मेरो सपनाको भुगोल


भाइ मिलन विकले ध्र्रुव ज्योति माध्यमिक विद्यालय दव्छेले आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रमवारे सानो समाचार छपाएका रहेछन । स्थानीय विद्यालयहरुमा वार्षिकोत्सव, सम्मान र विदाइहरु सामान्य घटना हुन । यद्यपि यो समाचारले फेरी मलाई सपनाको मेरो भुगोलमा फर्काएको छ ।
हुनत स्कुल पढ्दा मैले कहिल्यै मास्टर वन्ने सपना देखिन । किनकी म त्यो स्तरसम्म पुग्न सकुला भन्ने आत्मविश्वास कहिल्यै जागेन । कुनै पूर्व योजना विनाको पढइ थियो त्यो । घरवाट गाली छल्न, कामवाट अलीकती भएपनि राहत पाउन र साथीभाईसंग रमाइलो गर्न मात्रै थियो मेरो पढाई । न त त्यहा कुनै योजना थिए न त कुनै परिक्षा केन्द्रीत पढाइ । त्यसैले परिक्षा भगवान भरोसामा पास गरियो । न त आयो कहिल्यै गतिलो नम्वर न त वढे ठुलो मान्छे वन्ने लालसा । पढाइ मैले हैन समयले पुरा गर्यो ।
म मात्र होइन त्यस वेलाको समय नै त्यस्तै थियो । मेरा दौतरी घरीपोखराका फर्सुराम चिफलडांडाका भुप, गुप्त वहादुर वि.कं, कट्टी वाइ पी संग भर्ती भइएला भनेर गोरखपुर सम्म पुग्थे । म आफै कतिपल्ट स्कुल हापेर अरुवा पौडीखेल्न पुग्थे । पौडी नसा थियो त्यो वेला । तास खेल्न त अली पछि सिक्यो मेरो पुस्ताले ।
हिंउद लागेपछि वारी र पारीको लडांइ, अरु वेला पौडी र भलिवलका प्रतिष्पर्धा, पढाइले कहिल्यै गरी खाने गतिलो छाट देखाएन ।
परिक्षा केन्द्रीत पढाइ नभएपछि गतिलो नंवर आउनु संभव थिएन । अहिले संझीदा लाग्छ स्कुले पढाइ सकियो कसरी ?
जे जसरी भएपनि स्कुल छाडेपछि पढाइका श्रृंखलाले केही गति लिए र पछिल्लो समय यो भाग दौडको शहरमा हराउन थालियो । तिव्रतर कुदेको समयलाई फलो गर्न नसके शहरले पर्खदैन त्यसैले यो रेशमा कहिलेकांही अव्यवाहारिक दौडाइले अत्यन्तै एकलकाटे वनाइदियो ।
समयले एकलकाटे वनाइदिएपनि अली सुविस्ताको समयले सपनाको भुगोलमा तानीहाल्छ । हर रात ऐठन हुने सपना हुन या खुशी निम्त्याउने मुमेन्ट हुन सवैमा त्यही सपनाको भुगोल मीस हुन्छ ।
के छ त्यस्तो कनेक्सन त्यो भुगोलसंग । जससंगको सामिप्यता जीवनका थोरै वर्षमात्र रहे । स्कुल सकिएपछि र खुट्टालागेपछि हिडेको भुगोलको दुरी र विताएका पलहरु धेरै भए तै पनि संझनामा घरी घरी त्यही भुगोल नाचीरहन्छ । चाहेर नचाहेर हरेक सपनिमा त्यही स्मृति वल्झी रहन्छ ।
हुनत स्कुल जान हतारिदै दौडिदा लडेको दविल्ला खोला त्यही छ । भोक लाग्दा माथी रुखमा पुगेर टिपेका डुम्री हुन या देवीसरको खल्लुक त्यही भुगोलमा छन । मन परेपनि मुख खोल्न नसक्दा जुल्क्याएर हेरेका आकृतिका झझल्का त्यही छन । तीज भनेर गाइएका खेली या दशै भनेर हात भरी उनीएका सेलका शम्झना त्यही छन ।
बाले हिड्न सिकाएको गोरेटो अनी आमाले डोर्याउदै मावल लगेको वाटो त्यस्तै छ । मलाम जादा टोपी वगाएको काली र अरुवाको जरे स्वामी अन्त पाइदैन । व्रतवन्ध गराइदिने चिफल्डाडाका रामप्रसाद वेदुवा वा हुन या क, ख, सिकाएका हिरन्डाडाका हरिप्रसाद गुरु त्यही छन । स्वस्थानीको कथा सुन्न जाने अर्चलेवारी होस या अधेरी रातमा चप्पल वाल्दै कोट जाने वाटो होस त्यो सवै त्यही सपनाको भुगोलमा छ । त्यसैले त घरी घरी संझनामा आइरहन्छ सपनाको भुगोल ।
हुन नसकिएला ठुलो मान्छे, गर्न नसकिएला ठुला काम, नपाइएला ठुलाहरुको संगत, नआउलान ठुला कुरा र नदेखिएलान ठुला ठांउ । क्यै छैन यी ठुला भनीएका चिजहरु भन्दा यही सपनाको भुगोल मेरा लागी प्रिय छ । त्यही सपनाको भुगोलप्रति ।

One thought on “मेरो सपनाको भुगोल

  1. डाक्टर सा’पका अक्षरका बान्कीहरु मन परे । वाक्यहरुको जीऊडाल पढु पढु लाग्ने छन् । मलाई त म जन्मेको पाखोबारी, कन्लाहरु अनि कालीगण्डकीका नागबेलीहरु सपना लाग्दैनन्, बरू भेट्न नसकेको यथार्थ जस्ता लाग्छन् । बाँकी भेट अक्षर, शब्द अनि वाक्यहरुमै !
    जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी !
    जदौ !
    लेकाली कान्छा
    कट्टिगाउँबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *