मलाई महिनामा रुघा जम्मा दुई पटक लाग्छ र प्रत्येकको अवधी पन्ध्र पन्ध्र दिनको रहन्छ । यही कारणले होला कोरोना माहामारीले उग्र रुप लिनलागेपछि अधिकांश शुभचिन्तकले मेरो स्वास्थ्यको ख्याल गर्दै जोगिन सल्लाह दिए । नमागीकन सल्लाह दिनेलाई “राय बहादुर” भनिन्छ । अधिकांश रायबहादुरहरुले तातोपानी र बेसार, कसैले गुर्जोको झोल । कसैले हनी वाटर, कसैले हट लेमन त कसैले अनेक औषधीका नाम सुझाए ।
यसो गरे होला की त्यसो गरे होला भन्ने चक्करमा मुलकका पाटन, अल्का लगायत अधिकांश प्रतिष्ठीत र भारतको मेदान्तसम्मको दर्शन नाकले पायो । पाथिभरा आयुर्वेदका लात्ती डाक्टरदेखि छातीकालागि पुष्पा मल्लसम्मकोमा पुगियो । केही महिना पशुपति होमीयोप्याथी देखि हिमालय आयुर्वेदसम्मको सहारा लिइयो । कहिले प्रणायाम त कहिले जलनेति । जे गरेपनि विहान उठेपछि गोडा बीसेक पल्ट हाच्छीउ र दर्जनको दर्जनपल्ट सुकुर सुकुर नगरी पछिल्लो ५ वर्षदेखि मेरो कुनै दिन वितेको छैन ।
स्वास्थ्य भन्दा मित्र ठूला । मेरो डिक्सनरीमा अलि मोटा अक्षरमा लेखिएको छ । कहिलेको लक डाउन कहिलेको निषेधाज्ञा । कर्ण, गगन, गणेश, अर्जुन जस्ता रौसे साथी । के चाहियो कहिले लाकुरी भन्ज्यांग त कहिले शिवपुरी । अजिंगरको आहार दैबले जुटाउछ भनेजस्तै जतिसुकै वन्दावन्दीमा पनि हाम्रो स्वादे जिव्रोले नंया नंया स्वाद पाइ राख्यो । झोला बोक्यो केही प्याकेट विस्कुट, चाउचाउ र पानीका वोतल वोक्यो हिड्यो लखर लखर । शहरको कोलाहल भन्दा पर भएपछि मन तन सबै शान्त हुने । मानिससंग डराउनपनि नपर्ने ।
मान्छे नै मान्छे संग डराइरहेको शहरलाई छोडेर हरेक शनिवार हामी हिड्यौ जनावरसंग डराए पुग्ने एक्ला वनहरुमा । प्रतिकुलतामा अनुकुलता खोज्नुपर्छ । जस्तो सुकै कठिनाइमा पनि रमाउनुपर्छ भनेर हिडेको टोली कोरोना कहरवाट जसोतसो जोगिदै थियो । कर्णका कर्णप्रिय गीत र बांकीका नचाईले पछिल्ला पिडा खुसीमा बदलीदै थिए ।
यत्तिकैमा आइलाग्यो “द च्याम्वर अफ सेक्रेट ग्रुप”लाई विपत्ती । हाम्रा खुसीमा कस्का आंखा लागे ? हरेक खोल्सामा पुग्दा भयरलाई, डांडामा देउराली र खोलामा जलदेवलाई पाती चढाउन कसैले विर्सिएन । फरक फरक भूगोलवाट भएपनि हाम्रा चालचलन र रीति रिवाज मिल्दा थिए । खोला छेउमा पिसाव फेर्न समेत दहकस मानेको टिममा एकाएक सन्नाटा त्यतिवेला छायो जतिवेला हामी शिवपुरीवाट फर्किएका मात्र थियौ । झन्डै दश वर्ष म वसेको घरका घरवेटी पाल्पाली वुवा ७७ वर्षको उमेरमा कोरोनाका कारण स्वर्गे हुनु भयो । खवरले अत्यास लागेको केही क्षणमा आफ्ना वारेमा आएको खवरले मलाई केही वेर किंकर्तव्यमुढ वनायो ।
प्रत्येक हप्ताको शनिवार कम्तिमा १४ कीलोमिटर हिडेर ज्यान वनाएको टोलीको मनमा त्यतिवेला पहिरो गयो जतिवेला अनलाईन खवरले यातायातवाट सरुवा भएका र विदाई गरिएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको खवर छाप्यो । लामो समय काम गरेको, आउजाउ भइरहने ठांउ एवं विभागका महानिर्देशकसंग निरन्तर र नजिकको भेटघाट भएकाले उहाकै सल्लाह अनुसार अहिले म लगायत द चेम्वर अफ सेक्रेट ग्रुपका मित्रहरु सेल्फ क्वारेन्टाइनमा वसेका छौ । अर्जुन सर र म वारीपारी देखा देख हुन्छौ कुरा फोनवाट मात्र हुन्छ । ढ्याम्म ढाडमा ठाप हानेर वोल्ने वानी लागेका हामी यसरी वोल्न र वस्न पर्दा उकुसमुकुस भएका छौ । कर्णको मेसेज आउछ शकस भएको छ । तर हामीसंग विकल्पहरु थोरै छन । आफू सुरक्षीत रहने र अरुलाई सुरक्षीत राख्ने ।
घरमा वृद्ध र दमकी रोगी आमा, सानी छोरी भएको म अझवढि साबधान हुनपर्ने अवस्थामा छु । चैत्र ११ देखि शुरु भएको असहज अवस्थाका जुनसुकै दिन कार्यालय पुगेको म आज पहिलोपल्ट पुरै दिनमा घरमा, त्यसमा पनि वन्द कोठामा वस्दै ढोकामा कतिवेला खानेकुरा आइपुग्ला भनेर चिहाउनु पर्दा अनौठो लागि रहेको छ ।
कोभीडको प्रभाव परे नपरेको क्लीयर हुन अरु केही दिन पर्खिनु पर्ने छ । गगनसरको जांचले हाम्रो अवस्था निर्धारण गर्ने भएकाले सावधानी अपनाउनुको विकल्प छैन । पछिल्लोपटक विस्तारित सदस्यता पाउन सफल वद्री सर समेत क्वारेन्टाइनमा वस्नुपर्दा दुख लागेको छ । हामी सबै सतर्क छौ डराएका छैनौ । कोरोना कहरलाई तपाई हामी सबैले जित्न सकौ । आगे सुरक्षीत रहने तपाइको जिम्मा ।
Hope everything will be okay.