटो हालेर अपडेट दिइरहन्छन । युवा पुस्ताको यही सकारात्मकतामा गर्व लाग्दछ । नंया पुस्तामा सामाजिकता हराउदै गयो भन्नेहरुलाई भाई जिके गतिलो उदाहरण हो । नंया पुस्ता गांउमा गर्व गर्छ भन्नेमा ।
दशै रमाइलो वित्यो । भेटघाट, गांउ घरको अपडेट र वाल्यकालका स्मृतिहरु भेटाउने पर्व भएको छ दशै । अव चाडहरुले विगतमा जस्तो रौनक कमै दिन्छन । कंहा पाउनु त्यो वाल्यकालको खुसी ।
तैपनि वितेको पललाई संझेर वर्तमानका खसीहरु गुमाउनु हुदैन । त्यसैले म उमेर उनुसारको स्वाद लिने कोशीसमा छु । तिहार संघारमा आइरहेको छ । आशा छ । यो पर्व पनि रमाइले होला । अव कार्यकक्षमा आउने मानिसहरु थपिन थालेका छन ।
कम्पयुटरमा विस्तारै अमृत गुरुगं गुन्गुनाए जस्तो
“जीवन हो घांम छाया
सुख दुख दुवै भोग्नु छ
जीवन हो दिन माया
छटपटी तड्पन हुन्छ”