कति रंगीन छ जिन्दगी !

अक्सर म विषय तयार पारेर शिर्षक राख्छु । यस पटक शिर्षक तयार पारेर विषय लेख्दैछु ।

विहान उठ्न नभ्याउदै चराहरु चिरविर गर्छन । भुक्क उठेका वादल निमेषभरमै हराउछन र रापिलो घाम ठोक्कीन आइपुग्छ । शित पर्न सुरु गरेको छ । तुयल लागेको छैन त्यसैले पाखाका हिमाल आखैमा ठोक्कीन आईपुग्छन । समयले ल्याएको विकास नै सही काठमाण्डौमा धुलो उड्न कम भएको छ । नियमनकारी निकायको सकृयताले ठेकेदारहरु प्रेजेक्ट होल्ड गर्ने भन्दा काम छिटो सक्ने ध्याउन्नमा छन । त्यसैले सकड चिल्ला छन ।

सिजनमा वर्षा ज्यादा भएकोले होला हरियालीमा रत्तीभर कमी आएको छैन । लक डाउनले मानिसलाई घरभित्र मात्र थन्क््याएन केही सिर्जनशिल पनि वनाएको छ । कौषीमा मात्र होइन गमला, पुरना वाल्टी या वोतलमै सही विरुवा रोप्ने क्रम चलेको छ । वाहिरको मौषम रंगीन छ । लेखनाथ पौड्यालले दशै कवितामा व्याख्या त्यसै गरेका होइनन । हिलो मैला सबै हटेर मौषम मादक वनेको छ । बाली पाक्न लागेको छ । सागपात फल्न लागेको छ ।

त्यसैले आश्विनलाई माषहरुमा सर्वाेत्त्तम त्यसै भनिएको होइन । जन्मका आधारमा पनि आश्विनमा जन्म लिनेहरु रोमान्टीक, रमाइला, हासी खुशी रहन मन पराउनेहरु हुन्छन । यो सबै समयको प्रभाव हो । स्टेफेनी मियरले भने जस्तै जब जीवनले सय वटा रुने कारणहरु दिन्छ भने तिमीले हजार वटा हास्ने कारणहरु खोज्नु पर्दछ । (When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile.) त्यसै भनिएको होइन ।

हुनत पिर लिनेहरुका लागि एउटै कारण कोरोना काफी छ । चितवनकी ९२ वर्षीय आमाले कोरोना कहरलाई जितेपछि मृत्यु त्यति सजिलो छैन भन्ने प्रमाणित भएको छ । काल नआई मरिदैन त्यसै भनिएको होइन । हो साबधानी अपनाउनु पर्छ तर डराएर जीवन चल्दैन । दशै आउदै गर्दाको मादक मौषम जो कोहीलाई रमणीय छ ।

७७ वर्ष पुगेकी मेरी आमालाई ९ वर्ष टेक्दै गरेकी छोरीले सोध्छी, आमा किन आजकल पानी पर्दैन, किन आकाष निलो देखिन्छ, किन घामले पोल्दैन, किन चराहरु अरु बेला भन्दा अर्कै नाच्दै उड्छन, किन फूलहरु एकै चोटी फूल्न लागेका छन, …किन? …किन?… किन?… आमा भन्नुहुन्छ मलाई पनि केटाकेटीमा यस्तै लाग्थ्यो नानी यो सब दशै आउदै गरेको लक्षण हो । छोरी दशै आया, दशै आयो, अब विर्घा जान पाइन्छ । खेल्न पाइन्छ । मामाघर जान पाइन्छ । टिका लगाएर दक्षीणा पाइन्छ भनेर उफ्रिन्छी । उसको उत्साह दोब्बर थपिएको छ । आमाका जवाफले ।

उसका बाल सुलभ प्रश्नहरुले रंगीन आकारहरु ग्रहण गरेका छन । तर मैले आमाले छोरीलाई दिएको जवाफवाट जीवनको सानो रहस्य वुझ्दछु । श्रृष्टीमा यो सब हुन्छ । किनकी जीवन रंगीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *