ऐतिहासिक पीठ -आलमदेवी

DSC03487
आलमदेवी जाने वाटो !
स्याङजास्थित लसर्घाकी आलमदेवी शाह वंशजकी कुलदेवी हुन् । यी देवी स्याङजा जिल्ला आलमदेवी गा.वि.स. वार्ड नं. १ आलमदेवी डाँडोमा रहेकी छन् । आलमदेवीको क्षेत्रफल १५ रोपनी जमीन मन्दिरबाट पूर्व र पश्चिमतिर रहेको छ । यो मन्दिर बनाउन निर्माण सामग्रीका रूपमा काठ, ढुंगा, माटो, सिमेण्ट, सिंगमर्मर, फलाम र ईंटको प्रयोग भएको छ । यो मन्दिर वि.सं. १४७५ देखि १४९५ को अन्तरालमा निर्माण भइसकेको मानिन्छ । यो मन्दिर नागरामा अभिलेख वि.सं. १८४३ को रहेको छ ।
DSC03497
आलमदेवी वरपरका मगर वस्ती !
आलमदेवी शाह राजाहरूकी इष्टदेवी, कुलदेवी हुन् । भारद्वाज गोत्र भएका र गोत्र परिवर्तन गरी काश्यपगोत्र भएका शाह वंशीयकी कुलदेवी आलमदेवी ऐतिहासिक पीठ भएकी शक्तिपीठ मानिन्छ । राजा भूपति राणाजी रावद्वारा ती देवीको स्थापना भएको मानिएको छ । चितौडगढबाट पहाडतिर धर्मरक्षार्थ र प्रजापालन गर्ने उद्देश्यले लागेका र रिडीको बाटो कारीकोट हुँदै लसर्घा पुगेका खान राजाहरूले आफ्नी कुलदेवीलाई आफ्नै संरक्षणमा राखेका थिए ।
DSC03516
आलमदेवी वाट देखिएको विर्घाको मनोरम फाट !
आपूm लसर्घा आई बासवसेको समयमा राती सपना भयो र व्यूझेर हेर्दा आफ्नी कुलदेवीको आलन (झण्डा ध्वजापतका) त्यही लोप भएको पाउँदा ज्यादै अपसकुन ठाने । तर देवीले सपनामा दिएको चेष्टा स्मरण भएपछि आलन लोप भएको ठाउँमा पीठको स्थापना गरी आकाशमा छत (छाना) नराखी विधिपूर्वक पूजा आराधना गर्न थाले । त्यसरी पूजाको आरम्भ गर्ने व्यक्ति पनि राजा भूपति राणाजीराव नै थिए ।
भूपाल राणाजीरावपछि राजा जैनखान त्यसै ठाउँ वरपर नै बसे भने उनका छोरा सूर्यखानले लसर्घा छोडेर खिलुङदेखि पूर्वपट्टि पर्ने भीरकोटमा दरवार, कालीका मन्दिर, भैरवथान तथा किल्लावन्दी मजवुत गराउन लगाएका थिए । त्यसै समयबाट भीरकोट राज्यको स्पष्ट इतिहास प्रारम्भ भएको थाहा पाइएको छ । खाञ्चाखानका भाइ मीञ्चाखानले भने नुवाकोट (पल्लो) मा आफ्नो छुट्टै ठकुराईको गठन गरेको कुरा इतिहासबाट स्पष्ट हुन गएको छ । जेठाभाइ खाञ्चाखानका सन्तानहरू भीरकोटबाटै विस्तार भए ।
खाञ्चाखानका सन्ततिहरू भीरकोटबाट पृथक हुँदै गह्रौं र ढोर राज्यको स्थापना गरी राज्य गर्न थाले तापनि आलमदेवीलाई कुलदेवी मानी भाइहरूले साथै पूजा गर्ने परम्परा यथावतै रहेको थियो । त्यस्तै प्रकारले मिञ्चाका सन्तानले नुवाकोटबाट क्रमशः सतहुँ, कास्की, लमजुङ र गोरखा राज्यको जगेर्ना गरेका थिए । चितौढगढको राणाजी शाहवंश नेपालको पहाडमा प्रवेश गरेपछि खान (मालिक) भन्ने पद धारण गरेका थिए । त्यही खानवंश कास्कीमा पुगेर राजा जगतिखानले आपूmलाई कुलमण्डन शाह भनी नाम र थरमा आधुनिकीकरण गरेको कुरा थाहा पाइन्छ ।
आफ्ना पुर्खाको स्थापित संस्कृति र सभ्यताको प्रतीकका रूपमा रहेकी आलमदेवीको पूजा अर्चनामा पूर्व राजपरिवारबाट र भूपाल राणाजीरावका सन्तानले आस्थापूर्वक पूजा आराधना गरिआएका छन् । त्यस्ती कुलदेवी आलमदेवीलाई श्री ५ रणबहादुर शाहबाट मुलुकमा विजययात्रा सफल होस् भन्ने कामना गरी १५० मुरी गुठीखेत छुट्याई ताम्रपत्र अभिलेख उत्कीर्ण गर्न लगाएका थिए । पछि श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहदेवबाट पनि उक्त गुठीको थमौती गरी विधिवत् लालमोहर गरिएको पाइन्छ । सोही गुठीको आम्दानीबाट हुने खर्चले आलमदेवीमाइको नित्य, नैमित्यिक र पर्वपूजा चलाई आएको पाइन्छ । हालैमा आएर आलमदेवीको गुठी जमीन कालीगण्डकी ‘ए’ परियोजनाले अधिग्रहण गरेको कुरा पनि स्मरणीय छ । त्यस कार्यबाट अब उप्रान्त त्यहाँ पूजा सञ्चालनमा व्यवधान पर्ने संभावना देखिएको छ ।
आलमदेवीको आराधना र भक्तिको परिणामस्वरूप त्यही शाहवंशको नेतृत्वमा वर्तमान नेपालको एकीकरण संभव भएको थियो । एकीकरण कार्यको सफलता नेपालको शाहराजवंश र स्याङजा क्षेत्रका निवासी मात्र नभई नेपाल राज्यका समस्त निवासीको गौरवको वस्तु बनेको छ । आलमदेवीको कृपाकटाक्ष र सुदृष्टिबाट शाहवंशीय राजाहरूको नेतृत्वमा नेपालको एकीकरण संभव भएको थियो भन्ने जनविश्वास पाइन्छ । त्यसैले शाहवंशीय राजा र भूपाल राणाजीरावका सम्पूर्ण सन्तति तथा भक्तजनहरूले त्यस्ती वरदायिनी आलमदेवीलाई भाकलपूजा गर्ने गर्दछन् । वि.सं. २०५७ सालमा कुलदेवी श्री आलमदेवीको पूजा गरिएको थिएन । त्यसपछि भने देवीको वार्षिक पूजा चलि आएको छ । नेपाली राष्ट्रियताको उत्प्रेरक पीठ मानिने आलमदेवीको पूजा परम्परामा सुधार गर्नु पर्ने देखिन्छ । हाल त्यहाँको मूल समस्या खानेपानीको अभाव हुनु र पूजा गर्न जाने, दर्शनार्थीलाई बस्ने पाटी पौवाको कुनै बन्दोवस्त नहुनु नै रहेको कुरा स्थानीय बासिन्दाको अवधारणा पाइन्छ ।
देवीको ऐतिहासिक महŒवका विषयमा पनि केही चर्चा गर्नु सान्दर्भिक हुने छ । नेपालमा शाहवंशको जग बसालेको आलमदेवी लसर्घाले विगत इतिहासलाई प्रकाश पार्ने ठूलो आधारको रूपमा रहेको छ । शाहवंशको विषयमा जान्न चाहने जिज्ञासुले आलमदेवीका बारेमा पनि जान्नु पर्ने हुन्छ । नेपालमा उत्तरमध्यकालीन समयावधिमा चितौडगढको राजवंशले पहाड प्रवेश गरेदेखि नेपालका आठवटा राज्य स्थापना गरी पछि गोरखा राजघरानाकै नेतृत्वमा विशाल नेपालको एकीकरण हुनु र इष्ट इण्डिया कंपनीका अंग्रेजसँग युद्ध गरेर पनि आफ्नो राष्ट्रलाई बचाएर राख्नु शाहवंशको सानो योगदान मान्न सकिन्न । त्यस्तो शंकटकालमा मुलुकको निम्ति लडेर प्राणदिने नेपालीले साँच्चै वीर जातिको रूपमा मान्यता पाएको छ ।
वर्तमान नेपालको इतिहास अध्ययन गर्दा गोरखाका संस्थापक राजा द्रव्यशाहको राज्यकालबाट मात्रै धेरैजसो इतिहासकारहरूले चर्चा गरी त्यसभन्दा पहिलेको वर्णनमा मौन रहेका छन् । तर आलमदेवीको स्थापनाकालबाटै शाहवंशको राज्य मौलाउँदै, विस्तारित हुँदै, शाक्तिशाली बन्दै आएको र आठ टीका शाह राजाहरू पुरुषार्थी तथा विजिगिषु परम्परा रहेबाट गोरखा राजघरानाको नेतृत्वमा नेपालको एकीकरण संभव भएको हो । गण्डकी अञ्चलको स्याङजा जिल्लातिरको रिडीको पूर्वीतट लसर्घानामक स्थानमा नेपालका शाहराजाहरूका कुलदेवी रहनुले त्यस वंशले नेपालमा राज्यस्थापना गरेको प्रमाणित भएको छ । लसर्घाको डाँडामाथि प्रशिद्ध आलमदेवीको पुरानो मन्दिर रहेको छ । पहिले त्यो राजा जैनखानको दुर्गको रूपमा पनि उपयोग गरिएको तर्क पाइन्छ । युद्धका प्रत्येक दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने प्राचीन आर्य परम्परा भएकाले विजयध्वजालाई स्थानीय भाषामा आलन वा आलम भनिएका आधारबाट आलमदेवी नामकरण गरिएको तर्क पनि पाइन्छ । पछि त्यही आलमलाई देवीजोडी दुर्गा भवानी कालीकाको प्रतीकको रूपमा आलमदेवीलाई मान्यता दिएको देखिन्छ ।
स्याङजास्थित लसर्घाको डाँडामा विराजमान आलमदेवी खानशाहकी मात्र देवी नभई सम्पूर्ण देशविदेशमा छरिएर बसेका नेपालीहरूकी इष्टदेवी हुन् । लसर्घाकी आलमदेवी आठ टीका शाह (खान) हरूले विधिवत् कुलदेवीका रूपमा धुमधामले पूजागरी आएका छन् । आठै राज्यहरूमा आफ्नो राज्यस्थापना गरेपछि सम्बन्धित राज्यका राजा र राजपरिवारले आलमदेवीको प्रतीकमानी कालीकादेवीको मन्दिर निर्माण गरेको पाइन्छ । ती सबै देवीहरू उत्तिकै प्रख्यात छन् र तीमध्ये गोरखकालीको महिमा अन्तर्राष्ट्रिय तहसम्म पनि पुगेको पाइन्छ । आलमदेवीको नैमित्यिक तथा वार्षिकपूजा वैशाख शुक्लचतुर्दशीका दिनमा भइआएको पाइन्छ जसलाई नृसिंह चतुर्दशी पनि भन्ने गरिन्छ । त्यस तिथिको मध्यरातमा नृसिंह भगवानको वामपाश्र्वमा श्रीलक्ष्मीको प्रादुर्भाव हुने गर्छ । त्यो कुरा तान्त्रिक पद्धतिमा उल्लेख गरिएको र त्यहाँ आधिकारिक रूपमा मास्की रानामगरले पुजा गरिआएको पाउँछौं । पूजाकार्यमा ब्रतवन्ध (छेवर) गरेका तर विवाह नगरको, स्त्रीप्रशङ्ग सपना र विपनामा नगरेका कुमार केटालाई बनाउने प्रचलन छ ।
आलमदेवीमा जानका निम्ति पाल्पा रिडीको बाटो र स्याङजा मिर्मिको बाटो गरी दुइतिरबाट जान सकिन्छ । अर्कोबाटो सिद्धार्थ राजमार्गको गल्याङ भञ्ज्याङबाट आँधीखोलाको बायाँतर्पm लागी डाडैडाँडा बलाम भञ्ज्याङ, जैपते भञ्ज्याङ, जगत्रदेवी, विर्घा र वैघा भएर लसर्घा पुगिने पुरानो चलनको बाटो पनि छँदै छ । गल्याङ भञ्ज्याङबाट आलमदेवीसम्म ६ घण्टासम्म पैदल हिडी पुगिन्छ । लसर्घाको डाँडा आग्नेयबाट वायव्यतर्पm पैmलिएको र एउटै धुरीको आग्नेयको वैघा र लसर्घा भने वायव्पट्टि पर्दछ ।
प्रशिद्ध लसर्घास्थित डाँडामा स्थापित आलमदेवी मन्दिर भने पनि त्यहाँ तला र छाना भएको मन्दिरका सट्टामा एउटा पुरानो किल्ला आकारमा चौगिर्दा पर्खाल निर्माण गरिएको छ । मन्दिर भएका ठाउँमा चारैतिरबाट चारपाटे चौपाटी वा चौतारी आकारको पेटी बनाइएको र बीचमा खाली छोडिएको छ । उक्त पर्खालको चौकुनामा चागर्जा र पश्चिम र दक्षिणतिर गरी दुईवटा ढोका राखिएका छन् । त्यसै चौगीर्दा पर्खालभित्रमा मन्दिरभित्रको पटाहा (वरण्डा) सुरु हुन्छ । वरण्डाबाटै क्रमैसँग पेटीलाई उठाउँदै लगेर चौकुनामा बुर्जा राखिएको र चारैतिर चारवटा ढोका छन् । भित्रपट्टि अर्को पर्खाल लगाई त्यसभित्र बल्ल पूजाको चौको पारिएको छ । परम्परागत भनाई अनुसार सो पूजा गर्ने ठाउँमा सती अलपिएको भन्ने भनाई र भूपति राणजीरावले राखेको आलम नै अलप भएको लोक इतिहास सुन्न पाइन्छ । हाल त्यहाँ भीमसेनपाती (धुर्सेली) को रुख रहेको छ र ध्वजापताका त्यसै रुखमा चढाउने प्रचलन रहेको छ । भीमसेनपातीको फेदमा एउटा पुरानो खाँडो जागेको घण्ट रहेको छ । बाहिरी पर्खालभित्र पुरुषहरु र भित्री पर्खालभित्र मगरकुमार पूजारीमात्र जान पाउँछन् । मगरहरूको कुलपूजा पनि आलमदेवीमा गर्ने परम्परा छ । पूजागर्दा ठकुरीको जेठो र मगरको जेठोबाट आरम्भ हुन्छ । त्यहाँ मेढो (भेडो थुमे) बलि दिइन्छ भने बाहिर राँगाको अनि पर्खाल बाहिर सुँगुरको त्यसरी विधिपूर्वक वर्षेनी देवालीका साथै हजारौं भाकलपूजा हुने गरेको छ । खान शाह ठकुरी राजाहरुले आफ्नी कुलदेवी आलमदेवीको रुपमा पुजागरी आएकी र पछिका पिढीं पुस्ताहरुले पनि त्यस परंपरालाई कायम गरी आफ्नो कुलको निरन्तरता गरीरहुन भन्ने उद्देशयले स्थापना गरेको वुझिन्छ ।
चौबीसी राज्यकालमा आठ टीका शाह (खान) ठकुरीहरूको राज्यकालमा उक्त आलमदेवीस्थान कस्तो अवस्थामा रहेको थियो भन्ने यथार्थ चित्रण पाउन सकिएको छैन । भीरकोटे राजा चक्रवर्तिखानका छोरा नाति पर्ने वंशज तारकबहादुर शाह पाल्यागौंडाका वडाहाकिम छँदा आलमदेवीस्थानको मर्मत गरी पुरानोलाई नयाँ ढाँचामा ल्याइएको थियो । त्यसपूर्व पनि धेरै पटक आलमदेवीस्थानको उद्धार र निर्माण कार्य गरिएकाले पुरानो स्वरूप हराउँदै छ । श्री ५ वीरेन्द्रको राज्यकालमा पनि प्रशिद्ध आकृतिमा आलमदेवीस्थानलाई सिंगारिएको थियो । हालमा काठमाडौँ गुह्येश्वरीको आकृतिमा आलमदेवीस्थानलाई सिंगारिएको पाइन्छ । लसर्घास्थित श्री आलमदेवी स्थानबाट टुसाएको शाहखान राजवंशले नेपाल राष्ट्रको एकीकरण र धार्मिक समीकरण गरेको देखिन्छ ।