कटहरका कुरा

गणेश पाण्डे
कटहरको लागि तस्बिर परिणाम

केटाकेटीमा अग्रजले टिपेका कटहरवाट शुरु भएको यसको स्वाद अहिलेसम्म जिव्रोमा झुन्डीएको छ । वयस्क भएपछि आफै रुखमा झुन्डीएर नाम्लाको डोरी वनाएर धेरैपल्ट कटहर झारियो र खाइयो । वर्षेनी वर्षामा कटहरको झझल्को आएपनि गांउ छोडेपछिको कटहरको स्वाद लिन भने पाइएन । सधैको आपाधापी बीच पोखरामा किनेर खाएको कटहरले विर्घाको कटहरको स्वाद दिन भने सकेन । त्यसैबीच मेरा वाल्यकालका कटहरका संझनाहरु ।
*** *** ***
बर्षायाममा पाक्ने कटहर बास्तबमै एउटा मिठो फल हो । आफ्नै बारिमा फालाफाल भएको कटहर आज किनेर खाएपछि केहि लेख्ने मन भयो । सुरुमा आफ्नै कुरा गरौँ, घर नजिकैको कोल्पाटा बारिमा ३ ओटा ठुलठुलो कटहरका रुख छन हाम्रा । बिच रुखको कटहर साउन लाग्ने बेलामा पाकिहाल्थ्यो भने माथिल्लो मटर बाटोनिरको र तल्लो टंकिनिरको कटहर चाहीँ भदौँ मध्यतिर पाक्ने गर्दथ्यो । साउन लागेपछि साथी झबिन्द्रे र म बिहान बेलुका कटहरको रुखमा नै हुन्थ्यौ । बिहान छाम्दा नपाकेको भए फेरि बेलुका पनि छाम्न जान्थ्यौ । बेलुका पनि नपाकेको भए अर्को दिन बिहानै हामि पुगिहाल्थ्यौ । अलि ढिलो पुगियो भने अर्कै पनि गईहाल्ने डरले हामि चाडैनै जान्थ्यौँ । झविन्द्रे म भन्दा रुखमा चढ्नको लागि अलि बढि नै सिपालु भएकोले पनि म संग साथमा झबिन्द्रे नै हुने गर्दथ्यो । उतिबेला घरमा हजुआमा पनि हुनुभएकोले रुखमा चढेको थाहा पाए गालि गरिहाल्नुहुन्थ्यो । अनि कसैलाई बोलाएर रुखभरिका कटहर झार्न लगाएर सबैलाई काचो कटहर बाड्दिनुहुन्थ्यो । केहि कटहरहरु चाँही आफै डोकामा हालेर घरमै ल्याउनुहुन्थ्यो र दलानमा फाल्नुहुन्थ्यो । कटहर दलानमा फालेपछि दुई तिन दिनमा पाकिहल्थ्यो । पाकेको कडहर फोर्ने बित्तिकै एकतमासले गाँऊभरि यसको बास्ना जान्थ्यो । मालुंगेली आमाकोमा कटहर फोरेछन् भनेर अन्य केटाकेहिहरुपनि हाम्रो घरमा जम्मा भईहाल्थे । कटहरको सिजन आएपछि मलाई एउटा कुराको याद सधै आईरहन्छ एकचोटि अलि धेरै नै कटहर खाईएछ क्यारे २ दिनसम्म करण्डाडाको औसधी नै गर्नुपरेको थियो । बिर्घामा हाम्रो भन्दा पहिला बन्कसी भरत सरको पाक्थ्यो । लुम्छेली तोलाहरुको अलि पछि पाक्थ्यो । माथि ठानेबाहरुको पनि चाडै नै पाक्थ्यो तर त्यो कटहर चाँही हामि चाख्न पनि पाउथेनम् माथिकैले भ्याउथे । मरेङ्गदी धर्मदाईहरुको, मलेइँ आमाको, नारायण सरको बारिको कटहर पनि साच्चै मिठो कटहर थियो । जति खाएनी एक रुपिया तिर्नु पर्ने थिएन । अहिले ३०० मा सानो भुड्को कटहर किनेर खानु परेको छ ।

अंग्रेजीमा ज्याकफ्रुट भनिने कटहर वास्तबमा तपाई हामिलाई कुनै नौलो कुरा भएन । संबवत रुखमा फल्ने सबैभन्दा ठुलो फल कटहर नै हो । तराई, मध्यपहाडी र पहाडी छेत्रमा समेछ यो फल्ने गर्दछ । बाहिरी आवरण हरियो र पहेलो रंगको हुने कटहर भित्रपटि पहेलो कस्रैकेस्रा भएको मिठो फल कटहर हो । एकतमासको बास्ना आउने यस फलको भित्रको एउटा पहेलो झिल्ली हटाएर खानुपर्ने हुन्छ । त्यस्तै कटहर भित्रको बियालाई पनि फरक फरक तरिकाले खाने गरिन्छ । त्यसलाई सुकाएर कसैले अचारको रुपमा पनि खान्छन भने कसैले तरकारीको रुपमा खाने गर्दछ् । तपाई हामिलाई थाहै छ कटहर भित्रको डाठलाई भिनाजु भन्ने गरिन्छ । सामान्यतया सानो कटहरमा ५० र ठुलो कटहरमा ५०० सम्म केस्रा हुने गर्दछन् ।
कहटरमा मात्र ०।६ ग्राम चिल्लो पदार्थ र ९५ क्यालोरी हुन्छ । यसमा ४ सय ४८ मिलिग्राम पोटासियम, २३ ग्राम कार्बोहाइड्रेड, १।५ ग्राम फाइबर, प्रोटिन १।७ ग्राम, भिटामिन बी १२ ग्राम र बी ६ र म्याग्नेसियम पाइन्छ ।
यति धेरै पौष्टिक तत्व पाइने कटहरका फाइदा के के छन्ः
१ तौल घटाउनः कटहरमा स्याचुरेटेड चिल्लो पदार्थ निकै कम मात्रामा हुन्छ । यसले तपाईको शरिरको तौल बढ्न दिँदैन । डाइटिङका क्रममा कटहरको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
२ संक्रमणबाट जोगिनः यसमा भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइने हुनाले शरिरमा हुने सक्रमणबाट बच्न र जुकाको समस्याबाट बच्न मद्त गर्छ । इाइटमा एक कचौरा कटहरले तपाईको शरिरलाई चाहिने मात्रामा एन्टिअक्सिडेन्ट दिने गर्छ ।
३ मधुमेहको सन्तुलनः उच्च मधुमेहका बिमारीका लागि कटहरको सेवन निकै फाइदाजनक हुन्छ । यसमा हुने रसायनले मधुमेहको मात्रालाई नियन्त्रण गर्नका लागि मद्धत गर्छ ।
४ हाडका लागि फाइदाजनकः कटहरमा हुने पोटासियम, क्याल्सियम तथा अन्य पौष्टिक तत्वले शरिरको हाडलाई मजबुत बनाउन सहयोग गर्छ । उमेर बढ्दै जाँदा हाडमा देखिने समस्याबाट बचाउन समेत कटहरले मद्धत गर्छ ।
५ थाइराइडबाट बचाउः यसमा हुने कपरको मात्राले शरिरको मेटाबोलिज्मलाई ठिक गर्छ र हर्मोनलाई सन्तुलित गर्छ । यसकारण थाइराइडको बिरामीका लागि यसको सेवन निकै फाइदाजनक हुन्छ ।
६ पाचन प्रणालीका लागिः कटहरमा हुने फाइबरले शरिरको पाचन प्रणालीलाई सन्तुलित राख्न मद्त गर्छ । कब्जियतको समस्याबाट बचाउन समेत यसको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
७ उच्च रक्तचाप नियन्त्रणः एक कप कटहरमा यति धेरै पोटासियम हुन्छ कि यसले सोडियमको मात्रालाई घटाउन मद्त गर्छ । यस्तै, यसले शरिमा रगतको प्रवाहलाई सुचारू राख्नका लागि मद्त गर्छ । रक्त चापका बिमारीका लागि यो निकै फाइदाजनक हुन्छ ।
८ शक्तिका लागिः कटहरमा फाइने आइरन तथा अन्य पोषक तत्वले एनिमियाबाट मुक्त गर्न मद्त गर्छ भने शरिरमा शक्ति दिन समेत निकै फाइदाजनक हुन्छ ।
९ आँखाका लागि फाइदाजनकः कटहरमा गाँजरमा जस्तै, भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । यसको प्रयोगले आँखाको ज्योति बढाउन र रतन्धोबाट जोगाउन मद्त गर्छ ।
(बिर्घा ६ स्याङ्गजा, हाल पोखरा रत्नचोक )

सेनेई

Image may contain: one or more people, people standing and child
संझनाका ती दिनहरुः “सेनेई” दोश्रो लहरमा दोश्रो ।
“मिठो छ खान्छस?” मैलो चोलोको भित्रपट्टीको खल्तीवाट पाकेको खनीयो निकालेर दिने सेनेई अहिले हुनुहुन्न । उंहाका संझनाहरु मनमा अनेक छन । एक विर्सीएकी र संझने कोही नभएकी एवं इतिहासको गर्तमा विलाएकी पात्र हुन सेनेई । कहिले गाई दुहुदा वाच्छी तान्दीएको भरमा आधा दुध वटुकामा दिने वा कहिले मकैको गुरगुरेको रोटीको ठुन्को दिने सेनेई मेरो स्मृतिमा भने घरी घरी आइ रहनुहुन्छ । जीवनको खातामा खुसीभन्ने कुनै शव्द नभेटाई ईह लोक त्याग्ने सेनेई विगतको विभेदकारी सामाजीक संरचनाकी दुखान्त पात्र हुनुहुन्थ्यो ।
२२ वर्षको भर्भराउदो जावानीमा खसम गुमाएर एक्लै जीवनका कठिन उकालीहरु कहिले सुसाउदै, कहिले पछ्यौराको फेरोले आंसु पुच्छ्दै त कहिले लठ्ठीको सहारामा लतारिदै कष्टपूर्ण रुपमा २०५६ को मंसिर तिर मृत्यु वरण गरेकी सेनेईको न कोही सन्तान छन न कोही संझने आफन्त नै ।
वैसमा खसम गुमाउदाको पीडाका अलावा समाजले लगाएका अनेक लान्छना र अपहेलनाको भारी वोकेर कठिन जीवन विना कुनै गुनासो विसाउने सेनेईको उज्यालो अनुहार मेरा आंखामा वार वार आइरहन्छ । मेला पात होस या चाडपर्व हरेक वखतमा केही नौलो र मिठो खानेकुरा हातमा परेपनि चोलाको खल्तीमा लुकाएर मेरा निम्ती ल्याउन नविर्सिने सेनेई म निर्माणकी एक अदृष्य पात्र हुन । मेरा सफलता वा असफलतामा तिनै सेनेइको ठूलो हात छ ।
मौला हाम्रो घर तलको आप र कटहरका ठुला रुख भएको वारीको छेउमा सेनेईको सानो कटेरो थियो । एकातिर आफु र अर्को तिर गाई वाध्ने त्यो सानो छाप्रोमै सेनेईको इहलिला गयो । सानी आमा लाई कहिले सानीमा भन्दा भन्दै हामी केटा केटी सजिलोको लागी सेनेई भन्थ्यौ । वुढ्यौली लागेको शरिर, गोरो वर्ण, गजुर जस्तो वाटेको कपाल, छिर्केमिर्के हरियो धोती, टिपिकल आन्चलीक वोली भएकी सेनेईका सन्तान थिएनन । जुंगांको रेखी देखाएर म छोरोको भाग्य लिएर आइकीम अरे । तेई भएर अली अली जुंवा आकाउन अरे । वेला वेला सेनेई सुनाउनुअुन्थ्यो ।
लगालग जन्मीएका ३ छोराको वाल्यकालमै निधन भएपनि कसैसंग केही गुनासो नभएकी सेनेई करिव ५ वर्ष पुगेर वितेको पछिल्लो छारोले “आमा” भन्थ्यो भन्दै पटक पटक भक्कानीएको मैले देखेको छु । ग्रामीण र कठिन जीवन, खाद्यान्नको अभाव, एक्ली विधवालाई समाजले हेर्ने दृष्टीकोणका बीच उंहाको संघर्ष कठिन होइन भयावह थियो ।
उंहाको सहारा गाई थियो । सकुन्जेल गाई पाल्न कहिले नछोडेकी सेनेईको साथी भनेपनि परिवारको सदस्य भनेपनि गाई नै थियो ।
गैरा तिरको झाडी मौलाको पुच्छारमा रहेको घर भएकालेपनि होला गाईका कलिाला वाच्छा वाच्छीलाई वाघले पटक पटक चिथोरेर सेनेईका अनेक सपनाहरु तुसारापात हुन्थे । विहानैको गोठ धन्दा र घांसपात पछि आएर एक्लो ज्यानले वनाएको खानेकरा कस्तो हुन्थ्यो होला तैपनि उंहाको कुनै गुनासो थिएन । दिउसोको फेरी घांसपात र मेलापात उंहाका नित्य कर्म थिए । विहान देखी वेलुका सम्म दश नंग्रा खियाउदापनि दुई छाक धौ धौ भएरै सेनेईको जीवन वित्यो ।
सेनेईका आफन्तहरु कम थिए । सटुकाकी भान्जी र गेजाका भान्जा कहिलेकांही आउने पाहुना थिए सेनेईकोमा । पाहुना आएपनि सुताउने ठांउ थिएन । २ जनालाई पकाउने भांडा थिएन । तैपनि ती आफन्त प्रतिको माया अथाह थियो । गेजा भान्जा दाईका कान्छा छोरा अली उटपट्यागं र विचित्रका थिए । हामी केटाकेटीलाई कहिले रुख चढेर त कहिले सिठ्ठी फुकेर रेला देखाउने यी भान्जा आज भोली कंहा होलान ? सटुकाकी भान्जी दिदी के भइन होला ? कहिले कांही सेनेई भेट्न जाने दोभान अल्के दमाहारकी भतिजी कस्ती भइन होला? स्मृतिमा रहेपनि वेखवर छन यी सवै पात्र ।
खास नाम खुमीसरा पाण्डे भएपनि हाम्रा लागि प्रिय सेनेई केटाकेटीलाई असाध्यै माया गर्ने पात्र हुनुहुन्थ्यो । खराल छाया र मैले पटक पटक सेनेईकोमा खिर पकाएर खायौ । कहिले मौलेका काक्रा चोर्यौ, कहिले तामा भाच्यौ, कहिले लिची सखाप पार्यौ । हाम्रा अनेक वदमासी थाहा पाएर पनि वाल उपद्रोलाई वेवास्ता गरिदिने सेनेई अहींशाकी पात्र हुनुहुन्थ्यो ।
जीवनभर खुट्टामा जुत्ता चप्पल नलगाई इहलिला त्यागेकी सेनेईले सधै दशहरामा दिवंगत श्रीमानको श्राद्ध गर्नुहुन्थ्यो । हामी केटाकेटीलाई श्राद्धको प्रसाद खुवाउने सेनेई चाडपर्वमा भने निकै उदास हुने गरेको म संझन्छु । एक्लो र अभावयुक्त जीवनमा खुसी आओस पनि कसरी ।
जीवनको उत्तराद्र्ध अत्यन्तै कठिन भएर वित्यो सेनेईको । एक्लो र ओच्छ्यानमा परेको जीवन कती पीडा भएहोला सेनेईलाई । म त्यतिवेला काठमाण्डौमै थिए । सेनेईको निधनको खवरपछि म विर्घा पुगे । यज्ञदाईले कृया कर्म गर्नुभयो । त्यसपछि सेनेई स्मृतिमा वाहेक रहनु भएन । उंहाको सम्पति थिएन, सन्तान थिएनन । वलेको आगो ताप्ने अहिलेको जुगले निभेको आगो किन खोस्रीराखोस । न चर्चा, न संझना अतितको गर्तमा विलाएकी सेनेई घरी घरी मेरो स्मृतिमा र सपनीमा झुल्की रहनुहुन्छ ।
मलाई पाकेको खनीया ल्याइदिने, पहेलपुर परेको आंप लुकाएर राखी दिने, कोही लाहुरेले दिएको चकलेट ल्याइदिने, वाच्छी तानिदिएमात्र आंधी दुध स्वाटै डवकामा खन्याएर खुवाउने, आगनमा निस्किएर -ए “सेन वाउ” भनेर वोलाउने, पढेस, गुनेस ठूलो मान्छे भएस भनेर आर्शीवाद दिइरहेने सेनेई तंपाई दीवंगत भएपनि मेरो स्मृतिमा सधै रहीरहनुहुनेछ । मिस यु सेनेई ।

शन्दर्भ जन्म दीनको: असार महिनामा जन्मिएकाहरु कस्ता हुन्छन?

असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर यसको आ आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन । हुनत श्रीमद्भागवत गीताको १० औ अध्यायमा महनिाहरुमा मार्गशिर्श भनिएको छ । मंसिर जतिकै पवित्र मानिन्छ असार पनि । त्यसैले त भनिन्छ असारको केटो मंसिरकी केटी ।

असार २७ (जुलाइ ११) अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।

कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । अहिले बा हुनुहुन्न र काले जैसी पनि छैनन र यो क्रम पनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो ।

मेरो जन्ममिति २०३५ असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन । पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा २०३४।०८।१५ लेखिएको छ । यो आठ भन्नाले मंसिर पर्छ क्यारे । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो ३० औ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।

जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छे मरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ६८ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।

दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन । यसै महिनाको ६ गते भारतीय कांग्रेसका महासचिव तथा भावी प्रधानमन्त्री राहुल गान्धीले अफ्नो ४६ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ । मलाइपनि कतै त्यहि काकताली परेर त होइन यो लेख्न जांगर चलेको ।
खैर जे भएपनि आफ्नो जन्म दिनको आफैलाइ शुभकामना !

अलवीदा भगवती

Image may contain: 1 person, smiling, outdoor and closeup
घर एकै ठांउ भएपनि पछिल्लो पुस्ताका भाइवहिनी र हामी विचको सम्पर्क कम छ । गांउमा नभेटे नचिने पनि राजधानीको शंखमुलमा रहेको चैतन्य इन्स्टीच्युट अफ मेनेजमेन्टमा केही दिनको अफिसर तयारी कक्षा पछि म संग लजाउदै वोल्ने वहिनी थिइन भगवती थापा । मैले क्लासको अन्त्यमा आफ्नो घर विर्घा रहेको वताएपछि सर मेरोपनि घर विर्घा वासडांडा होनी भन्ने लजालु केटी थिइन भगवती ।
मैले पढेको जनतामावीमा पढेकी र म जस्तै निजामती सेवामा आउन इच्छुक थिइन भगवती । मास्टर्स सकेर शाखा अधिकृतको राम्रो तयारीमा रहेकी भगवतीमा मैले अत्यन्तै ठूलो संभावना देखेको थिए । सिकाउने र सिक्नेको रुपमा परिचय भएपनि मेरो गांउकी होनहार प्रतिभा लाग्थ्यो भगवती । उनीसंग मेरो औपचारिक वाहेक कहिल्यै कुराकानी भएन । यद्यपि उनले क्लासमा देखेएको लगनले उज्यालो भविष्यको संकेत गर्दथ्यो ।
निजामती सेवामा अव्वल प्रतिभा जन्माएको विर्घामा पछिल्लो समय त्यसको खडेरी हटाउन भगवती अगाडी आएकी थिइन । मैले आशा गरेका नंया पुस्तामा टंलेहवा लोकहरी थापा पछि भगवती थिइन । लोकहरी शाखा अधिकृत भइसकेका छन भने भगवती निकट भविष्यमा हुने वाला थिइन । शंभवत साउनको अन्तिममा हुन लागेको यसवर्षको शाखा अधिकृतको नतिजामा भगवतीको पनि नाम आउनेछ । तर विडम्वना अव उनले आफ्नो नाम गोरखापत्रमा छापिएको कहिल्यै पढ्न पाउने छैनन ।
विहिवार विहानै कोलम्वीया एकेडेमी वानेश्वरमा प्रहरी सहायक निरिक्षकको तयारीमा रहेका युवाहरुसंग छलफल गर्दैगर्दा अनायास आएको मित्र वुद्ध थापाको फोन कल उठाउ की नउठाउ भन्ने द्धिवीधासंगै अनायासै उठाए । सामान्यतया कक्षामा रहदा नउठ्ने फोन यही अप्रिय खवर सुन्न उठेको रहेछ । फोनको अर्को टुंगोमा वुद्धजी सुसाउनु भयो यो टुंगोमा म सुसाए ।
असार २१ गते वुधवार दिउसो आफुले उतिर्ण गरेको मास्टर्सको सर्टिफिकेट लिन परिक्षा नियन्त्रण कार्यालय वल्खु जादैगर्दा पछाडीवाट ट्रकले दिएको ठक्करले भगवतीको घटनास्थलमै निधन भएको थियो । वाइक चालक सकुसल रहेको र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई कालीमाटीमा राखेको खवर आएको छ ।
कार्वाहीको प्रकृया र क्षतिपूर्तिको प्रकृयाका विषयमा जानकारी लिएर वुद्धजीले फोन राखे पनि मेरो स्मृतिमा भगवती वहिनी आइरहीन । गएको चुनावमा विर्घामा भेट भएकी भगवतीसंग संयोगले गल्यागंवाट हामी एउटै माइक्रोमा काठमाण्डौ आएका थियौ । तिनै प्रतिभाषाली वहिनी भगवतीको दुखद दुर्घटनावाट भएको निधनले विर्घा र त्यस क्षेत्रले एक होनहार प्रतिभा गुमाएको छ ।
भगवतीको मृत आत्माले शान्ति पाओस । अलविदा भगवती वहिनी ।

आंधी बगरका शालिग्राम

Image may contain: 1 person
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो भेटमै गम्लगं अगालो हारेर झन्डै २ घन्टा हामी गफिएको देखेपछि मेरा सहयात्री सन्तोष न्यौपानेलाई यो हाम्रो पहिलो भेट थियो भनेर पत्याउन त्यति सहज थिएन । एक हप्तामा दोश्रो पल्टकालागि तयार भएको सिंगापुर यात्रा मेरोलागि त्यति उत्साहप्रद थिएन । यद्यपि आयोजकले गरेको होटल वुक, प्लेनको टिकट र उनीहरुको अपेक्षालाई निराश वनाउन नचाहेको म सन्तोष न्यौपानेको साथ मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल तिर हुर्रिएको थिए ।
यद्यपि कृष्ण सर भन्ने वित्तिकै अनुप जी भन्दै अंगालोमा वेर्ने व्यक्तित्व हुनुहुन्थ्यो कृष्ण पौडेल । स्यागंजाको दरौ सिरुवारी अर्थात हालको अर्जुन चौपारी गांउपालिकामा जन्मीएपनि कर्मभूमी सिंगापुर वनाएका कृष्ण सर मुलुक वाहिर रहेपनि देशको चिन्ता र चासो लिइरहने थोरै जानकारमा पर्नुहुन्छ । तिनै कृष्ण सरसंगको न्यानो यात्राको आकस्मिक साइतले सिंगापुर यात्रा भने रमाइलो हुने वाला नै थियो ।
विहान एपेक्सको कक्षा, दिउसो भुकम्प पीडितका लागि गोलाप्रथद्धारा वितरण गरिने ट्याक्सीको नंवर प्लेटको तारतम्य मिलाएर म विस्तारै एयरपोर्ट लागेको थिए । सरल चेकजांज पछि वेटिगं रुममा जादा मैले वर्षौ देखि न्यानो महसुस गरेका तर जन्मजात भेट नभएका कृष्ण पौडेल सरको आकृति भेटे ।
जीवनमै पहिलो पल्ट भेट भएका हामी दुईको भलाकुसारी र केही घन्टा उभिएरै गरेको आत्मिय कुराकानी विचित्रको थियो । एउटै फ्लाइटवाट मलेसीया हुदै चांगी एयरपोर्ट पुग्दा सम्म उंहाले पटक पटक दर्शाएको आत्मियता गजव थियो । नछुटाएर मेरो व्लग पढ्ने र मसिना विषयमा पनि कमेन्ट गर्न झिझो नमान्ने कृष्ण सरको विर्घा र त्यहाका वासिन्दा प्रतिको अनुराग अचम्मको थियो ।
अंग्रेजी भाषामा दखल भएपनि नेपाली भाषाको गहिरो ज्ञान भएका कृष्णसरसंग गफिदा लाग्दैनथ्यो उंहा लामो समय देखि मुलुक वाहिर हुनुहुन्छ । मैले गांउ घरमा पाइने र हामी केटाकेटीमा गाई चराउन जांदा खाने जामुनाका विषयमा लेख्दा त्यसको जराजरा केलाउदै यसलाई चुत्रो पनि भनिन्छ तर कतै फडियार भनेपनि फडीयार अली ठूलो हुन्छ भनेर वाल्यकाल संझाइदिने कृष्णसर देश विदेशका अनेक घटनाक्रम र विषय वस्तुसंग परिचित भएको र उंहाको ज्ञान भन्डार देख्दा मलाइ पनि लोभ लाग्यो ।
अध्यात्म देखि अर्थशास्त्र, योगी देखि भोगीसम्मका विषयमा ज्ञान राख्ने कृष्ण सरसंग सिट नमिलेपछि हामी चांगी एयरपोर्टमा वल्ल भेट भयौ । फोन, भाइवरमा कुरा गरौला भनेर हाम्रो अनुकुलता अनुसार डिनरकालागि आमन्त्रण गरेका कृष्ण सरसंग चेक आउट भएपछि पुन भेट भयो ।
चिसो तातो अलीअली त लिनुहोलानी भन्दै ड्युटी फ्रिवाट फुत्त निस्किएका कृष्ण सरसंग सिंगापुर पुगेको तेश्रो दिनमात्र भेट भयो । निरन्तर हामीसंग कन्ट्याक्ट गरिरहेका कृष्णसरले ग्रयावको ट्याक्सी वुक गरेर हाम्रो होटलमै लिन पठाउनु भयो । चांगी एयरपोर्टको एउटा मस्त वंगलोमा वार्वीक्युकालागि सामेल गराएर परदेशमा पनि विरानो हुन नदिन उंहाले पटक पटक तपाइहरुलाई केही असुविधा त भएन भन्दै चिन्तित भइराख्नु भयो ।
चांगी एयरपोर्टको छेउमा जंगल र समुद्रको दोभानमा हाम्रालागि इन्द्र, दिपक लगायत सिंगापुर पुलिसमा कार्यरत मिजासीला मित्रहरुसंग समेत मुलाकात गराउने कृष्णसर भोजन र आतिथ्यताका कारणले होइन ज्ञानका कारणले मेरो लागि आंधी किनारको शालिग्राम हुनुभयो ।
आंधीखोले सभ्यता अन्तर्गत पर्ने स्यागंजाको दरौ सिरुवारीमा जन्मीएका कृष्ण सर गांउ नजिकैवाट वग्ने आंधीखोलामा पनि शालिग्राम पाइदो रहेछ भन्ने प्रमाण हुनु भयो । समयक्रमले गर्दा इच्छा भएपनि प्राविधिक कारण निजामती सेवामा नआउनु भएका कृष्णसरले होइन नेपालको सार्वजनिक प्रशासनले एक होनहार प्रतिभालाई गुमाए जस्तो लाग्छ । जुन क्षेत्रमा भएपनि अव्वल कार्यसम्पादन भएका कृष्ण सरको जीवन सफल, सहज र सरल वन्नमा सावित्री मेडमको ठुलो हात रहेका थाहा पाउन मलाई चांगीको वार्वीक्यू पार्टी काफी थियो ।
जलेश्वरदाईका सहपाठी कृष्ण सरले सवैप्रति देखाउन सकेको सदासयता गजव लाग्छ । केही समयमै मुलुक फर्कीने सोच वनाएका कृष्ण सरको स्वदेश आगमन पछिको वांकी व्यवसायीक यात्रा सहजै होला भन्न सकिन्छ ।