हिउदको मानु मागी मागी खानु भन्ने उखान गांउ घरमा चल्तीमै छ । हिंउद लागेपछि खेति भित्रिने हरियो घास दाउराको काम पनि कम हुने भएकाले होला एकसरुवा वाहेक माइती, मावल, आफन्तकामा पाहुना लाग्न जाने चलन थियो । जग्गे जात्रा वाक्लै हुन्थे । विहामा जन्ती जान पाए विहान टिका लाएर खामपनि पाइने वाटामा मासु भात पनि खान पाइने भएकाले जन्ती हाम्रो मुख्य आकर्षण थियो ।
तर कतिपय विहामा केटाकेटीलाइृ नलाने, जन्ती पनि सिमित जाने भएपछि हामी बीच वाटोमा जन्ती खान सम्म पुग्थ्यौ । रुद्रीको भात, सप्ताहको भन्डारा धेरै लगाइयो । लाखवत्ति र रुद्रीका निम्ता धेरै मानियो । एकाहा र चौरासी पुजाका निम्ता भन्न धेरै हिडियो । चौको टाहाल्ने देखि सुपारी काट्ने सम्मका सवै कार्यहरु हाम्रालागि विशेष हुन्थे ।
व्रतवन्ध र सप्ताहहरु विशेष हुन्थे । गांउघरको रौनक हिउदमा नै थियो । ठुलो अगेना वनाएर तरुल र साग मिलाएर तिहुन पकाउनु । अलिकता घ्यूले झानेर भात वसाल्नु । केरा र मुलाको अचार वनाउनु । वारीको डिलमा लुगा खोलेर वसेर खाना खानु । कम्ता रमाईला थिएनन हिउदका दिनहरु । स्कुल छुट्टी भए मावल जानु । एकादशीमा राम्दी र माघे सक्रान्तिमा रिडी जानु । स्वस्थानीको कथा सुन्न जानु । फर्किदा बेवरा, काक्रा, उखु जे पाइन्छ चोरेर खानु ।
वत्ती नहुदा चिराक वाल्नु या चप्पल वाल्दै दौडनु । धान काटेर गांज परेको खेतमा खाली खुट्टा वुर्कुसी मार्नु । कहिले खुट्टा मर्काउनु, कहिले चिथोरिनु , डन्डा लौरा खेल्नु, मोजाको भलीवल खेल्नु वाल सुलभ मात्र होइनन पवित्र गांउले पर्वहरु थिए ।
यो चिसो र धुलोले छोप्दै गरेको राजधानीमा वसेर ती बालापन संझीनु , अतित हुदै गरेको गांउ कल्पिनु र निश्चल गांउलेको माया संझेर पग्लीनुको विकल्प छैन । सधैको दौडधुप, सधैका आपाधापी, स्वार्थी समूहका कृतिम हासोहरुले त्यो वालपनको निश्चल हासो कंहावाट देओस ।
कहिले कांही फेसवुक र टुइटरमा शेयर हुने तस्विरहरु हेरेर गांउ कल्पिदै छु । म यंहा विरानो शहरमा । कठिन थिए तर कम्ता रमाइला थिएनन ती दिनहरु । व्लग नियमित नभएको हप्तौ भयो । आजकल यो विरानो हुन लागेको छ । मैलाई विरानो लाग्यो भने प्रिय पाठकहरुलाई कस्तो पो लाग्दो हो । त्यसैले यो एकालापवाट निरन्तरहुने कोशिष गरेको छु ।
सर हजुरको बालयकाल र जन्मस्थल बिर्घा रमनिय भए पनि परीस्थितले बाराको कलैया हुँदै राजधानी बस्न बाध्य बनायो ।