– सुमन आचार्य
त्यतिवेला म कृषि विभागमा काम गर्थें । मीनभवनमा म र मेरो सानैदेखिको साथी संगै बस्थ्यौं । उनलाई मैले भेष मात्र भन्ने गर्थें । उनी साह्रै मिलनसार व्यक्ति थिए । हामीले सानै देखि माष्टर ड्रि्रीसम्म संगै एउटै स्कुल र कलेजमा पढेका हौं । कृषि विभागमा काम गर्ने क्रममा घर जान पर्यो भने काज लिएर जाने गरिन्थ्यो । यसलाई साथीहरु घरकाज भन्थे । नेपालको प्रशासनमा यो सामान्य कुरा नै हो । तैपनि हाकिमले बाटोमा पर्ने कुनै शाखा कार्यालयको काम पनि गरेर आउनु भन्थे । सोही अनुसार काज लिएर जाने भएं । काज थियो पाल्पाको ।
भेषले म पनि संगै जान्छु, भने, मलाई खुसी नै लाग्यो । तर उनले एउटा शर्त राखे । शर्त के थियो भने घर जाँदा बाटोमा उनकी प्रेमिकालाई भेट्ने । काठमाण्डौको डेरामा बस्दा उनको ती केटीसंग प्रेम बसेको रहेछ । त्यो प्रेमको खुलासा पनि ती केटीले कतिवेला गरिछन् भने उनी काठमाण्डौ छोडेर स्यांग्जा जानलागेको बेला गोंगवु वसपार्कमा ‘म यहाँबाट हिंडेपछि मात्र खोल्नु है’ भनेर भेषलाई एउटा कागजको टुक्रा दिएकि रहिछन् । भेषले सो टुक्रा लिएर हस्यांग फस्यांग गर्दै डेरामा आए । उनले मसंग कुनै कुरा लुकाउँदैनथे किनकी हामी अभिन्न मित्र थियौं । मलाई कागजको टुक्रा देखाउँदै भेषले भने ‘यो उनले दिएकी हुन्’ । हामीले सो कागजको टुक्रा हेर्यौं । त्यसमा मिठा मिठा प्रेमका कुराहरु लेखिएका थिए र अन्तमा उनलाई भेटगर्न आउनको लागि आमन्त्रण पनि गरिएको थियो । सो टुक्रामा उनको ठेगाना पनि लेखिएको थियो लम्वेक, आलमदेवी गाविस स्यांग्जा ।
हामी काठमाण्डौबाट पोखरा तर्फ प्रस्थान गर्यौं । विहानको मिरि्मरेमै बसले पोखरा बसपार्कमा ओराल्यो । अब त्यो आलम देवी गाविसको लम्वेक भन्ने गाउँमा जान पोखराबाट कहाँजाने वा कुन बस चढ्नु पर्छ त्यो चाहि हामीलाई थाहा थिएन । त्यहीँ उज्यालो भयो, दर्जनौ बसलाई सोधियो, अहँ कसैलाई थाहा छैन । अन्ततोगत्वा एउटा जान्ने मान्छे भेटियो । उसले भन्यो ‘तपाईहरु गल्यांग ओर्लनुस त्यसपछि हिड्नु पर्छ’ । कति हिड्नु पर्छ उसले बताएन र हामीले पनि सोध्ने आवश्यकता ठानेनौं किनकी सडकबाट केही मिनेटको दुरीमा होला भन्ने हामीलाई लागेको थियो ।
गल्यांग आयो र हामी बसबाट ओर्लियौं । विहानको ११ बजेको थियो ।
विछटृै भोक लागेकोले बाटो सोध्नु भन्दा पहिले खाना खाने व्यवस्था गर्यौं । हामीले खाना खाएको होटलवालालाई सोधेको त यहाँबाट हिड्नु पर्छ तर तपाईहरु आज पुग्नु हुन्न पो भन्छ वा ! म त खत्रक्क परिहालें । भैगो नजाउँ है मैले भेषलाई भने । मैले यसो भनेपछि उसको अनुहारमा मलिनता छायो । उसले कट्टु नलगाउदै देखि मैले उसको बानी व्यहोरा जानेको छु । ‘ल भैगो जाने’ मैले यसो भनेपछि उसको अनुहारमा खुसी देखियो । पारी डाँडाको उकालोमा मान्छेहरु डोकोमा भारी बोकेर हिडिरहेका देखिन्थे । होटेलवालाले पारीको डाँडामा देखिने मुलबाटो देखाउँदै भन्यो ‘तपाईहरु त्यहीबाटो यो पहाडको टाकुरा सम्म पुग्नु पर्छ, त्यसपछि ओरालो लाग्नु पर्छ । तल खोलामा पुगेपछि अर्को उकालो लाग्नु पर्छ अनि तर्र्सो ।’
गल्यांगबाट हामी करिव १२ बजेतिर हिंड्यौं होला । भर्खरका बैसालु ठिटो थियौ हामी, त्यसमा पनि प्रेमिका भेट्ने जोश थियो । उकालोमा कैयन भरियाहरुलाई हामीले उछिन्यौं । माथि डाँडामा पेटमा भएको खाना पनि सकियो । भोक लाग्न थालिसकेको थियो । प्यासले त लत्रक्क पारिसकेको थियो । डाँडामा खोरियामाथि सानो झुपडि एक्लै ठडिएको थियो । मलखादको बारमा लटरम्म मसिना गोलभेंडा फेलेका थिए । एउटी सेतै फुलेकी बुढी आमा ढोकामा देखिइन् । ‘आमा केही खान पाइएला कि -‘ हामीले सोधेपछि बुढीआमाले भनिन् ‘काँट आका हौ बाबु – अरि्न चैं छ अर्थोक त केही छैन ।’ ‘हुन्छ हुन्छ अरि्न भए हुन्छ’, हामीले भोकको झोंकमा भनिहाल्यौं । बुढी आमाले ठुला दर्ुइ बटुकामा जौंको जाँड बनाइन् । पहाडको टाकुराको चिसो पानीमा बनाएको जौंको जाँड र गोलभेंडाको अचारसंग खाएको मैले कहिल्यै विर्सन्न । आमा यो ठाउँको नाम केहो मैले बुढी आमालाई सोधें, उनलाई छोराछोरीका बारेमा पनि मैले सोंधे । उनले भनिन् ‘विर्घा हो बा, छोराहरु मुग्लान गाछन् पोरसालको दशैमा कान्छो आको थ्यो, म बुढी एक्लै छु’ । बुढीआमाले थपिथपि हामीलाई खुवाइन तर उनले त्यसको पैसा लिन मानेकी थिइनन् तैपनि हामीले उनका हातमा केही रुपैया राखिदिएर हिड्यौं ।
विर्घाबाट केही समय हिडेपछि तल सानो गाउँ छ त्यसलाई लसर्घा लम्वेक भनिने रहेछ । लसर्घा लम्वेकबाट ठाडै उकालो लागेपछि लम्वेक आउँदो रहेछ । त्यहाँ पुग्दा झमक्क साँझ परेको थियो । भेषको प्रेमिकाको घरपनि यही गाउँमा हो । म अहिले ती प्रेमिकाको नाम भन्न चाहन्न । झमक्कै साँझ परेकोले नजिकका मान्छेपनि मुस्किलले देखिन्थे । हामीसंग कुनै र्टच थिएन, न त सलाई वा लाईटर नै थियो । प्रेमिकालाई भेट्न जानु छ, नचिनेको मान्छे, गाउँघरका चेलीबेटीलाई कुनै अपरिचित युवकले भेट्न खोज्यो भने त्यो गाउँका युवकहरुको कुर्टाई खान के बेर – हामीलाई ठुलो धर्म संकट पर्यो । प्रेमिकाकी दिदीको घर बुटबलमा छ भन्ने हामीलाई थाहा थियो । त्यसैले तिनै दिदीको नाम लिइयो भने कुनैं समस्या पर्ने छैन भन्ने हामीले जुक्ति निकाल्यौं । गाउँको छेउमा रहेको ढुंगाको छाना भएको घरको आँगनमा केही मान्छे गफ गरेर बसेका थिए । बुटबल विहे भएकी दिदीको माईतिघर कुन हो – भनेर हामीले उनीहरुलाई सोध्यौं । अनि त्यस घरका एक बृद्धले ‘ए धर्मेको घर -‘ प्वाक्क भनिहाले । ‘हो हो उहाँकै सोधेको’ हामीले भन्यौं । मैले यहाँ ती व्यक्तिको नाम परिवर्तन गरेको छु । उनले भन्दै गए ‘याँट बारीको डिलै डिल जानुस्, डुवा आउँछ, डुवा भन्दा मुन्तिरको दुइटा घरमा एउटा हो’ । हामीलाई के खोज्छस् काना आँखो भनेझै भयो । हामी लाग्यौं प्रेमिकाको घर तिर ।
बारीको कान्लाबाट हिड्दा माथिबाट झरेका ढुंगाले बाटो मेटिएको रहेछ । हामी त कान्लाहरुमा हरायौं । नजिक कुनै घरहरु छैनन् । केही तल एउटा गोठमा पिलपिल बत्ति वलिरहेको थियो । बाटो विराएपछि हामीले त्यो घरमा बलेको वत्ति पहिल्याएर गोठमा पुग्यौं । गोठमा दुइजना युवकहरु थिए, गोरुलाई घाँस हाल्न आएका रहेछन् । उनीहरुलाई सोधेपछि बाटो बताई दिए । तैपनि हामीलाई पुगिने आँट नआएर उनीहरुलाई नै त्यहाँ सम्म पुर्याईदिन अनुरोध गर्यौं । दुइ वटा घरहरु छन् तल्लो घर कि उपल्लो घर फेरि वित्यास पर्यो । बाटो पहिले तल्लो घरमा पुग्थ्यो । तल्लो घरमा पुग्नासाथ घरका मान्छे जर्याक जुरुक उठे ‘काँट आउनको -‘ उनीहरुले सोधे । ‘हामी बुटबलबाट आएको’ हामीले उत्तर दियौं । ‘ए जवाईहरु पो आउनको रछ, कान्छी गुन्द्री काम्लो लिएर आईज त – हामीलाई ज्वाईको खातिरदारी भैरहेको थियो । चिनी हालिएको दही अथवा भनौं लसी खाईयो । जाँडले छोडेर जिउ लखतरान भैसकेको थियो लसीले सितल बनायो । केही क्षण त्यहाँ बसेपछि हामी प्रेमिकाको घरमा गयौं उपल्लो घरमा । त्यहाँपनि ज्वाईको खातिरदारी नै भयो । भेषका आँखाहरुले प्रेमिकालाई खोजिरहेका थिए । प्रेमिकाका बाबुले हामीलाई गुन्द्रि कम्बल ओछ्याएर स्वागत गरे । पश्चिम तिर विशेष पाहुनालाई गुन्द्रि कम्बल ओछ्याईदिने चलन छ । गफ गर्दै जाँदा कान्छी छोरी पाल्पा गएकी छे भनेर बुढाले भने । भेष खत्रक्क परे प्रेमिका संग भेट्न नपाईने भयो भनेर । रातीको नौ बज्यो । प्रेमिकाको बाबुले भने ‘बाबुहरु अब नास्ता गरौं’ । म त छक्क परें ‘हैन आफूलाई भोक लागेर कस्तो भैसक्यो यी बुढाले यतिबेला नास्ता गरौं भन्छन् साँच्चीकै खाना कतिवेला ख्वाउने होलान् हँ ।’ म र भेष मुखामुख गर्यौं । नास्ता खान भनेर भान्सामा गएको राम्रै मेजवानी रहेछ । वास्तवमा बुढाले बडो सभ्य भाषा प्रयोग गरेर बेलुकाको खानालाई नास्ता भनेका रहेछन् ।
भोलीपल्ट विहानै हामीले बुढालाई तानसेन जाने बाटो सोध्यौं । बुढाले हामीलाई रिडी भएर जाने सल्लाह दिए । उनले भने ‘यताट सिधै रानीघाट गएर तानसेन जाननि सकिन्छ तर यो बाटो अलि उकालो छ, तपैरु रिडीआट जानओ भने तेर्र्छो छ, रिडीआट जानुस् ।’ बुढाको कुटिल चाला मैले बुझिहालें । वास्तवमा बुढाको इच्छा छोरीसंग हाम्रो भेटघाट नहोस् भन्ने थियो । तैपनि हामीले बुढासंग विदा भएर तानसेन तर्फ हिड्यौं । लम्वेकबाट कालीगण्डकीको किनारमा पाल्पा जिल्ला तर्फ रहेको रानीघाट दरवार र्छलङ्ग देखिन्थ्यो । कालीगण्डकीको किनार भन्दा केही माथि स्यांग्जा तर्फ एउटा गाउँ छ त्यो गाउँको नाम मैले अहिले विर्सें, हामी त्यो गाउँको बाटो हिड्दै थियौं । बाटोमा भारी बोकेका मान्छेहरुको ताँती देखिन थाल्यो । पहिले युवकहरुको ताँती आयो, त्यसपछि युवतीहरुको ताँती । ताँती सकिनै लागेको थियो, एउटी केटीलाई देखेर हामी जिल्ल पर्यौं । त्यो केटी भेषकी प्रेमिका थिइन् । उनको पिठ्युँमा सानो भारी थियो । हामीलाई भेटेपनि उनी पनि दंग परिन् । उनको साथमा अर्की एउटी केटी पनि थिइन् दुवैजनाले भारी विसाए । भेषले केही कुरा गर्न सकिरहेका थिएनन् । अनि मैले कुरा निकालें । मैले भने ‘भेषले तिमीसंग विहे गर्न चाहन्छन्, त्यसैले हामी तिमीलाई लिन आएका हौं ।’ मेरो कुरा सुनेर उनीहरु छक्क परे, एकापसमा हेरेर हाँसेपनि । उनले भनिन् ‘बाटोबाट म पोइल जान त सक्दिन, मेरो भारी छ, यो कहाँ छोड्ने – समस्या पर्छ ।’ मैले सम्झाउने कोसिस गरें । केटीहरु मगर भाषामा कुरा गर्दै थिए । मैले त मगर भाषा बुझ्दिन तर भेषलाई मगर भाषा आउँथ्यो तैपनि उनले नबुझेजस्तो गरे र उनीहरुका कुराहरु सुनिरहे । हामीले धेरै फकायौं तैपनि प्रेमिकाले जान मानिनन् ।
यत्तिकैमा तीन जना केटाहरु हामी भएतिर आए । टाढैबाट हामीले देख्यौं । ती केटाहरु हामीले पहिले देखेका भारी बोक्ने ताँतीमा अगाडि हिड्नेहरु थिए । केटीहरुले भने ‘ऊ हाम्रा दाईहरु पनि आउनु भयो ।’ भेष र मैले आपसमा अंग्रेजीमा कुरा गर्यौं ती केटाहरुले हामी माथि आक्रमण गर्न सक्छन् र परिआयो भने हामीले उनीहरुसंग लड्नु पर्छ । केटीहरु अंग्रेजी बुझ्दैनथे किनकी उनीहरु खासै पढेलेखेका थिएनन् । केटाहरु नजिकै आएपछि हामीसंग तपाईहरु कहाँबाट आउनु भएको आदि इत्यादि सोधे । मैले उनीहरुलाई यथार्थ कुरा भने कि मेरो साथी भेष र यी वहिनी एकआपसमा प्रेम गर्छन् । त्यसैले हामी उनलाई विहे गरेर लैजान आएका हौं । मलाई लागेको थियो यो कुरा सुनेपछि उनीहरु रिसाउलान् । तर उनीहरु रिसाएनन् र भने ‘तपाईहरु बीचको प्रेममा हामीलाई कुनै आपत्ति छैन तर यसरी बाटोबाट हाम्री चेलीलाई लैजान हामी दिदैनौ किनकी हिजो हामीले उनलाई लिएर बजार गएका हौं र आज उनका परिवारलाई सकुशल बुझाईदिनु पर्छ अन्यथा हामीलाई अप्ठ्यारो पर्छ ।’ उनीहरुको कुरा पनि ठिकै थियो । अन्तमा के संझौता भयो भने उनीहरु घरमा जाने र हामीले रानीघाट दरवारमा पर्खने । दिउँसोको २ बजे भित्रमा प्रेमिका घरबाट आउने र विहे गरेर जाने । हामी रानीघाट तर्फ लाग्यौं उनीहरु लम्वेक तिर लागे ।
रानीघाटमा रहेको एउटा सानो होटेलमा हामीले खाना खायौं र उनलाई पर्खेर बस्यौं । काली कण्डकीमा एकोहोरो पानी बगिरहेको थियो । साँच्चिकै विशाल छ काली गण्डकी । त्यसको माथि पट्टीलामो झोलुंगे पुल रहेछ । पारीको ओरालोमा कुनै रातो कपडा लगाएको आईमाई देखियो भने लौ अब उनी आईन् भनेर हामी खुसी हुन्थ्यौं तर नजिक आएपछि अर्कै आईमाई देखेर खत्रक्क हुन्थ्यौं । २ बज्यो तर उनी आईनन् । भेषले मन मारिसकेका थिए, उनको अनुहारमा मलिनता र्छाईसकेको थियो तैपनि उनी आईनन् । भेषले भने ‘अब जाउँ उनी आउदिनन्’ । तैपनि मैले अझै १ घण्टा कुर्न आग्रह गरें । अहँ उनी आईनन् । अब हामी नहिड्ने हो भने तानसेन सम्मको ३ घण्टाको पैदल यात्रा पार गर्न कठिन पथ्र्यो । मनभरी प्रेमिकाको याद बोकेर हामीले तानसेन तर्फको उकालो लाग्यौं । यतिवेला पनि कालीगण्डकी आफ्नै गतिमा बगिरहेको थियो ।
i like it antyata premika le dhoka diyen so sad
i like it this love story ,
aantya ta premika le dhoka diyo so sad