वाल्य कालका दशैहरु

सम्बन्धित छवि
आज घटस्थापना अर्थात दशैको पहिलो दिन । आज घर घरमा राखिने जमरा अवको दश दिनपछि टाउको र कानमा सिउरिने छ । अवका दश दिन शक्ती पिठ र देवी दुर्गाको आराधना गरी दशै मनाइने छ । दशै हामी सवै नेपालीको ठुलो र महत्वपूर्ण चाड हो त्यसैले पनि दशै वरावर अरु चाडको महत्व छैन । त्यसैले त गरिव होस या धनी, स्वदेशमा रहेको होस या परदेशमा रहेको सवैको मन मष्तिष्कमा दशैले छुट्टै उमंग ल्याउछ । हर परदेशीको चाहना हुन्छ दशैमा घर आउने परिवार, आफन्त र साथीभाईसंग भेट गर्ने, रमाइलो गर्ने, वर्ष भरीको पीडा विर्साउने ।
उमेर छिप्पीदै जादा चाडपर्वका रौनकहरु कम भएपनि वाल्यकालको दशै संझीदा मन त्यसै त्यसै रोमान्चित हुन्छ । कठिन भएपनि रंगिन दिनहरुको याद आइहाल्छ । शारदीय मौषमले दशै आगमनको संकेत दिदा र साथीभाईहरु घरतिर जादै गर्दा म पनि त्यसै त्यसै नोष्टाल्जिक भएको छु ।
हामी केटा केटी हुदा सोर्ह श्राद्ध शुरु नहुदै मौलाको पहिरोमा कमेरो लिन आउने र वोडधयरे धनपतिकोमा रातोमाटो चोर्न जानेको हुल लाग्थ्यो । हुंदा खादाको खरवारी खन्दिने डरले धनपति बा हैसा हातमा लिएर दशै भर खरवारी रुगेर वस्नुहुन्थ्यो । हुलका हुल आइमाइ केटा केटी मिर्मी देखि कमेरो लिन मौला खोलामा आउथे । मौला खोलामा घर पोत्न कमेरो लिन आउनेहरुको मेला लाग्थ्यो । हामी मौलाका वासिन्दा भएर पनि होला यी दृष्य सधै मन मष्तिष्कमा ताजा छन ।
सोर्ह श्राद्ध शुरु भएपछि कपाल खौरिने र पिन्डदान गर्नेहरु घरैपिच्छे हुन्थे । हुन त पिन्डदान अहिलेपनि प्रचलित छ । तर त्यतिवेलाको सोर्ह श्राद्धको रौनकै वेग्लै थियो । चिफल्डाडे वेदुवा रामप्रसाद, पुच्छार गणेश प्रसाद, हिरन्डाडा हरिप्रसाद र खराल तिलचन बा हरुको व्यस्तता हेर्न लायक हुन्थ्यो । काक्रा, वेलाउती, पाकेका केरा, मासका फुरौला, घिउमा पकाएका सेल र पिन्ड वनाएर वचेको खिर श्राद्धको प्रसाद हुन्थ्यो । पन्डित लाइ दक्षीणको चासो भएजस्तो हामी केटाकेटीलाई कतिवेला श्राद्ध सकिएला र प्रसाद पाइएला भन्ने ठुलो चासो हुन्थ्यो । श्राद्ध सकेर पिन्ड गाइलाई खुवाउन लानु पर्नेमा कति केटाकेटीले वाटोमा आफै पनि पिन्ड भोजन गर्थे । श्रोर्ह श्राद्ध चाड जत्तिकै रमाइलो हुन्थ्यो ।
birghaको लागि तस्बिर परिणाम
क्षेत्रपाल पुजाको रौनक !
श्रोर्ह श्राद्ध सकिएपछि आउथ्यो घटस्थापना । भित्रको कोठीमा आमा, दिदीहरुले लिपपोत गरेर जमरा राख्नुहुन्थ्यो । विहान विहान नुहाएर जमरामा पानी राख्नु नित्य कर्म थियो । घटस्थापना पछिको रौनक थियो क्षेत्रपाल पुजाको । हरेक सप्तमीमा क्षेत्रपालमा लाग्ने पुजा हाम्रा लागि सानो दशै वरावर थियो । षष्ठी चोखा राखेर सप्तमीमा वोका डोर्याउदै र नुहाइ धुवाई सरजाम लिएर लागिन्थ्यो क्षेत्रपाल तिर । क्षेत्रपालमा गजव नियम थियो जो ढिलो आउछ छिटो प्रसाद उसैले पाउथ्यो । हुनत दैलातुंग फाट, विर्घा ढाव र मधेस तिरवाट समेत आउने भक्तालुलाई छिटो प्रसाद दिने चलन अहिले पनि कायमै छ ।
क्षेत्रफलमा वन्दुक नपड्काई प्रसाद खान पाइदैनथ्यो । मन्दिरमा खिर, खाजा, रोटी मासु पाकेपछि प्रसाद वाड्न शुरु हुन्थ्यो । विर्घामा जनसंख्या वढेपछि मिर्चन्डी र गांउ गरी २ ठांउमा क्षेत्रपाल राखियो । क्षेत्रपाल पनि महादेवकै एउटा स्वरुप हो । शिवको स्वरुप हो । क्षेत्रपाल पुजामा मरेग्दां प्रर्वन्ध बा, हिमलाल बा, कात्तिके फर्सुराम काका, फेदी देवीसर लगायतको सक्रियता र फुर्ती फार्ती हेर्न लायक हुन्थ्यो । वोका हुनेलाई नै टाउको दिने र नहुने बीचरा हेरीराख्ने सामन्ती सोच त अझैपनि यदाकदा क्षेत्रपालमा देखिन्छ । त्यो हिजोको विरासत होला जस्तो लाग्छ ।
क्षेत्रपालमा बोकाको टाउको र समक्षे पुजाको बोकाको मासुको चर्को चर्को झोल खाएर आएपछि रातभर पानी खाइराख्ने उपक्रम चलिरहन्थ्यो । नवमीको दिन आलम जानु छुट्टै आकर्षण थियो । नवमीका दिन सवैका घरमा झ्वाई झ्वाई सेल पाक्थे । गावै भरीवाट सेलको वास्ना आइ रहन्थ्यो । दशैका दिन टिका लाएर प्रसादको रुपमा सालको टपरी, दुनामा सेल र अचार वाड्ने परम्परा भएकाले पनि सेल पकाउनु अनिवार्य जस्तै थियो । हामी केटा केटी हुंदा सेलका लोभले दिनभरी नै सवैका घरमा गएर टिका लगाउथ्यौ । टिका र आर्शिवाद भन्दा पनि सेलको आकर्षण थियो त्यो । दुवै हातमा सिउरेका सेलका माला वनाएर सांझमा घर आइपुगिन्थ्यो ।
सम्बन्धित छवि
लसर्घा डांडाम अवस्थीत प्रसिद्ध आलमदेवी थान !
पाहुना पाछालाई टिका नलगाइदिई नखाने भनेर आमाहरु दिनभर भोकै वस्नुहुन्थ्यो । त्यो क्रम आजका दिनसम्म पनि जारी छ । सांझमा घुर्मैला जुनमा पाहुना पाछाहरु आउने क्रम रातीसम्म रहन्थ्यो । निदमा लठ्ठीएका हामी केटाकेटीलाइ पनि दिदी भिनाजुलाई टिका लाइदिनु पर्छ भन्दै उठाएको हिजो जस्तै लाग्छ । मान्यजनवाट आर्शिवाद लिने दशैमा हामी केटाकेटीवाट टिका लगाइदिनु पर्ने सन्दर्भ भने नमिले जस्तो लाग्छ । यद्यपि अभिभावकको मन दुखाउन र क्रन्तिकारी हुन भन्दा जे सुकै होस भनेर आफु भन्दा ठुलाबाट अहिले पनि टिका लगाउनु साटो पाहुना भन्दै टिका लगाइदिइन्छ ।
दशैको भोलीपल्टको एकादशी सधै नरमाइलो हुन्छ । दशै सकिएको पीडा । अर्को दशै आउन एक वर्ष लाग्ने यथार्थता र पाहुनाहरु फर्कीने क्रम संगै दशैको उदासीले ढाक्थ्यो । केटा केटीमा त्यस्ता पीडाले ढाक्ने दशै कामको शिलशिलामा शहर वस्ने वाध्यतामा परेपछि भने घर, आफन्त, साथीभाई, चुर हरियो गांउ छोडेर फिर्नु पर्दा शुन्य लाग्छ ।
birghaको लागि तस्बिर परिणाम
विरिघैको गांउ संगै संगै जांउ रमाइलो छ ठांउः लसर्घा डांडावाट देखिएको विर्घा ।
यही स्वदेश, आफ्नै माटो, आफ्नै कार्य क्षेत्र र आफ्नै पन भएको ठांउमा फिर्दा त हाम्रो मुटुमा गांठो पर्छ । यी सारा चिज छोडेर आफ्ना र आफन्तलाई रुवाउदै फर्कीने ठेगान नभई परदेशिनेको मन कति रुदो हो । म आउदै गरेको सवैभन्दा ठूलो, उमंगको, रंगीन, रोमान्चक र सवैलाई, भेट्ने र आर्शिवाद लिने चाडमा अनेक उल्झन र वाध्यताले घर फर्की आउन नपाउने तमाम मित्रहरुलाई मिस गरीरहेको छु ।
यी हरफहरु काखे कम्प्युटरमा टाइप गरी रहंदा सिमाना फिल्मको कुमार सानुको गीत गुन्जी रहेको छ । जंहा मैले परदेशमा रहेपनि गांउ मिस गरीरहेका शुरेश, नारन, कृष्ण, शिव, हरि, मोती, हुमनाथ, कालीदाश, धुर्व, शोभा,सानु लगायतका तमाम मित्रहरु एकपछि अर्को गर्दे संझीरहेको छु ।
उकाली ओराली गर्दै, आंखा भरी रहर भर्दै
आंधी वेरी संग लड्दै, खोला नाला सागर तर्दे
दुख पीडा विर्सदै म आए, परदेशवाट फर्की आए
आफ्नै गांउ फकी आंए, नंया नंया सपना ल्याए…

Leave a Reply

Your email address will not be published. Required fields are marked *