निख्खर भदौरे घाम चर्कीएको छ । मधेशमा अरु वेला भन्दा भदौमा अझ वढि गर्मी हुदो रहेछ । आकाशमा वादलको एउटामात्र छिटा पनि देखिएको छैन । निलो आकाश घामले उजिल्याएको धर्ती र प्रचण्ड गर्मीको कलैयामा – म छु । हर हालतमा निराश हुनु हुदैन जीवन अर्थात आशालाई जोगाउनु पर्छ भन्ने मान्यताले डोरिएको म घरी घरी भने परिवार र मित्रहरु मिस गरीरहेको हुन्छु ।
खुशी हुने वहानहरु खोज्छु । मेरो भाग्यमा जुरेको कलैयाको पुरै स्वाद लिनु पर्छ भनेर लागेको छु । त्यसैले दिन नविराई पान खान्छु । कोही जनप्रतिनिधिले फोन गरे भोजपुरीमा जवाफ फर्काउने कोशिस गर्छु । तर शव्दभन्डारको कमीले बीचमै रोकिन्छु । अनुगमन, निरिक्षण र अवलोकनकालागि कलैयाका सवै गांउहरु पुगेको छु । भारतसंग सिमा जोडिएका १० र २० नंवर देखि जितपुर सिमरासंग सिमा जोडिएका २३ नंवर वडासम्म पुगेको छु ।
कसैले दिएको सामान्य निमन्त्रणालाई पनि ठुलो ठानेर नै उपस्थित भएको छु । विवाह, गृह प्रवेश हुन या, हकिका – (हिन्दुहरुको छैठी जस्तै मुस्लीम समुदायको हकिका ) सवैमा उपस्थित भएर फरक संस्कृतिको स्वाद लिएको छु । र हिन्दु वहुल भएको यो ठांउमा म भने सर्वधर्म पालन कर्ता भएको छु । भदौको ६ गते वकर इद आउदैछ । मुस्लिमहरुको दोश्रो ठूलो चाड यसलाई स्थानीयले कुर्वान पनि भन्छन । कुर्वानमा के धनी के गरिव सबैकोमा अनिवार्य मासु पाक्छ । हर वखत मासु मुस्लिमहरुको विशेषता हो ।
धेरैले वकर इदकालागि मेरो टाइम वुक गरीसकेका छन । यो सकिएपछि वल्ल काठमाण्डौ जानुपर्ला भन्ने प्लानमा छु । कलैयामा तुलनात्मक हिसावले फोहर वढि छ । त्यसैले यंहाको मेरो आधारभूत प्राथमिकता सरसफाइमै रहेको छ । जसमा स्थानीयवासी, दल, सुरक्षा निकाय र प्रशासनले पनि सहयोग पुर्याएका छन । आजै विहान मात्र सय वढि सुरक्षाकर्मी र त्यती नै संख्यामा अन्यको सहभागीतामा रामजानकी पोखरीको सरसफाई सम्पन्न भयो । म वस्ने घरवाट यो पोखरी प्रष्ट देखिन्छ । अहीले आखा तिरमिराउने घाममा पनि पोखरी र पिपलको रुख झ्यालवाट प्रष्ट देखिएको छ । सफा पोखरीले सन्तोष दिएको छ ।
घाम ढल्केपछि फेरी पोखरीको निरिक्षणमा जानु छ । विहान सवैरै उठेर सरसफाइको व्यवस्थापन लगायतको काम सक्दा झन्डै १० वजेको थियो । आफ्नै कोठा र लुगाको सरसफाइपछि धेरै वेर पुराना आन्चलीक गीत सुनेर विताए । सवैजसो पत्रपत्रिका पढिसक्दा अपरान्ह भएको छ ।
आजैमात्र मेरो लेखनको सहसचिव र उपसचिव प्रश्नोत्तर काठमाण्डौवाट आईपुगेको छ । फाइनल गरेर हिडेपन ओरिजीनल वुक वल्ल हेर्न भ्याएको छु । धेरै साथीहरुले फोन या सामाजिक सनजालवाट पुस्तकको प्रशंसा गर्दा फुरुक्क भएको थिंए । आफ्नो सिर्जनालाई सन्तानलाई जत्तिकै माया लाग्दो रहेछ । धेरै वेर ओल्टाइ पल्टाइ गरे । कतै विग्रिहाल्यो की भनेर भूमिका पढे । लेआउटमा हिमालजी, प्रकाशनमा गणेश जोशी र सवैकाममा विमलाको योगदान फेरी सम्झीए ।
म भन्दा छोरी आसिएकी छ । हाम्रो तिर कसैको याद आउनु, संझीनु या भेट्न मन लाग्नुलाई असेट भनेजस्तो पूर्वतिर नियास्रो भन्ने चलन छ । शव्दमा जे भनेपनि भावनामा एउटै हो । आमालाई ममी, मा, बई या माङ जे भने पनि मातृत्व एउटै हो । छोरीले बाबा कहिले आउने भनेर फेरी भावनामा तरंग ल्याउछी । आमालाई विर्घातिर वेला वेला फोन गरेर खवर लिइरहन्छु । सन्चै छु आत्तिनु पर्दैन भनेपछि वल्ल मन शान्त हुन्छ । उमेर छिप्पीएपछि सवैभन्दा वढि चिन्ता स्वास्थ्यको नै हुदो रहेछ । सबिनासंग अरु रिपोर्टिगं लिइरहेकै छु । वल्र्डलिंकको फास्ट इन्टरनेट छ । जसले गर्दा देश विदेशमा रहेका अनेक मित्रहरुसंग सम्पर्क मै छु । यो पल्ट कलैया वसाई अली लामो रह्यो त्यसैले पनि मैले काठमाण्डौलाई घरी घरी मिस गरीरहेको छु ।
पिक आवरमा रहेका कक्षाहरु, संचारमाध्यम लगायतका सम्वन्धहरु र पारिवारीक भेटघाटकालागि काठमाण्डौले मेरो अधैर्य प्रतिक्षा गरेको छ । जहिले रसाउने नाक अहिले वन्द भएको छ । कलैयाको सबैभन्दा ठूलो उपलव्धी यही नै हो । वसाई सहज नै छ । कार्यालयको कामकाज नियमित हुदैछ, र अव कर्मचारी टिमले पूर्णता पाउदै छ ।
अधिकार प्रत्यायोजनपछि म दैनिक प्रशासनीक काम भन्दा व्यवस्थापकीय काममा लाग्न पाएको छु । विहान सफा गरेको पोखरीको डिलमा, पिपलको रुख मुनी केही युवाहरु सितल खाइरहेका छन । आफ्ना कामले सार्थकता पाउदा सन्तोष मिल्दो रहेछ । त्यस्तो काम गर्ने अवसर दिएर कलैयाले मलाई गुन लगाइरहेको छ ।
hajur ko karya prati Kalaiya Basi nai Khushi Chan .m samet