आहो पात मिचेर औषधी वनाइन्थ्यो
लुतो आम्तो खोयाले कनाइन्थ्यो
आज ती वाला पन कंहा गए…
ठुलो भासी के वन्छस भन्थ्यौ आमा
पाइलट वन्छु भन्थे परदेशी पो भैयो ।
हेमन्त कान्छाले गाएको गीत सानो मोवाइलमा वजिरहेको छ ।
वाहिर सिमसिम पानी परीरहेको छ । विहानको कक्षा सकेर म नियमति काममा हाजिर भएको छु । दिनको पूर्वाद्र्ध भएकाले कोही आगन्तुक, सेवाग्राही वा कर्मचारी वरीपरि छैनन । करिव २४ रोपनी क्षेत्रफलमा फैलीएको र रुख विरुवाले ढपक्क ढाकिएको मीनभवनको मेरो कार्यालयमा चराको चिरविर वाक्लै सुनिएको छ । साना चराहरु वर्षे झरीमा ओत लागेका छन । कागहरु रमाइलो मानेर कराइरहेका छन ।
* * *
मलाई स्मृतिले मेरो आफ्नै जन्मेको ठांउ मौला पुर्याएको छ । जंहा यो सिजनमा आरु पाक्न शुरु र आरुपोखरा सिद्धीन लाग्थे । वेलौतीका पिपिला लाग्ने र खनिया पाक्ने सिजन हो यो । हामी लाम्पाटातिर घांस काट्न जादा तित्रो कराउने देखि वेला वखत स्याल कराउने आवाज वाक्लै सुनिन्थ्यो । वर्षे सिजन भएर होला वादलका फोकाहरु लुकामारी खेली रहन्थे । पानी पर्दा पहिरो जाने डरले हामी विरौदीको साटो देवी खन्ड, गैरा वा लाम्पाटा तिर नै वढि रमाउथ्यौ । नभए गांउ वा भार्से चौरका खरिया पनि वर्खाकालागि साचेर राखिन्थे ।
पोलेका मकै र एक मुठी तातो दुख खान पाए जोस नै अर्कै हुन्थ्यो । तुलसीको मन्दिर निरको गेडुलामा हुर्केको सिमी वा भ्याकुर ताछेर विस्तारै बाले तरकारी पकाउनुहुन्थ्यो । बाले वनाउने तरकारी जत्तीको मिठो दुनियामा केही पाक्छ जस्तो लाग्दैनथ्यो । भैसी, वाख्रा धेरै तर काम गर्ने मान्छे कम्ती भएकाले होला । आमा घांस दाउरामा र बा घरको चुलो चौकामा वढि व्यस्त हुनुहुन्थ्यो ।
केही समय वेलायती सेनामा काम गरेर फर्केका मेरा बालाई खाना भने असाध्यै मिठो वनाउन आउथ्यो । ढिलो पकाउने तर असाध्यै मिठो वनाउने भएकाले बाको लेखाई र पकाई दुवैको गांउमा तारिफ हुन्थ्यो ।
झरीका बीचमा घांम झुल्कीदा खेतका मकै काट्ने बाले दाईलाई र मलाई मकै वोकाउनु हुन्थ्यो । मकै वोक्न, मकै भाच्न र खेतको झार च्यात्न कम्ती झिझो लाग्थेन । वर्खामा झन्डै २ महिना स्कुल विदा हुने भएरपनि होला धेरै जसो केटाकेटी काममा व्यस्त हुन्थे । वर्खा लागेपछि कामी गांउ देखि वगेर आउने रातो माटोको भल थुपारेर पोखरामा जम्मा पारिन्थ्यो । डिठ्ठा देउनारायणका सन्तान भएकाले होला डिठ्ठाको पोखरोको नामले प्रसिद्ध हाम्रो पोखराको रातो माटोमा खुवै पौडिइन्थ्यो । हाम्रो पौडीको अभ्यास त्यही पोखरीवाट शुरु भएको थियो ।
त्यति वेलाका कति प्रचलन अहिले कि त नौला कि त पुराना भएका छन । केही दशक अघिका ती घटना सम्झीदा मलाई पनि ए हो र जस्तो लाग्छ । हरेक ग्रहणमा गाईको गोवरले घरको भित्तोमा घेरा लगाउने होस या आगनमा छोडेको अन्नमा खरानीको घेरो लगाउने होस । सबै प्रचलन नौला भएकाछन । यही वर्खामा फल्ने काक्रो, घिरम्ला, चिचिन्डा हामीले कहिल्यै चोर औलाले ताकेर देखाइएन । जहिले चोर औला र माझी औलाको बिचमा वुढी औला चेपेर देखाइयो । यस्तो किन गरियो कुनै वैज्ञानिक जवाफ नपाएपनि यो हाम्रो प्रचलन थियो ।
यस्ता मौलिक प्रचलन नहराउन भनेर शहरमा जन्मे, हुर्के र वढ्दै गरेकी छोरीलाई कौशी खेतीमा फलेका यस्तै वस्तु हामीले वाल्यकालमा देखाएजस्तै औला वनाएर देखाउन लगाई वाल्यकालको स्मृतिमा जान्छु ।
अकाशका हलतारा, तिन तारे, ध्रुर्व तारा र सप्तर्सीहरु देखाई गन्न लगाई मेरो ग्रामिण स्मृतिलाई ताजा वनउछु म यो विरानो शहरमा । यंहाका धेरै सम्वन्धहरु स्वार्थका हुन भन्ने द्धिविधा नरहेपछि म तिनै ग्रामिण यादहरुमा कल्पीन्छु । कठिन थिए ति दिन तर प्राकृतिक थिए । अभाव थियो गांउमा तर अघि जाने आकांक्षा थियो । दुख थियो तर सपना थियो । यो विरानो शहरले ति सवै चिजलाई विस्मृतिमा लगिदिदै छ । तर झरी पर्दाको दिन, मन एक्लै हुदाको दिन, राम्रो सपना देख्दाको दिन या ऐठन हुदाको दिन । सफल हुदाको क्षण वा समस्यामा पर्दाको क्षण ! त्यही गांउ आखामा नाची रहन्छ । तिनै वाल सखाहरु संझनामा आइरहन्छन । त्यही वाला पनाले जिस्क्याइ रहन्छ । मलाई जस्तै तपाईलाई पनि आफ्ना पुराना स्मृतिले यस्तै गराउदा त हुन नी ।
बिहानै एक्फेर बलामको केटाकेटी जीवनमा पुर्यायेउ।तिम्रा शब्दमा सामर्थ्य छ।
बाबू त्यता नजाउ भुयाम्च, खै के रैछ अाज सम्म न अायाे न कसैलाइ लग्याे । भुयाम्नी ठाउँका टाेटे, अाँखेपकुवा, खनिया रुखमा पाके पकेका( पक्कला) गेडा खाँदाकाे मजा जहाँ अरु भुयाम्च भनेर जान्थेनन् ।
अत्यन्तै मनछुने शब्द सर, हाम्राे माैलिकता समाज अबका हाम्रा सन्ततीले भुल्ने हुन् र? के हामी उनिहरुलाइ याे स्मृति नबाडि बस्न सकाैला र ? बस हामी भाेगेउ उनिहरु सुनेर अानन्द मान्नेछन् ।
#जय_स्याङ्जा