रोपाइ चल्दै

असार मानो खाएर मुरी उव्जाउने महिना हो । यद्यपि विर्घामा धेरै जसो रोपाई साउनमै हुन्छ । सम्म मिलेको उपत्यका भएपनि यंहा पानीको भने चरम अभाव छ । यद्यपि वर्षाले रोपाई असहज वनाएको छ ।
यस पटक कम वर्षा भएकाले पानीको समस्या टड्कारो वन्यो । समयमै राम्रो वर्ष नहुदा रोपाइमा समस्या देखिएको छ । धानको विउ खेतमा छिपपीदै गएपनि पानी नहुनाले सिमित पानीका कुलामा झगडा भएका कुरा सुन्न पाइएको छ । “मरेंगदाको कुलाका विषयमा विष्णु दाईले त पिटाइ खाए गरेनी ।” विहानै विर्घा फोन गर्दा शुन्न पाइयो । पानीको पर्याप्तता नहुदा उत्पादनमा विर्घाले जहिलेपनि समस्या भोग्दै आएको छ । दुख सुख शुरु भएका रोपाइका विभिनन तस्विरहरु ।
252745_230689886948099_2286315_n
विर्घा भुष्टुंगमा रोपाइ गर्दै स्थानीय महिलाहरु । पृष्ठभूमीमा पदम सर घनस्याम काका को घर र नांगे डाडा देखिन्छ ।
1002843_595584797131420_1799472863_n
विष्णु घर्तिले खिचेको तस्विरमा खेत सम्याउदै गरेको देखिन्छ भने खेतको बीचमा हिलाम्मे सडक ।
Photo
टारी खेतमा रोपाइ गरिदै पृष्ठभूमिमा जनतामावी अर्चले ।

वर्खाको वाटो

मिर्मी वाट विर्घा जाने वाटो यतिवेला ठांउ ठांउमा अवरुद्ध छ । ठुला वसहरु त वर्खा भरी यो वाटोमा हिड्दैनन । स्थानीय जिप पनि वाटो अवरुद्ध हुंदा कष्टकर यातायात गर्न वाध्य छन ।
वाटो पक्की हुनु पूर्व यस वाटोको स्तरोन्नती गर्नु पर्ने भएकाले अझै केही समय यो वाटो कच्ची नै रहने छ । यद्यपि त्यस सम्वन्धी काम भने अगाडी वढी सकेको छ ।

आयो डोजरः वाटो विग्रेपछि डोजर लाएर सफा गरिदै कइन्डाडामा ।

पल्टिएला कीः वर्खाको हिलामो कष्टकर यात्रा गर्दै जिप विर्घा ५ हिरन्डाडामा ।

हाम्रो प्रयास कम छैनः वाटोमा जमेको पानी हटाउदै स्थानीय ।

ताल हो की सडकः पानी जमेको वाटो र घांस भारी सहित आउदै लुंछेली यज्ञमूर्ति ।

जन्म दिनको आफैलाइ शुभकामना !

असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर यसको आ आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन । हुनत श्रीमद्भागवत गीताको १० औ अध्यायमा महनिाहरुमा मार्गशिर्श भनिएको छ । मंसिर जतिकै पवित्र मानिन्छ असार पनि । त्यसैले त भनिन्छ असारको केटो मंसिरकी केटी ।

असार २७ (जुलाइ ११) अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।

कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । अहिले बा हुनुहुन्न र काले जैसी पनि छैनन र यो क्रम पनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो ।

मेरो जन्ममिति २०३५ असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन । पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा २०३४।०८।१५ लेखिएको छ । यो आठ भन्नाले मंसिर पर्छ क्यारे । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो ३० औ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।

जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छे मरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ६६ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।

दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन अरे । यसै महिनाको ६ गते भारतीय कांग्रेसका महासचिव तथा भावी प्रधानमन्त्री राहुल गान्धीले अफ्नो ४४ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ । मलाइपनि कतै त्यहि काकताली परेर त होइन यो लेख्न जांगर चलेको ।
खैर जे भएपनि आफ्नो जन्म दिनको आफैलाइ शुभकामना !

फडीयार, समय र म

Photo

लामो समयपछि एक दिनका लागि विहानी मेलोवाट विश्राम मिलेको थियो । मिलेको थियो पनि कसरी भन्नु क्वाटरफाइनल चरणको अन्तिम गेम हेर्न मिलइएको थियो । तर के गर्नु पापी निद्राले गेम हेर्न दिएन । विहानै एक मित्रले सानो ठिमी आसपास एक घन्टा कुदाए । करिव एक घन्टाको कुदाइमा म लखतरान भएको छु । शरिर तातेको छ । हर्रर्र ज्वरो आउला जस्तो भएको छ । दिन भरीमा मुस्किलले १०० मिटर पैदल हिड्ने म पुरै व्रोइलर कुखुरा भएको रहेछु । हे भगवान यस खाल्डोमा वस्ने अधिकांश त्यस्तै त होलान ।
गांउ थियो मित्र थिए , पौडिने वानी थियो, आफ्नै पोखरो वा कुलाको बहाद थियो । यति पनि नभए अरुवा थियो । सके काली गन्डकी थियो नसके छेउमा पानी जमेका ढोब्ला थिए । पौडाइ थियो, अरुवा सम्मको दौडाइ थियो । साथ थियो, साथी थिए । भोक लागे आप थियो । तिर्खा लागे अमला थिए । स्कुल जान दुख लागे पुट दुखेको वहाना थियो । घांस काट्न अल्छी लागे हात काटेको अभिनय थियो । लाग्दो हो दुख थियो, अभाव थियो, जीवन कठिन थियो ।
वर्षौ पछि आएर यो व्रोइलर जिन्दगीमा आइपुग्दा मनले गम खादैछ जे थियो त्यही थियो । जे छ त्यही छ । जो थिए त्यही थिए । फडियार पाक्थे, आप पाक्थे, कटहर पाक्थे, मकै खाने वेला हुन्थ्यो । के थिएन गांउमा । सवै चिज थिए । नभएका चिज छन भन्ने नै चिन्ता थिएन त्यसैले दुख भएपनि गांउले जीवनमा सन्तोष थियो ।
वर्षामा पानी वढेर खोला तर्न नसकिने हुन्थे, नंया नंया ठांउमा पानीका मुल पलाउथे । धान रोपेर मकै थन्क्याउदा नथन्क्याउद जनै पूर्णीमा आउथ्यो । लट्टाइमा धागो वात्ने, जनै वाट्ने श्रृंखला शुरु हुन्थ्यो । घुर्रा घिर्याउदा आनन्द आउथ्यो । बा दाइहरु जनै वाट्थे हामी घुर्रा घुमाएको रमाइलो हेथ्र्यौ । जनै मन्तर्नका लागि दोडा दौड हुन्थयो । दुवै हातमा भान्जा दाइ वा भिनाजुले डोरो लगाइदिएपछि वल्ल खानपिन हुन्थ्यो । जनै साटिएलान वा हराउलान भनेर मन्तर्ने ठांउमा करेला, वोडा या वट्टा वाधिन्थ्यो आफनो जनैको झुप्पामा ।
जनै पूर्णीमा सकिएको छैन रमाइलो पर्व तिज आइपुग्थ्यो । दमाइकोमा लुगा सिलाउने घुइचो शुरु भइहाल्थियो । वेलैमा लुगा नकिने सिलाउन भ्याइन्थीएन । सानो तिजसंगै दिदी वहिनी लिन जाने चटारो शुरु हुन्थ्यो । तिजको अघिल्लो दिन दिउसै वाट दर खानु नाच गान गर्नु र पहर पहर खानु क्या रमाइलो हुन्थ्यो । तिजको दिन सवेरै अर्चलेमा गएर नाच गान हेर्नु, सिठी फुक्नु र वेलुन उडाउनु वा क्या स्वर्णीम दिन थिए । जनतामावी बीचै वाट वग्ने कुलोमा खुट्टा धुन, चप्पल वगाउनु कस्तो वाला पन थियो ।
जनै पूर्णीमाले शुरु गरेको चाड पर्वको श्रृंखला दशै तिहारमा गएर टुंगिन्थ्यो । आप कटहर मात्र होइन घिरौला, काक्रा, करेला र चिचिन्डा यही सिजनमा फल्थे । ठुला झेक्रा लगाएर फलाइएका यस्ता तरकारीको स्वाद अव कंहा पाउनु । अहिले त काक्रा काक्रा जस्तो छैन करेला करेला जस्तो, सवै स्वाद हराए जस्ता ।
तिजमा गीत छैन पंचमीमा नाच छैन । गांउनु या नाच्नुको साटो कतिवेला वत्ती आउला र टीभी हेरौला भनेर वस्ने जमात वढ्यो । खाली खुट्टा कट्टी स्कुल सम्म जानु, कुलाका वाहादमा पौडिनु, सुरेली खेलेर फडीयारका रुखमा पुग्नु वा क्या दिन थिए ती ।
यो अपाधापीमा, यो लाभ हानीमा, यो देखाउनु पर्ने र जान्ने या हुने पल्टीनु पर्ने शहर र समाजमा म घरी घरी तिनै दिन संझीएको छु । जंहा अभाव थिए, दुख थिए तर त्यहा जीवन थियो । वाच्नुको सार थियो । मान्छे प्रकृतिसंग नजिक थियो । कोही फर्काइदेउ त्यो मरो वालापन…………….