विदा, विगत र स्मृतिहरु

“कुन मन्दिरमा जान्छौ यात्रु कुन मन्दिरमा जाने हो…
कुन सामाग्री पूजा गर्ने साथ कसोरी लाने हो…”
मन पसन्द गायक रविन शर्माले फिल्म वासुदेवका लागि गाएको गीत छेवैमा नया ओजमा वजिरहेको छ । म भने आजको धपेडी पछि निक्लेको विदाको सदुपयोग गर्दै स्मृति र संगीतको फ्युजन निकाल्दै छु । शहर सधै उस्तै हो व्यस्ततामा दौडीरहेको छ । शहरको गति हेर्दा लाग्छ यो रोकीने छैन । उत्तर आधुनिक वजार व्यवस्थाले शहरलाई फेरी कैयौ वर्ष यसै गरी दौडाउने छ । त्यसैल शहर अमूर्त छ । लोभी छ र श्रोतको पछि लागि रहन्छ । पैसा अर्थात श्रोत हुनेलाई शहर स्वर्ग होला । किनकी यंहा जस्तो आरामका मामला गांउमा कम हुन्छन ।
आधुनिक शहरका साझा विशेषता हुन्छन । प्रतिस्पर्धी वजार, व्यस्त मानिस र भावना विहिन समाज । शहरले नाफा घाटा हेर्छ त्यसैले शहरमा आत्मियताको लेस रहदैन । कसैलाई चासो हरदैन त्यस्ता सम्वन्धहरुमा । नेपालको काठमाण्डौमात्र होइन, भारतको मुम्वइ या मलेसीयाको क्वालालम्पुर होस । विकसित भनिएका देशका टोरन्टो, सिड्नी वा आम्स्टर्डम सवैतिर व्यथा एउटै हुन्छ ।
भावना र आत्मियताको चौतारी त गांउ हो । गांउमा अभाव हुन्छ । जीवन कठिन हुन्छ तर सम्वन्धहरु सरल हुन्छन । गांउमा साख्खै हुने छिमेकी शहरमा अपरिचित भइदिन्छ । अर्म पर्म र मेला पात साटिने भावना शहरमा असंभव जस्तै हुन्छ ।
त्यसैले त मानवीय भावनाकालगि म गांउका कुरा गर्छु । गांउका कुरा गर्नुमा हुने आनन्द अन्त कंहा पांउनु ।
“हर रात सपनीमा ऐठन हुन्छ
गांउमा सायद पैरो गयो की…
डांडा माथीको घामलाई हेर्छु
बाबा र आमा संझी रहन्छु…”
दिप श्रेष्ठले राग तानी रहदा म पनि त्यही गांउ संझन्छु । जंहा हरेक वर्षामा साना ठूला अनेक पैराको शिलशिला गासिन्छ । मेरो वाल्यकालदेखिको कमेरो वग्ने मौलाको खोलो मात्र होइन भन्जिंगको पहिरो पनि झल झली आंखामा आउछ । भन्जिंगको पहिरोका पर्याय वनेका मोहनीलाल खराल, भुतका कथा सुनाउने कइनडाडे शालिकराम मात्र होइनन हामी स्कुले हरुलाई नमस्कार गर्न सिकाउने कटवाल पनि संझनाका तरेलीमा श्रृखलावद्ध छन ।
अग्लो ठांउमा वसेर घोक हाल्ने कटवालले भनेको ……भोली शुन्न पाइन भन्न पाइने छैन हई । अहिलेपनि कता कता मनको अन्तर कुन्तरमा वजे जस्तो लाग्छ । अव कटवाल पनि शूदुर अतित भइसकेका छन । हुनत उनै कटवालको नाती नारनले अझैपनि घोक हालेर हजुर वाउको विंडो थामेको छ । त्यै पनि कंहा ती कटवालको ओजपूर्ण स्वरको जांदु कंहा नारनको रहर ।
वर्षामा ज्यादा संझना भन्जिंगको किन पनि आउछ भने पहिरोको लागि भन्जिंग प्रशिद्ध थियो । नाजाने ठूलो पहिरो देखेर हामी यो त नेपालकै दोश्रो ठूलो पहिरो हो भनेर गफ पनि लगाउथ्यौ । नेपालकै ठूलो पहिरो कंहा छ? यो कसरी दोश्रो ठूलो भयो हाम्रो सरोकारको विषया थिएन । वस हामी भन्थ्यौ यो नेपालकै ठूलो पहिरो हो यार ।
शरेशसंग भन्जिंगतिर जानु ठूलै स्वरमा पहिरो नै थर्किने गरी
“भेटुं भेटुं लाग्छ तिमीलाई गोधुली सांझमा
रम्दैन यो मन जव कुनै फुलको माझमा
फैलीयो माया दुवो सरी, कहिल्यै घटेन….”
गांउनुको मजा वेग्लै थियो । वारिचौर तिर जानेहरुलाई जिस्काउनु पर देखिने काली नदीका अनेक किंवदन्ती सुनाउनु । वासटारी फांटमा भएका ठूंगालाई गोरु हुन भनेर वाजी लगाउनु । कहिले कांही पहिरोमा घोरल देखिए लखेट्नु । वडा रमाइला दिनचर्या थिए ।
लामो समय भन्जिंगमा विताएका मोहनीलाल खराल लिजेन्ड थिए — वाघका । वाघका कथा सुनाएर रमाइलो गराउने मोहनीलाल वितेको पनि वर्षौ भयो । यद्यपि हर कुरामा सक्रियता देखाउनु पर्ने मोहनीलाल संझनामा आइरहन्छन । कट्टीको वसाइमा पनि वुढाले गफ हांकेर रमाइलै गराउने गर्दथे ।
हुनत समाजका मै हु भन्ने भन्दा पनि सिमान्त पात्रहरु मेरा निम्ती प्रिय रहे । वाहिर खोक्रो गफ दिने र व्यक्ति पिच्छेका अनुकल गफ दिने भन्दा आफ्नै मिठो मसिनो खाने र सरल जीवन शैली जिउनेहरु पुज्य हुन्छन समाजमा । तिनै मध्येका थिए मोहनीलाल खराल ।
वढेका मकै वजाउदै दौरीनु, वढेका खोलामा कुला वनाउनु, कुलांका वाध वा पोखरामा पौरीनु, भोकाउदा आप खानु, तिर्खाउदा अंजुली भरीको पानी खानु मौका मिले गनवहादुर दाईको रमी पार्नु अनेक स्मृतिहरु छन कलिलो वयका । तिनै स्मृतिहरु उघ्राएर शहरको एकान्तिकमा वस्दा पनि रमाइलै हुदो रहेछ । वुढो गोरुले घांस उघ्राएर चपाएजस्तो मपनि तिनै स्मृतिका पत्रहरु केलाई रहेको छु । भर्चुवल वल्र्डमा मित्रहरुले हाम्लेपनि गांउ मिस गर्याछम है भन्दा एक्लै मुस्कुराई रहेको छु । यो फुर्सद निकालेको समयमा भर्खरै भौतिक देह त्यागेका अमर गुरुगंले गाई रहेका छन र मपनि स्वरमा स्वर मिलाउन खोजी रहेको छु…
“तिमी भुलमा पर्याै
म पनि झुक्कीए
यो भेटघांटलाई एक संगम भनी
नलागी कतै चोट अव छुटौ हामी
मिल्दैन यंहा दस्तुर भनी…………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *