भुकम्प पीडितको साबीती

चिसो सिरेटो वेला वेला आइ रहन्छ । हो यस्तै सिरेटो चलेको मध्य दिउसो काठमाण्डौ हल्लाएको थियो विनासकारी भुकम्पले । अरु वेला सित्तल दिने सिरेटोले आजकल त्राशको भारी थपेर जान्छ । कलिला नानीहरु कम छन अहिलेको काठमाण्डौमा । ठुला आवाज निकाल्ने र जमिन नजिकैवाट उडान भर्ने हर्कुलसको चर्को आवज रात दिन थामिएको छैन ।
म एउटा भुकम्प पीडित राजधानीका कठिन दिनहरु गनीरहेको छु । भत्किएका संरचना उत्तानो लास जस्ता देखिन्छन । मलाम पछि फर्किदा नमिठो डरले डेरा जमाउने मेरो मनलाई ती सवै संरचना त्यस्तै लागेका छन । हर केही दिनमा टहलिन वा जीवन र जगतलाई नजिक वाट नियाल्न कृष्ण मन्दिर पुग्ने म अहिले एक्लो भएको छु ति प्रिय संपदाहरुको विनासमा ।
हर दिन विहानै चरा जस्तै चिर्विराउदै स्कुल जाने केटाकेटी अहिले की त गांउ फिरेका छन की त शिविरमा कष्टकर दैनिकी खेप्न वाध्य छन । रंगिन चराहरु कतै टाढा उडेर गएको जंगल जस्तो भएको छ यो मन्दिरै मन्दिरैको शहर । हर घर घरमा देवताको वास हुने वस्ती यतिवेला मशानघाट जस्तो लाग्न थालेको छ ।
शहयोगका नाममा प्राप्त हुने साम्रागीले पर निर्भरता तर्फ उन्मुख गराएका छन । शंवेदना हराएका केही मानिसहरु यही मेशोमा अतिरिक्त लाभमा लागेका छन । समय शून्यमा रोकिए जस्तो लागेको छ । समय वताउने वुढो घन्टाघर धरहरा ढलेपछि एक्लो भएको छ । स्मृति हराएजस्तो कहिले कांही समय पनि ढिलो वताउन लागेको छ घन्टाघरले ।
प्रताप मल्लले वनाएको रानी पोखरी बीचको महादेवको मन्दिर भत्केको छ । शिक्षाको दियो वाल्ने दरवार हाइस्कुल वेहाल भएर ढलेको छ । कक्षामै रहेका केही विद्यार्थीले ज्यान गुमाएको स्कुलमा अझै केही विद्यार्थीका कलम, कपी र झोला च्यापिएका छन ।
विश्व सम्पदामा सुचिकृत उपत्यकाका तीनै दरवार खन्डहरुमा पुरिएका छन । म यतिवेला मिथकीय चरी फिनिक्स जस्तो ध्वंश राग गाएर धुलो धुलो भएको छु । गएको वैशाख १२ मा आएको भुकम्ले धुलो उडाएर धुलाम्य वनाएको शहरमा म पनि धुलो धुलो भएको हु । फिनिक्स पानी राग गाएर पानी पानी हुन्छ, अग्नी राग गाएर खरानी हुन्छ र जीवन राग गाएर फेरी वौरिन्छ । म त्यही फिनिक्स चरी जस्तै भएको छु घरी धुलो, घरी ध्वंश र घरी पानी पानी भएको छु ।
अव भत्किएका संरचना हेरेर या विगतलाई कल्पेर मात्र जीवन चल्दैन । “श्रृष्टीलाई चलाइ राख्ने हो भने प्रत्येकले आ आफ्नो कर्म गर्नु पर्दछ” भन्ने श्रीमद्भागवत गीतामा भगवान कृष्णले भनेको वाक्याशंलाई प्रत्येकले आत्मसात गर्नुपर्दछ ।
हातमा हात मिलाउदै प्रत्येक नेपालीले यस दुखको घडीमा आफुले सकेको गर्नुपर्छ । मौकाको फाइदा लिने हैन त्याग गर्ने समय आएको छ आफुले सक्दो त्याग गर्नु मै नेपाल र नेपालीको कल्याण र भलाई छ ।आगे तपाई हाम्रो जिम्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *